दशैं नजिकिइरहेको छ। केही स्मृतिको झोक्काहरु मेरो मष्तिस्कमा यताउति गरिरहेका छन्। दशैंसँग जोडिएका अनगिन्ती स्मृति छन्। बाल्यवस्थाका एकथरि, हुर्किदै गर्दाका, किशोरावस्थाका, तन्नेरी अवस्थाका अर्कोथरी र वयष्क अवस्था झन् अनेकथरी। ती सब एक झमट आउँछन्, अनि निमेषभरमै गायव हुन्छन्। तर, कहिल्यै छाड्दैन अस्पतालको आंगनमा आमाको हातबाट लाएको दशैंको टीकाको सम्झनाले। आमाको ममता मुछिएको अन्तिम टीका थियो त्यो। दशैं सकिएको केही दिनमै आमाले संसार छाडिन्। आमाको देहान्तसँगै मेरो दशैंको रंग उड्यो। अहिले पनि फिक्काफिक्का लाग्छ।
मेरो आँखामा नाँचिरहन्छ, शिक्षण अस्पताल महाराजगञ्जको वार्डबाट आमा क्याथेटर र युरिनको पोको आफैंले समातेर हिँड्दै पार्कसम्म आएकी थिइन्। भाइ ईश्वरी र मलाई टिका लगाइदिएकी थिइन्। भित्रभित्रै गल्दै गइरहेकी आमाले आश्वस्त पारेकी थिइन्, ‘अव त हिड्न सक्ने भएँ । केही वर्ष अझै बाँच्छु।’ आमाको ‘बाँच्छु’ शब्दले अस्पतालकै आंगनमा भएपनि दशैं बडो रमाइलो लागेको थियो।
तर, बाँच्नुभएन। यसपल्ट दशैं आउँदै गर्दा आमा आइन् सम्झनामा। लेख्न तम्सिए आमाको कथा। पीडा लुकाएर हाँस्न जानेकी एक अजिबकी पात्रको कथा। आफू दुखेर अरुका लागि मल्हम बोक्ने साहसीको कथा।
०००
२००९ सालमा जन्मिएकी मेरी आमाको २०२४ सालमा आफ्नै भिनाजुसँग बिहे भएको थियो, तेस्री श्रीमतीको रुपमा। सम्भवतः आफ्ना मनपर्ने ज्वाइँकी कान्छी श्रीमती हुन्छे भनेर आफ्नी एउटी छोरी बितेपछि मावली हजुरबाले आमालाई अन्माएर पठाएका थिए। आफ्नी एउटी छोरीको मृत्युहुँदा ज्वाइँलाई परेको खतीको क्षतिपूर्तीका रुपमा पो आमालाई अन्माएका थिए कि ? तर, आमा कान्छी श्रीमती भइनन्। उनी त साइँली दरिइन्।
मेरी आमाकी दिदी अर्थात् मेरी ठूलीआमाको २०१० सालमा मेरा बासँग विवाह हुँदा ठूलीआमा दश वर्षकी र मेरी आमा एक वर्षकी मात्रै थिइन्। बा ससुराली जाँदा त्यो १४ वर्षको अन्तरालमा धेरैपटक आफ्नी सानै सालीलाई काखमा खेलाएका थिए। बोकेर यताउति गरेका थिए। मेरी आमा उहाँका भिनाजु (मेरा पिता)को काखमा खेलेरै हुर्किएकी हुन्। पछि दुर्भाग्यवस ठूलीआमाको मृत्यु भयो। आमाका भिनाजुले अर्को बिहे गरे। तर मेरा मावली हजुरबालाई चिन्ता परिरह्यो। आँगन पोलेर पुजेर, जल खाएर बनाएका ज्वाइँलाई आफ्नी छोरी मरेपछि परेको दुख घटाउन र टुट्न लागेको सम्बन्ध जोगाउन अर्की छोरी दिने निधो गरे।
मेरो पिता पढेलेखेको मान्छे। खानदानी परिवारको छोरो। मेरा मावली हजुरबाले त्यस्तो मान्छे गुमाउन चाहेनन्। पहिला दश वर्षकी जेठी छोरी सुम्पेका उनले अहीले फेरी उही ज्वाइँलाई बोलाएर चौध वर्षकी अर्की छोरी अन्माएर पठाए। मेरी आमा आफ्नो बा जत्रै लाग्ने भिनाजुकी श्रीमती र ज्वानखोले खानदानकी बुहारी भइन्।
