नीतासँगको परिचय त्यति पुरानो थिएन। र पनि हामी छोटो समयमै धेरै नजिकियौँ। उसको सौम्य व्यवहार, हँसिलोपना र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा आमासँग उसको बढी कुरा मिल्थ्यो। उहाँ पनि नीतालाई निकै मन पराउनसहुन्थ्यो।
नीताले मलाई घरमा खान डाकिरहेकी थिई। आफ्नै व्यस्तताले गर्दा उसको अनुरोध स्वीकार्न सकिरहेकी थिइनँ।
“भोलि त जसरी भए पनि आउनुपर्छ।” नीताले हिजो साँझै फोन गरेर भनेकी थिई।
बिहान पनि फोन गरेर सम्झाई।
“हुन्छ, आउँछ’, प्रोमिस !” मैले बाचा गर्दा पनि उसलाई विश्वास लागिरहेको थिएन।
“अस्ति जस्तै होशप्रसाद बनेर भुल्ने चैँ हैन है ?” ऊ ठूस्स परी।
त्यस्तै एउटा काम परेर उसले बोलाएका बेला जान नसकेको टोकसो उसले फेरि गरी। सबै काम बाँकी राखेर पनि म उसकहाँ जान तयार भएँ।
बाहिर निस्कँदै गर्दा आमाले सम्झाउनुभयो, “अनिलका लागि आज नीतासँग कुरा गर्न नबिर्सनू है ?”
अनिल, मेरो भाइ। सानैदेखिको टुहुरो। आमाले आफ्नै सन्तान जस्तै गरी पाल्दै आउनुभएको थियो। उसले पढाइ सकाएर बैङ्कमा काम गर्न थालिसकेकाले पनि होला, आमा अब उसको घरजम होस् भन्ने चाहनुहुन्थ्यो। सङ्कोची र कम बोल्ने बानी भएको भाइका लागि सुसंस्कृत बुहारी भित्रिऊन् भन्ने मेरो पनि चाहना थियो।
अघि निस्कँदा पानी परिहाल्लाजस्तो लागेको थिएन। काला बादलका केही टुक्रा उडिरहेका भएपनि अहिले नै यति गजबसँग पानी दर्किएला भन्ने कल्पनै गरेको थिइनँ। आधा बाटो छिचोल्दा नछिचोल्दै ठुल्ठूला थोपाहरू झर्न थाले। मुसलधारे पानी पर्न थालेपछि सडकछेउको रेष्टुराँअघि ओत लाग्न बाध्य भएँ।
एक्कासि परेको पानीले तातिएको सडकबाट बाफ उड्न थाल्यो। बाटोको दुवै किनारमा खोला बग्न थाले।
नीताले फेरि फोन गरी, “कहाँ पुग्यौ रू मलाई त भोक लागिसक्यो।”
“आउँदै छु, पानी परेकोले ओत लागेकी छु,” मैले बताएँ।
“हो र ? खै यता परेको छैन। कतै बहानाबाजी त हैन तिम्रो?” उसले शङ्का गरी।
“कस्तो नपत्याएकी, ल सुन पानी परेको।” मैले मोबाइललाई सडकतिर झ’काएँ, ताकि उसले झरीको आवाज स्पष्ट सुन्न सकोस्।
“ल ल, छिटै आऊ।” उसले मोबाइल राखी।
झरी कम हुने छाँट देखिएन। पानी उल्टै बेस्सरी दर्किन थाल्यो। छड्के परेको पानीले मेरो कुर्था आधै भिजायो। केही सीप नलागेर हातले पानी छेक्दै सँगैको रेष्टुराँभित्र छिरेँ। ग्राहकहरू आउने बेला भइसकेको थिएन क्यार, अधिकांश टेबुलहरू खाली थिए। एउटा टेबुलमा दुईजनाको गहिरो बहस चलिरहेको देखिन्थ्यो। वेटरहरू, ठूलोसिसाको झ्यालअघिल्तिर उभिई सडकको रमिता हेर्दै हाँसिरहेका थिए।
म भित्र पस्नेबित्तिकै एउटाले फर्केर हेर्यो, अनि उसले अर्कोलाई कानेखुसी गर्यो। भिजेको लुगामाथि दुवैको दृष्टि पर्यो। मलाई अप्ठ्यारो लाग्यो। छातालाई ढोकैनिरको बाल्टिनमा ठड्याएर मैले अलि भित्रपट्टिको टेबुल रोजेँ।
अचानक मोबाइलमा रिङ्टोन बज्यो। नम्बर परिचित थिएन।
“हेलो।” फोन उठाएँ।
कुनै परूष सोधिरहेको थियो, “को बोल्नुभएको ?”
