हजारौं मृत्यु, हजारौं बलिदान
यही ऋणै ऋणको भारी थुप्रोले थिचिएर
उऋण हुने युक्ति सोचिरहेछौं
हामी तिम्रो मृत्युको कारण खोजी रहेछौं ।
कसरी त्याग्यौ प्राण थाहा छैन,
किन रोज्यौ महान यात्रा थाहा छैन
तिम्रा रगतका छिटा छन् प्रहरी पोशाकमा
त्यसैको गाढा रंग, आलो गन्धको अनुभूतिसँगै
तिम्रो प्राणाहुतिको अर्थ खोजिरहेछौं ।
तिम्रो आत्माको दिप्त प्रकाश नबुझोस् कतै
त्यसैले त तिम्रो मृत्युको कारण खोजिरहेछौं ।
गयौ कता? छौ कहाँ? गर्दै पो छौ के?
जसै बिदा भइ गयौ इहलोकबाट
तिम्रो विधवा र लालाबाला सन्तानदेखि रहेछौं,
सोधिरहेझैं तिनका हेराइका जवाफमा नि:शब्द
केबल तिम्रो बलिदानीको औचित्य गमिरहेछौं
हामी तिम्रो मृत्युको कारण खोजिरहेछौं ।
तिम्रो मृत्युसँगै तिमीले त पार पायौ
पाओस् तिम्रो आत्माले शान्ति
परलोकमा तिम्रो जय जय होस्, तर
जुन परिस्थितिमा तिमी शहादत भयौ
त्यो यथावत छ, अरु भयंकर र भयावह पनि
सल्बलाई रहेका अपराधी र चाङ परेका अपराधबीच
हरपल जनजनको न्यायको चित्कार सुनिरहेछौं
र, कतै त्यसैले त तिम्रो मृत्युको कारण खोजिरहेछौं ।
यति महान् मृत्यु वरण गर्यौ, तिमी अमर भयौ
खेर जाने छैन तिम्रो यो बलिदानी
भुल्ने छैन जगले तिम्रो वीरताका गाथा
लामबद्ध आज अमर प्रहरी स्मारक छेउ
श्रद्धाञ्जलीमा नतमस्तक हाम्रा शिर झुकाइ रहेछौं
लिइ प्रेरणा तिम्रै अरु उत्साह भरिरहेछौं
तिम्रो रगतको मूल्य कसरी तिरूँ?
तिम्रो बलिदानीको सम्मान कसरी गरौं हामी
आज यही सोचिरहेछौं, आफैंभित्र इमान्दारिता खोजी रहेछौं
कर्तव्य पथमा किन्चित विचलित नहुने प्रण गरिरहेछौं
त्यसैले त हामी आँफू बाच्नुको सार्थकता
र
तिम्रो मृत्युको कारण खोजिरहेछौं ।
तिम्रो मृत्युको कारण खोजिरहेछौं ।