घर कडा थियो। सासु राइकट थिइन्। सौता माथिको बुहार्तन सजिलो थिएन। चौध वर्षको केटाकेटी उमेर त्यसमाथि अट्ठाइइस/तीस वर्षको बाघ जस्तो लोग्ने। डरमर्नु तरिकाले घर थेगेकी मेरी आमाको लागी पर्वहरु पनि डराई–डराई आउँथे। रमाईलो र खुशीहरु पनि लुकी–लुकी आउँथे र कहालिएर फर्किन्थे। एक किसिमको सास्ति नै थियो त्यो बुहार्तन। भाँडाकुटी र पुतली विहे खेल्ने उमेरमा मेरी आमा कडा घरकी बुहारी भएकी थिइन्। धेरै रात रोएरै गुजार्नुपरेको उहाँले सुनाउनुभएको विगत मलाई चलचित्रको कथा जस्तो लाग्थ्यो। मेरो कपालमा औंला खेलाउदै मलाई सुताउँदा उनले धेरै कथा सुनाइन्। छोराले बुझोस् भनेर होइन, मनको बह पोख्न ठाउँ नपाएर सुनाएकी हुन्।
चौबिस सालमा चौध वर्षकी केटी बिहे गरेका मेरा बालाई सन्तानको अत्यन्तै रहर थियो। उनी तीस वर्षका थिए तर सन्तान जन्मेका थिएनन्। कुल धान्नु थियो। वंश जोगाउनु थियो। यस्ता ठूला जिम्मेवारीले थिचिएका मेरा बाले तीन वर्ष पर्खे। सन्तान जन्मने कुनै लक्षण नदेखेपछि मेरी आमा सत्र वर्षकी मात्रै हुँदा सत्ताइस सालमा अर्को विहे गरे।
सत्रवर्षको उमेर भइसक्दा र विहे गरेको तीन–तीन वर्ष हुँदापनि लोग्नेलाई सन्तान सुख दिन नसकेकी मेरी आमा अझै केही वर्ष पर्खन चाहन्थिन् तर मेरा बा फुपुहरु र ज्योतीषको दवावमा आए। उनले पर्खन मानेनन्। एकदिन सुटुक्क दौरासुरवाल लगाएर निस्केका बाले दुई दिनपछि पन्चेबाजा बजाउँदै जन्ती सहित नयाँ दुलही लिएर आँगनमा देखापरे। मेरी आमा वेहोस भइन्। रोइन् कराइन्। ठुल्बाहरुले हप्काए। धेरै बिरोध गरे घरबाट लखेट्ने धम्की दिए। ठुलीआमैहरुले ‘तेरो पुर्पुरै यस्तै रैछ’ भनेर सम्झाए। आमाले आफ्नै कर्मको दोष हो भन्ने ठानेर चित्त बुझाइन्।
कान्छी आमाको आगमनसँगै घरमा दिदीहरु जन्मिए। ठूलो दाजी जन्मनुभयो। हाम्रो घर स्वर्ग जस्तै सुखैसुखले भरिपूर्ण हुँदै गयो, जुन यद्यपी कायम छ। सन्तान जन्माउन मेरा बाले के गरेनन्। आँपको रुखसँग समेत विवाह गरेका छन्। म लगायत हामी सबै सन्तानलाई जन्म दिनको लागि उनले गरेको संघर्ष सम्झदा बाप्रति सम्मानभाव जागेर आउँछ।
०००
समय बित्दै गयो। आमा प्राय रोईरहन्थिन्। किन रुन्थिन् मेरीआमा त्यति धेरै? त्यो बुझ्ने उमेर हुनै लागेको थियो। अचानक आमा बिमारी भइन्, उठ्नै नसक्ने गरी। बेथा लुकाउने अचम्मको बानी थियो आमाको। किन त्यसरी आफ्नो विमार लुकाउँथिन् ? मैले कहिल्यै बुझीन या बुझ्नै सकिनँ। जति सकस भएपनि कहिल्यै ‘बिमारी छु’ भनिनन्।