झोँक पनि उठ्यो। मेरो मोबाइलमा फोन गरेर, मैसित प्रश्न रू हाँसो दबाएँ।
“म बोलेको।” उसलाई उल्लु बनाउने दाउमा थिएँ।
ऊ अलि अल्मलियो, “काँ पर्यो यो ?”
अघिदेखि दबाइराखेको हाँसो फुत्कियो। खित्का छाडी हाँसेको आवाज सुनेर उसले भुत्भुताउँदै मोबाइल डिस्कनेक्ट गर्यो। रेष्टुराँमा सबै मलाई ट्वाल्ल हेर्न थाले। साह्रै लाज लाग्यो।
“भाइ !” सहज बन्न मैले मेनु लिएर उभिएको वेटरलाई अर्डर गरेँ, “एउटा ब्ल्याक कफी।”
लुगा भिजेर मलाई सिकसिक लागिरहेको थियो। अर्को विकल्प पनि थिएन।
झरी कम भए पनि रोकिएको भने थिएन। पेटीमा उभिएका मान्छेहरू हतारहतार निस्केर लम्कन थाले। एकैछिनअघिको सुनसान सडक थ’प्रै रङ्गीन छाताहरूले भरिए।सडकमा हेडलाइट बालेर गाडीहरू कुदिरहेका थिए। लपक्कै भिजेर पानीको भेलमा खेल्दै गरेका सडकबालकहरू देख्दा मलाई पनि केटाकेटीमा वर्षेभेलमा खेलेको सम्झना आयो।
मेरो कफी आइपुग्यो। तातो र मुस्लो बाफ छाड्दै गरेको कपबाट मीठो बास्ना आइरहेको थियो। बिहान एक कप चियाबाहेक केही खाएकी थिइनँ। बास्नाले भोक अरू भड्कायो। आधाघण्टासम्ममा त पानी पक्कै रहला, मैले भोको पेटलाई आश्वस्त पारेँ। योभन्दाअघि विनाचिनीको ब्ल्याक कफी खाएकी थिइनँ। सोचँ, ट्राइ गर्दा के बिग्रिएला? सानो चुस्की लिएँ। न निल्नु न ओकल्नु भयो। विनासित्ति मुखको स्वादै बिग्रियो। चिनी थप्दा पनि कफीको तीतोपना घट्न सकेन।
“भाइ !” मैले अघि अर्डर दिएको वेटरलाई फेरि बोलाएँ, “दूध थप्नुपर्यो, खानै सकिएन।”
उसले अनौठो पाराले मलाई हेर्यो, मानौँ म कुनै सन्की हुँ।
उसको नजरबाट पिछा छुटाउन मैले टेबुलमाथिको मेनुमाथि आँखा गाडेँ।
ऊ केही बोलेन। कप लिएर किचेनतिर लाग्यो।
नीताको घर नजिकै भएको भए झरीको परवाह गर्दिनथेँ। उसको घरसम्म पुगिसक्दा अहिले परिरहेको पानीले पनि निथ्रुक्कै भिजाउँथ्यो। नजिकै कुनै ट्याक्सी पनि देखिएका थिएनन्।
मिल्क कफी कुर्दै निरूद्देश्य ढोकातिर हेर्दै थिएँ। बाहिर चल्न थालेको हावाले गर्दा ढोकाबाहिर दुईतिर राखिएका गमलाका बोट लुगलुगी काम्न थाले। त्यही बेला बीसबाईसका झैँ देखिने केटा र केटी रेष्टुराँभित्र पसे। उनीहरू कलेज युनिफर्ममै थिए। केटाले कमिज–पाइन्ट लगाएको थियो। केटीले छोटो स्कर्ट लगाएकी थिई। कपाल पनि टेल बाँधेकी थिई।
“कस्तो चिसो। काँ बस्ने ?” केटीले सि–सि गर्दै चारैतिर आँखा घुमाई। म बाहिर हेरेझैँ गरिरहेकी थिएँ, मानौँ उनीहरूतिर मेरो ध्यानै छैन। केटी जाडोले आफ्ना दुई हत्केला रगडिरहेकी थिई।
“ऊ... त्यो कुनामा बसौँ, जाडो हुँदैन।” केटोले मेरो देब्रेतिरको भित्ताको आड भएको कुनाको सीट रोज्यो।
उनीहरू बसेपछि वेटर अर्डर लिनको लागि उनीहरूसामू उभियो। तर अर्डर लिनुभन्दा बढी ऊ भिजेकी केटीलाई हेरिरहेको थियो। केटी आफ्नो झोला खोतलिरहेकी थिई।
“दुइटा चिया।” वेटरतिर नहेरी केटाले अर्डर गर्यो।
