ऊ एकाबिहानै उठ्यो। हातमुख धोयो। नुहाउन पानी बाल्टीमा भर्यो अनि गाम्छा र कपडा लिएर बाथरुम पस्यो।
नुहाएर फर्किंदा उल्लासका धर्साहरु उसका मुहारभरी फिँजीएका थिए। जतन गरेर दराजमा राखेको एउटा मझौलो खालको झोला निकाल्यो जुन उसले यस्तै बाहिर जाने प्रयोजनको लागि किनेको थियो।
अनि मिलाउन थाल्यो त्यही झोलाको ठूलो गोजीमा केही थान कपडाहरू, सर्ट, टिसर्ट, प्यान्ट, कच्छा, बन्यान आदि। सानो गोजीमा चाहिँ ब्रस, मञ्जन, डायरी र खुत्रुङमुत्रुङ सामानहरु राख्यो। केही छुट्ला कि भनेर एकपटक फेरि सर्सर्ती आँखा दौडायो अनि झोलाको चेन लगायो चरर्र ....।
त्यसपछि सबैभन्दा महत्वपूर्ण कुरो, पर्स चेक गर्यो। पर्समा चार वटा पाँच पाँच सयका हरिया गान्धीहरू मस्त निदाएका थिए। छेवैमा छ/सात वटा निला गान्धीहरु गुजुमुज्जु परेर कोचिएका थिए। उसले मनमनै हिसाब लगायो –‘बाटो खर्च पन्ध्र/सोह्र सय, अम्..... हजार/बाह्र सय अझै बच्दो रहेछ।’
एसो यताउता नजर दौडायो; उसको रूममेट सुरेश मस्त निदाएको थियो। उठाएर उसलाई डिस्टर्ब गर्न चाहेन। घडी र मोबाइल टेबलमै थिए; उसले लिएन। वास्तवमा ऊ समय-शून्य हुन चाहन्थ्यो केही दिनलाई; यो सहर र प्रविधिको कोलाहलबाट मुक्त।
बिहान छ बजेको आलार्म; हतार हतार क्लास अनि अफिस; भरे फेरि त्यही कोठा; निराश चेहेरा; समयको पावन्दी - यी सबैबाट उन्मुक्त हुन चाहन्थ्यो ऊ केही दिनलाई। घरमा आउन लागेको खबर पनि गरेन उसले; सरप्राईज दिन चाहन्थ्यो।
ढोकाबाट बाहिर निक्लदैँ गर्दा;पूर्वी क्षितिजमा शिशु सूर्यले नमन गर्यो। जवाफमा विवेक मुस्कुराईदियो। दुबैको उन्मुक्त मुस्कान हावामा बिलायो। अटो रिक्सा लिएर ऊ आनन्द विहार बस स्ट्यान्ड गयो।
हतार हतार भित्र पस्यो र त्यहाँ पुग्यो जहाँ झुन्ड्याएको टिनमा लेखिएको थियो ‘रुपैडिया , ४९’ अर्थात् रुपैडिया बोर्डरको लागी बस लाग्ने ठाँउ।
“रुपैडिया...रुपैडिया ......रुपैडिया....”- धोत्रो स्वरमा बसको कन्डक्टर कराउँदै थियो। विवेक बसभित्र पस्यो। “टिकट लेलो ...... टिकट..टिकट..” - उसको अगाडि ठिङ्ग उभियो कन्डक्टर, जसको एउटा हातमा पैसा थियो र अर्को हातमा टिकट काट्ने मसिन।
“एकका कित्ना?” विवेकले सोध्यो।
“पाँच सौ पचास”-कन्डक्टरले सटिक उत्तर दियो। सायद उसलाई धेरै बोल्ने इच्छा थिएन। उसको चेहेराबाट प्रस्ट झल्किन्थ्यो।
‘पाँच सौ था न पहेले तो?’