त्यो दिन अचानक आयो र आमा थला परिन्। ज्वरो आउने, घुँडा दुख्ने, सास फेर्न गाह्रो हुने र वाकवाकी लागीरहने हुँदाहुँदै मेरी आमा ओच्छ्यान परेकी थिइन्। धामीझाँक्री देखाउने, गुरुङ डाक्टरका ट्याबलेट र पिपलटारे डाक्टर्नीका आयुर्वेदिक झोल दवाइको भर पर्न छाडिसकेकी थिइन् आमा। उनीहरुले ‘गेष्टी’ हो भनेर धेरै पैसा असुलीसकेका थिए। आमालाई सेक विसेक लागेको थिएन।
आमा उठ्नेबस्ने गर्नै नसक्ने भएपछि मैले हिम्मत गरेर बासँग भनेँ, ‘बा आमालाई अस्पताल लैजाम न।’ बा ले पुलुक्क मलाई हेरे। वरीपरी कोही छ कि भनेर नजर दौडाए। अनि सुस्तरी भने, ‘अव पिंढी कुर्ने दिन आएका हुन अस्पताल लगेर फाइदा छैन। खर्च ठुलो आउँछ।’
म असमज्जमा परें। आमालाई ठूलो डाक्टरलाई देखाउन पाए निको हुन्थिन् कि भन्ने मेरो आशामा तुषारापात हुँदै थियो। मेरा बा उपचारको मामलामा निकै अनुभवी मान्छे हुन्। उनका दुबै मिर्गौलाको अपरेसन गरेर पत्थर निकालेको हो। बाको अपरेसनताका आमाले रातदिन भगवानको पूजा गरेर व्रत वसेर उनलाई निको होस् भनेर कामना गरेको धेरै समय भएको थिएन। बा निको भएर फर्केका पनि हुन काठमाडौंबाट तर मेरी आमा बिमारी हुँदा बाले किन यति साह्रै उपेक्षा गरेका ? विहान उठेर आमालाई लिएर म अस्पताल हिँडे काठमाडौं। दिदी उतै थिई।
आमालाई डाक्टरले जाँचे, दुबै मिर्गौला विग्रेको भने र उपचार सुरु गरे। आमालाई उपचार गर्ने पैसाको निकै समस्या पर्यो। म भन्दा सानो भाई ईश्वरीले सात हजार जोगाएर राखेको रहेछ। त्यो पनि मासियो। दिदीसँग र मसँग भएका वीसतीस हजार रुपैयाँ समेत कुनै छेउ नलागी दुई हप्तामै सकिए। त्यसपछी बाले पटक–पटक गरी पन्ध्र हजार पठाउनुभएको थियो। त्यो पैसाले कुनै छेउ लागेन। अपरेशन गरेको साठीऔं दिनसम्म आमालाई सन्ताउन्न पोका रगत दिनुपरेको थियो। उपचार गर्दा म ऋणमा चुर्लुम्मै डुबिसकेको थिएँ। आमा पीर गरिरहन्थिन्। आफू बिमारी हुनाले बालख छोरो ऋणमा डुब्दा कुनचाहिं आमा पो दुखि नहोलिन् र। अभावै अभावमा उपचार गराउँदा पनि मेरो ऋणको ग्राफ डेढ लाखबाट उकालो लागिसकेको थियो। शिक्षण अस्पतालले डिस्चार्ज गर्न पनि सकेन, निको बनाउन पनि सकेन। एकजना दयालु नर्सको अनुकम्पाले मेरी आमालाई फ्री बेडमा सारेर उपचार गर्न सहयोग पुग्यो, त्यसपछि भने पहिला जस्तो ठूलो खर्च आएन।