“मिल्क टि ?” वेटरका आँखा अझै पनि केटीको अनुहारमै टाँसिएका थिए।
“अँ।” केटाले टाउको हल्लायो।
उसको कानमा खुसुक्क साउती गर्दै केटी रेष्टरूमतिर लागी। त्यहाँबाट बाहिर निस्कँदा उसलाई चिन्नै सकिनँ। अघिभन्दा पुरै फरक देखिएकी थिई। बाँधिएको कपाललाई फुकाएर फुक्का छाडेकी थिई। लुगाको नाममा छातिमाथि स्कार्फजस्तो झुन्डिएको थियो। कम्मरमुनि ट्राउजर लगाएकी थिई। काँधमाथि नीलो फूलबुट्टे सल ओढेकी थिई।
“वाउ, क्या हट देखिएकी छौ।” केटाले प्रशंसा गर्यो।
ऊ मख्ख परी। केटा पनि रेष्टरूमतिर लाग्यो। केटीको तुलनामा ऊ चाँडै फक्र्यो। उसले पनि हुलिया पुरै फेरेको थियो। युनिफर्मको ठाउँमा टिशर्ट र जिन्स लगाएको केटो पहिलेभन्दा निकै स्मार्ट देखियो। यिनीहरूले के कस्तो चर्तिकला गर्ने हुन्, शङ्का र उत्सुकता लाग्यो। रेष्टरूमबाट फर्केपछि उनीहरू आमुन्नेसामुन्ने नबसी सँगै बसे। मेरो उपस्थितिमा शायद सङ्कोच मान्लान् भन्ने सोचेकी थिएँ, उल्टै उनीहरूको गतिविधिले मलाई अप्ठ्यारो पार्यो।
केटाले बिस्तारै आफ्नो हात केटीको काँधमाथि राख्यो। उसले पनि आफ्नो काँधमाथि झुन्डिएको साथीको हात बिस्तारै मुसारी र ऊतिर झुकी। उनीहरूको टाउको जोडियो।
“त्यै लगाएकी हौ ?” केटाको मसिनो आवाज सुनियो, “खै, देखाऊ त हेरूँ।”
उसले हेर्यो, हेरेन वा के हेर्यो, कहाँ हेर्यो, अनुमान गर्दैमा शरम लाग्यो। उनीहरूको कुराकानी र छेउबाट उठिरहेका सरसराहटले मेरो शरीर लाटोजस्तै भयो। वेटरले लगेको कफी अझै ल्याइसकेको थिएन। त्यहाँबाट उठेर न अर्को टेबुलमा जान सकेँ, न त वेटरलाई बोलाएर अर्डर क्यान्सिल गर्न नै सकेँ।
एकछिनमा उनीहरूको टेबुलमा चिया र मेरो मिल्ककफी सँगसँगै आइपुग्यो। कफी ढिला ल्याएकोमा रिस त उठेको थियो, तर केही भनिनँ। हल्का चुस्की लिँदै पानी कम हुनेबित्तिकै भाग्ने प्रतीक्षा गर्न थालेँ।
“ढिला हुन्छ भनेर घरमा फोन गर्यौ त ?” केटाले चियाको पहिलो चुस्की लिँदै प्रश्न गर्यो।
“अहँ, छैन, अब गर्छु,” केटीले मोबाइल निकाली, “मामु, आज कलेजबाट आउन अलि ढिला हुन्छ, थोरै काम छ।”
उताबाट कुनै प्रतिक्रिया नपर्खीकनै उसले फोन बन्द गरी।
“सो क्यूट !” केटाले आफ्नो मुख चुच्चो बनाउँदै केटीतिर लग्यो।
झरी अविरल परिरहेकै थियो। झ्यालतिर दृष्टि घुमाएँ। वेटरका आँखा त्यही जोडीतिरै थिए। फ्रिमा मनोरन्जन लिने मौका ऊ किन गुमाउँथ्यो र ? चिया खाँदै गरेका दुई भलाद्मी भने कति बेला हिँडिसकेका थिए, ख्यालै भएन।
फुरूरू... चुरोटको धुँवा उड्यो। केटा आफूले तानेको चुरोट आफ्नी साथीलाई थमाउँदै थियो। उनीहरूको बैँस र आधुनिकता देखेर साह्रै टिठ लाग्यो। केटीले एक सर्को तानेर ख्वाक्क खोकी।
“पहिलोचोटि यस्तै हुन्छ।” केटाले उसलाई हौस्यायो।
दुई तीनपटक खोक्दै केटीले अरू दुई तीन सर्को लगाई।
मैले अगाडि उभिइरहेको वेटरलाई बोलाएर सोधेँ, “के हो, भित्र चुरोट पिउन पाइन्छ ?”