‘हाँ, पर अब बढगया’- कन्डक्टरले झर्को मान्दै उत्तर दियो।
‘चलो, एक देदो।’ कन्डक्टरलाई पैसा दिएर विवेकले टिकट लियो। केहीबेरमा बस निदाएको दिल्लीलाई पछाडि छाड्दै रुपैडियाको लागि रवाना भयो।
‘रुपैडिया ... रुपैडिया...रुपैडिया...’ - नेपथ्यको पट्यार लाग्दो कर्कस आवाजले विवेक झल्याँस्स ब्युँझियो। आङ तनक्क तन्कायो अनि यसो झ्यालबाट बाहिर हेर्यो। ‘लौ! रुपैडिया आइसकेछ। कति छिटो? ’ - उसले मनमनै सोच्यो। ‘लामो निद्रा सुतिएछ गाँठे; कति बजेछ?’ - समय जान्न मन लाग्यो उसलाई तर घडी थिएन। बाठो टोपल्किएर घडी नल्याएकोमा रिस उठ्यो आफैंसँग। कन्डक्टरको झर्को लाग्दो अनुहार देखेर उसलाई समय सोध्न पनि मन लागेन। बसबाट ओर्लिएर बोर्डर कट्नै लाग्दा झल्याँस्स सम्झियो, “ला! नेपालमा त भा.रु. चल्दैन त!”
‘सट्टाबट्टी ...... सट्टाबट्टी, IC/NC .... NC/IC”, अलिक पर दुई तीन जना कराईरहेका थिए। विवेकले पुलुक्क एउटालाई हेर्यो, आँखा चार भए। सप्लाई - डिमाण्डको नियम दुवैले आभाष गरे।
‘IC/NC .... NC/IC” - एउटा हौसिँदै विवेकको नजिक आइपुग्यो।
“क्या रेट है?” विवेकले सोध्यो।
“२ रूपे बट्टा ... २ रूपे बट्टा”- उसले पैसा खेलाउन थाल्यो।
विवेक हतारमा थियो, धेरै बार्गेनिंग गर्ने मुडमा थिएन। पर्सबाट तीनवटा पाँच पाँच सयका भा.रु. निकालेर दियो र बदलामा सटहीबाट पाएको नेपाली रुपैयाँ पर्समै कोच्यो। त्यहाँबाट सरासर नेपालगंज बसपार्क पुग्यो र रुकुम जाने काउन्टरमा गएर बसको टिकट माग्यो।
“दाई, कति हो पैसा?” टिकट हातमा लिँदै सोध्यो उसले।
“आठ सय” - काउन्टर भित्रबाट एकजना मोटो व्यक्तिले उत्तर दियो। उसले कपाल रातै रंग्याएको थियो भने फाटेको जिन्स लगाएको थियो। विवेकले पैसा दियो र हिंड्यो। उसले गम खायो; “बाटो खर्छ छुट्याएर पनि अझै १५०० जति बच्छ।” यसो सोच्यो -“पोहर साल बाले टालेको हाल्फ़ पाइन्ट लगाउनु भएको थियो।’ एउटा हाल्फ़ पाइन्ट किनीदियो। आमालाई सम्झियो, ‘बाहिर निस्कँदा तौलिया टाउकोमा राख्ने बानी छ,’ एउटा निलो रंगको तौलिया किन्यो आमाको लागि।
बस चढ्नै लाग्दा धाराबाट ग्याररर्र........... पानी बगिरहेको सुन्यो उसले। यताउति हेर्यो। “होइन ! कहाँ रहेछ धारो यो बसपार्कमा? ” अहँ कतै देखेन। फेरि कसैले ढोका ढ्याप्प लगाए जस्तो लाग्यो उसलाई। यताउति हेर्यो; अहँ कतै केही थिएन त्यस्तो। "किन अनौठा आवाजहरु सुनिँदै छन् आज?" ऊ एकछिन सोचमग्न भयो।
" दाई! यार भित्र आउनुस् न " -खलाँसी भाईको आवाजले ऊ झस्कियो। उसलाई लाग्यो शायद कान बजेको होला। एकछिनमा धाराको ग्याररर्र आवाज पनि थामियो। उसले केही बुझ्नै सकेन।
‘खलङ्गा.... खलङ्गा... खलङ्गा...ए दाई, खलङ्गा आइपुग्यो’- चर्को आवाजले निद्रा खुल्दा खलाँसी भाई छेवैमा उभिएको थियो। ‘हत्तेरी! फेरि कस्तो लामो समय निदाईएछ गाँठे!’ उसले मनमनै सोच्यो र आँखा मिच्न थाल्यो।