अपरेशन पछि दुई महिना अस्पताल बसेपछि एकदिन डाक्टरले बोलाएर मलाई सोधे, ‘तिम्रा बा खोई ?’ मैले ‘घरैछन’ भन्ने जवाफ दिएपछि सके आजैको दिनभित्रै बालाई बोलाउ भने। आमा आईसियुमा थिइन्। मैले अनिष्ट हुने शंका गरें। बालाई फोन गरें। भोलीपल्टको बस चढेर बा आइपुगे। झोलामा केही तुलसीका पत्ता र जौतील ल्याएका रहेछन्। मैले बा आइपुगेको डाक्टरलाई सुनाएँ। उनिहरुले भेन्टिलेटर निकाल्ने निर्णय गरे। म स्तब्ध भएर उनीहरुको कुरा सुनिरहें।
निलो गाउन लगाएर बा आमाको टाउको नजिकै उभिएका थिए। म गोडा पट्टीबाट आमाको मुखमा लगाइएको पाईप हेर्दै थिएँ। अटोमेटिक मेसीनले आमालाई सास फेराइरहेको थियो। एकछिनमा नर्स आइन्। ईसीजी मेसिनमा के–के चलाइन्। तियहाँ देखिएका रातानिला बांगा धर्सा सोझा हुँदै गए। एउटा लामो आवाज निकालेर मेसिनले टुइइय गर्यो। नर्सले त्यो मेिसन बन्द गरिन् र आमाको मुखबाट पाइप निकालिन्। छातीमा टाँसेका बाटुला टेप हटाइन्। बा ले बरर गीता पाठ गर्न थाले। आमाको मुखमा तुलसी पात र जौतील राखिदिए। आमाले घिक्क गरिन्। बा ले तप्प आँशु चुहाए। म किंकर्तब्यविमुढ मुढो झैं त्यहाँ ठडिइरहें।
यसरी आमाको जीवन समाप्त भयो र म टुहुरो भएँ। रात परिसकेको थियो। आइसियुबाट निकालेर आमालाई अन्तै कतै लगियो। मैले त्यता हेर्न पाइन। भोलीपल्ट अन्त्येष्टीको लागि लास निकाल्ने बेलामा मात्र मैले पाएँ। मेरा बाको संगत ठूला मान्छेहरुसँग रहेछ। पूर्व मन्त्री दिनवन्धु अर्याल, बहालवाला मन्त्री गोपालमान श्रेष्ठ, सांसद शंकर पाण्डे र युवा नेता कमल पंगेनीहरु बालाई परेको दुःखमा दुःख मिसाउन अस्पताल आइपुगेका थिए। ठूला मान्छेकी श्रीमती बितेकोमा आर्यघाटमा समेत ठूलै मान्छेहरु मलामीको रुपमा उपस्थित थिए। बालाई आमाको मृत्युले कुनै अशर पर्यो कि अथवा परेन त्यो म बुझ्दिन। किनकि बाका अरु दुई श्रीमती बाँकी थिए। तैपनि आफ्नै श्रीमती मर्दा केही पिडा त भयो होला त्यसैले त हिजो दुईथोपा आँशु चुहाएका थिए। मेरो भने संसार लुटीएको थियो। दैबको लाठी मैमाथि बज्रेको थियो। निरीह भएको थिएँ। यो सब म आफैमाथि परेको बज्रपात हो भनेर विस्वास गर्नै सकीरहेको थिइनँ।
आमा धुवाँमा बिलिन भइरहँदा मैले केही डाक्टरले पनि ‘निको हुन्छ अव धेरैदिन अस्पताल बस्न पर्दैन’ भन्ने आश्वासन सम्झिएँ। आमाले क्याथेटर र युरिनको पोको समातेरै टिचिङ अस्पतालको पार्कसम्म झरेको सम्झिएँ। बिमार लुकाएर हंसमुख हुँदै भाई ईश्वरी र मलाई टिका लगाइदिएको सम्झिएँ।
केही दिनअघि फुलपातीको दिन आमालाई अस्पतालको बेडमा छोडेर दिदी घर फर्कीएकी थिई। उसको जागीर थियो स्कुल पढाउँथी। आमासँगै बसिरहन उसलाई जागीरले दिएन तर मनमा आमा निको भएर फर्कने सपना बोकेर ऊ घर गएकी थिई।