“खै, के गर्नु’ हजुर, पढेलेखेकाले त बुझ्नुपर्ने हो नि !” उसले स्वर दबाउँदै स्पष्टीकरण दियो।
कफी सिध्याउन पनि सकिनँ। उठ्दाउठ्दै नीतालाई फोन गरेँ “अब केही मिनेटमा आइपुग्छु।”
म काउन्टरमा पैसा तिर्न उभिँदा उनीहरू पनि एकअर्काको हात समाएर उभिइरहेका थिए। ओठ निचोरे दूध निस्कँदो हो। आमाबुबाले पढ्न पठाएका सन्ततिहरूको अवस्था देखेर मनमा एक प्रकारको पीडा भयो। दुवैलाई देखेर हुनसम्मकै बिस्मात् लाग्यो।
एक्कासि परेको झरीको चिसोले भेट्टाइहाल्यो। दुईतीनपटक हाछ्युँ गरेँ। केटीले पुलुक्क मतिर हेरी।
झोलाबाट देखिँदै गरेको नीलो शर्टको बाहुलालाई भित्रसम्म कोच्दै आफ्नो साथीलाई साउतीमा प्रश्न गरी, “कतिबेर लाग्छ, ढिला त हुन्न?”
“हुँदैन, छिट्टै फर्कने हो।” केटाले जवाफ दिँदै काउन्टरमा पैसा बुझायो।
बाह्र बजिसकेको थियो। मैले ट्याक्सी समातेँ।
नीताकहाँ पुग्दा उसले खाना पस्किन ठीक गरिसकेकी थिई।
“कस्तो बेटाइममा पानी परेर हेर न।” मैले आफू ढिला हुनुको स्पष्टीकरण दिएँ।
“भो भो, मैले गुनासो गरेकी छैन। रूमाल त्यहाँ छ, राम्ररी पुछ।” मेरो भिजेको लुगा हेर्दै उसले भनी।
“खै त तिम्री बहिनी, आउँदिन? आज चिनाइदिन्छु भनेकी हैनौ?” मैले कुर्सीमा बस्दै सोधेँ।
“हो, आउँदैछे।” छोटो जवाफ दिई।
खाना पस्की। उसका छोराछोरीले खाइसकेका थिए। हामीले पनि खायौँ र बैठक कोठामा आयौँ। उसले टिभी खोली। केही बेर टिभी हेरेपछि उसले बन्द गरी।
“आ..., गफिन छाडेर कहाँ टिभी हेरी बस्ने हामी ! आमालाई कस्तो छ ?” मलाई सोधी।
“ठीकै छ, तिमी।..” मेरो वाक्यलाई रोक्दै नीताले भर्याङतिर कान थापी।
“पर्ख है, नम्रता आईजस्तो छ,” उसले ढोकातिर मुन्टो फर्काउँदै ठूलो स्वरमा भनी, “नम्रता, कोठैमा आइज है?”
