बोल्दैनन् मानिसहरू
तर मेरा कोठाका भित्ताहरू
आहा !!!!
कत्ति मज्जाले बात मार्छन्
अतीतको म झैं...
ती टेबल, कुर्सीहरू
ती अलमरी, सोफाहरू
मुसक्क मुस्कुराई दिन्छन्
अतीतको तिमी झैं…
तर त्यो ऐना
के भएको त्यो ऐनालाई
अहँ देख्दिन पहिले जस्तो
ऊ पनि अन्तर्मुखी हुँदैछ
विस्तारै,
म जस्तै
त्यसैले सायद असमञ्जसमा छ
सित्तैको मुस्कान बाँड्न पनि
कठै बरा !!!
बिचरोको त धड्कन पनि छैन
त्यसैले त मेरै प्रतिबिम्बको मुटु खोज्दैछ...
तर के थाहा बिचरालाई
त्यो छायाँ हैन
मोह माया हो भनेर…
मलाई पनि त लेख्नु थियो
मेरा मनका भावहरू
कलम मसीले आकृति बनाएर
कागजको खद्दरमा...
खै किन हो खाली नै रह्यो त्यो क्यानभास
सायद त्यो भन्दा राम्रो वर्णन गर्न सकिन
आफैंलाई
आजकल त आफ्नै छायाँ पनि भीड जस्तो लाग्छ
अनि
त्यसैले त ध्यान दिएर सुन्छु
एकान्तको चित्कार
किनकी
प्रेममा छु म
मान्छेसँग हैन
शून्यतासँग
कमसेकम
आफ्नो धड्कन त सुन्न पाउँछु !!!