आमाको अन्त्यष्टी सकियो। वालिङ जाने गाडी थानकोटबाट ओरालो लाग्दा म झल्याँस्स भएँ। मेरो सिटको आडैमा भाई बसेको थियो। यही उकालो गाडीमा चढ्दै गर्दा आमालाई निको बनाएर तन्दुरुष्त बनाएर फर्कने रहरका साथ काकाठमाडौं छिरेको म आमाको अस्तु आर्यघाटमा सेलाएर एक्लै फर्कदै थिएँ। अनायासै मेरा आँशु बगे। म झ्यालपट्टी फर्किएँ। भाईले मेरो पिठ्युँमा सुस्तरी मुसार्यो। अव घर गएर दिदीलाई के भनुँ ? अर्को पिरलोले ग्रसित थिएँ म।
दिदी आमासँग निकै नजिक थिई। मैले बरु केही समय घर बाहिर आमाबाट टाढा भएर बिताइसकेको थिएँ। छोरो थिएँ, सायद अलि कठोर पनि पो थिएँ कि। तर दिदी विहेपछि पनि आमासँगै थिई। उसले पढाउने स्कुल नजिकै थियो,प त्यसैले ऊ आमासँगै बस्थी। दशैं विदा थियो। त्यसैले आफ्नो घर गएकी थिई। काठमाडौंबाट मेरा भिनाजु पनि मसँगै फर्किएका थिए। उनी घर पुगेर सोझै दिदीलाई हामी काठमाडौंबाट फर्केको खवर मात्र सुनाएछन्।
एक हप्ताअघि निको हुँदै गरेकी आमाको उतै मृत्यु भयो र भाई एक्लै फकियो भन्ने मेरी दिदीले सोच्दै सोचिन । उ, हुर्रिएर निको भएकी आमा भेट्न आइपुगी।
दिदी आइपुग्दा साँझ परिसकेको थियो। पिंढीलाई गुन्द्रीले बारेर मलाई राख्ने ‘कुनों’ तयार पारिकसकेका थिए। मेरो कपाल खौरिएर म मुडुलो भइसकेको थिएँ। दिदी घरमुनी आइपुगेको सम्चार आयो। ऊ खुशी हँुदै हान्निएर आएकी थिई।
‘यहाँ आएपछी भाईलाई झम्टिन्छे सितेले। यसलाई कुनातिर लुकाओ। छुन दिन हुँदैन,’ पण्डित बाले हो कि थुम्केली बाले हो मलाई लुकाउने उर्दी जारी गरे । साहु रामेले कुनाको गुन्द्रो पन्छाएर मलाई भित्र छिर्न ईशारा गर्यो। म लुकें। दिदी आँगनमा प्रवेश गरी र ‘आमा’ भनेर बोलाई। मेरा आँखाबाट बलिन्द्र धारा आँशु बगे तर म चिच्याएर रुन सकिनन्।
‘आमा खोई ?’ दिदीले कसैसँग सोधी। उसले सोध्नेबित्तिकै सबैजना एकैपटक कोकोहोलो मच्चाएर रुन थाले। मैले कुनाको चेपबाट हेरेँ। दिदी उत्तानो परेर छटपटाउन थाली। ‘आमा हो’ भनेर कहालिई। आमा वितेको मलाई किन सुनाएनौ भनेर दोष लगाई। म नआउँदै भाईलाई किन थुन्यौ भनेर चिच्याई। एकपटक बाहिर बोलाईदेउ ‘भाईलाई हेर्छु’ भनेर विलौना गरिरही। उसले झम्टेर छोइदिन्छे र सुरुदेखिकै रित पूरा गर्नपर्छ भनेर मलाई दिदीको अगाडी जान दिइएन। यसरी परम्परा र चलनबाट च्यापिएर आमाको मृत्युमा एकअर्काले मुखामुख गरेर रुन समेत पाइएन। हामी एक्लाएक्लै रोइरह्यौं धेरैबेरसम्म।
०००
यसरी खोसिएको मेरो अभिभावकत्व, खुशी र उमंग सम्झाउँछ दशैंले। लाग्छ– भुल्ने खोजेको मार्तवियोग सम्झाउन मात्रै आउँछ मेरा लागि दशैं। ओभाउन थालेका आँखामा आँशुको मुल फुटाउन आउँछ दशैं।