नीता आफ्नी बहिनीको निकै कुरा गर्थी। त्यही भएर पनि म नम्रतासँग भेट्न इच्छुक थिएँ। अनिलका लागि नम्रताको जोडी निकै उपयुक्त हुन सक्थ्यो। भर्याङबाट वर आउँदै गरेका पदचाप ढोकानिर आएर रोकिए। आँखामा उत्सुकताका खात बोकेर ढोकातिर हेरेँ। बैँसको खुड्किलो टेक्दै गरेकी केटी ढोकामा उभिएकी थिई। कुर्तासुरूवाल लगाएकी त्यस युवतीको अनुहारमा भन्दा पहिला उसले पट्याएर हातमा बोकेको नीलो फूलबुट्टे सलमा मेरा आँखा परे।
“नम्रता, ऊ मेरी साथी अर्चना।” नीताले मतिर देखाउँदै परिचय गराई।
नम्रतासँग आँखा जुधे। नमस्तेमा उठेका उसका हातहरू हठात् झरे। स्तब्ध भएँ। ऊ पनि छक्क परी। अनुहार रातो पार्दै उसले दिदीलाई हेरी, केही बोलिन। म पनि बोलिनँ। चुपचाप हेरिरहेँ ऊतिर। उसका झुकेका आँखा त्यसपछि फेरि उठेनन्। उसले कुनै कुरै गरिन। एकछिनपछि ऊ अर्को कोठामा गई। उसले सोफामा राखेको सल भुइँमा लत्रियो।
“साह्रै लजाउँछे यो सोझी। नौला मान्छेका सामु नै पर्दिन। तिमी केही भन्दै थियौ नि !” नीताले सल उठाउँदै सोधी।
“अँ, त्यस्तो खास केही हैन, आउने बिहीबार भ्याउँछौ कि भनी सोध्न खोजेकी।” कुरा मोडेँ।
“के छ र ?” ऊ उत्सुक देखिई।
“आमाले बंगलामुखीमा बत्ती बाल्ने भन्नुभएको छ।” मैले भनेँ।
जुन उद्देश्यले आएकी थिएँ, त्यसलाई अगाडि बढाउन सकिनँ। अघि रेष्टुराँमा देखेको कुरा, मात्र एउटा सपना वा उमेरमा हुने अल्हडपना मान्न सकिनँ। आफूलाई जत्ति नै उदार भने पनि कतिपय निर्णय गर्न भनेजत्तिको सजिलो नहुँदो रहेछ। आँखाअगाडि अनिलको निर्दोष अनुहार झुल्कियो। म फर्किन चाहेँ।
“किन, के भयो ?” नीता चिन्तित देखिई।
“भिजेकी छ’, चिसो लागेजस्तो छ। अब निस्कनुपर्छ।” ऊसँग बिदा मागेँ।
फर्कंदासम्म दिन हल्का खुलिसकेको थियो। मन भने खुल्न सकेको थिएन।
सिधै कोठामा गएँ। रेष्टुराँको घटना मानसपटलबाट धुमिल भैसकेको थिएन। नम्रतालाई भेटिसकेपछि त्यो घटना झन् बारम्बार आँखासामू दोहोरिरह्यो।
उर्लंदो नदीले समेत छेउछाउ भत्काउँदै लान्छ, झन् यो त उमेर र बैँसको बाढी थियो। नसम्हालिए कुन भूमरीमा लगेर जाक्छ, बैँसालुहरूले सोचेका होलान् र ? मन एकतमासले नमीठो भयो। आमा र भाइको आशामा कति ठूलो कुठाराघात हुने हो। सोचेर मन भारी हुन थाल्यो।
म आएको चाल पाएर आमा ढोकामा उभिनुभयो, “कतिबेला आइस्, हामीले त चालै पाएनौँ। क्यै कुरा भयो त नीतासँग? भेटिस् उसकी बहिनीलाई ?”
एकैचोटि आएका आमाका प्रश्नमा अनिलको पनि जिज्ञासा थियो, म बुझ्न सक्थेँ। ऊ आमाको पछिल्तिरबाट मलाई हेर्दै थियो। ती उत्सुक आँखाहरू पनि जवाफ पर्खंदै थिए।
“छैन आमा, आज भेट्न पाइनँ।”
मैले आमाको अनुहारमा टड्कारो हेर्न सकिनँ। ।
(मानन्धरको कथा संग्रह अनावरण आज शनिबार राजधानीमा सार्बजनिक हुँदैछ ।)