“कति बज्यो होला?” उसलाई समय जान्न मन लाग्यो। यताउति हेर्दा बस खाली भईसकेको रहेछ। यसो खलाँसी भाइको नाडीतिर नजर पुर्यायो तर खाली रहेछ नाडी। मन अमिलो पार्दै बसबाट ओर्लियो। ठ्याक्कै कति बजेछ त भन्न सक्थेन उसले तर यति लख काट्ने भने सक्थ्यो कुनै दिउँसोको समय थियो त्यो। त्यस्तै ३/४ बजेको हुँदो हो। बसबाट ओर्लंदै गर्दा पारिला घामका किरणहरुले उसको निधारमा चुम्बन गरे। अनि नजिकै बगेको सानी भेरीको चिसो सिरेटोले उसलाई स्वागत गर्यो। ‘उफ् ! जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी’ -उसले मनमनै गुन्गुनायो। हरभरा डाँडापाखा नियाल्दै, ऊ बाटो लाग्यो।
पारी भलाक्चाको डाँडो उस्तै थियो, उस्तै मनमोहक जस्तो प्रत्येक पल्ट हेर्दा उसलाई लाग्ने गर्छ। यतिका वर्षमा धेरै कुरा बदलिएका छन् उसको जीवनमा तर नबदलिएको कुनै कुरा थियो भने त्यो थियो उसको बा’आमाको माया र यो भलाक्चाको डाँडो। बाटोमा यदाकदा चिनेजानेकाहरु भेटिन्थे। ऊ बोल्ने मनसायले उनीहरु तर्फ हेर्थ्यो तर उनीहरुले नदेखेझैं गरेको देखेर उसको मन खिन्न भयो।
‘ठुल्लेका बजियाहरू...हाम्रा नि दिन आउलान् नि,’ ऊ मुर्मुरियो र सरासर हिँड्यो।
रातो पहिरोतिर पुग्दा दिन ढल्कन लागिसकेको थियो। दिउँसोको चर्को घाम बिस्तारै पहेँलो हुँदै थियो। कतै पहेँलपुर सुनको नगरीमा पुगेझैँ भान भईरहेको थियो उसलाई; समस्त जगत गहिरो अध्यात्ममा डुबेजस्तो। अलिक तल तिरबाट कोही बुढो मान्छे उकालो चढ्दै थियो। चिने चिने जस्तो लाग्यो विवेकलाई। देब्रे हातले घामका किरणलाई छेक्दै अलिक ध्यान दिएर हेर्यो उसले। ‘ल ! बाजे पो हुनु हुँदो रहेछ!’- उसको खुशीको सीमा रहेन। कति धेरै वर्ष पछि देख्न पायो उसले बाजेलाई, ऊ गद्गद् भयो। बाजेले सेतो धरो गुथेका थिए बिल्कुल त्यसरी नै जसरी उनि गुथ्ने गर्थे प्रायजसो कहीं बाहिर जाँदा।
जिउमा कालो इस्टकोट लगाएका थिए भने खुट्टामा थियो चामको जुत्ता। शिरमा ढाका टोपी। विवेकले लामो स्वास फेर्यो, बल्ल उसलाई गाउँ पुगेझैं लाग्यो। बाजेले पनि नजिकै आएर चस्मा मिलाउँदै अलिक ध्यान दिएर हेरेँ अनि मुसुक्क हाँसे।
‘अवेला गर्रेलीचै तो नाती?’ बाजेले सोधे।
‘हजुर, अलिक बसले ढिला गर्यो!’ उसले जवाफ फर्कायो र हातमा ढोग दियो।
‘फुनै नगरी आइ तो?’ चौतारामा बिसाउँदै बाजेले सोधे।
‘अँ...त्यस्तै भयो अलिक हतारमा थिएँ! फोन नै गर्न भ्याएन।’ उसले कुरो मिलाउन खोज्यो।
बाजेले इस्टकोटको खल्तीबाट सुल्पा र कक्कड़ निकाले अनि सुल्पामा कक्कड़ भर्दै सोधे, ‘कत्दीन बस्छई तो?’
सल्लेरी पाखोतिर हेर्दै विवेकले जवाफ दियो, ‘तीनचार दिनलाई आको बाजे।’
त्यही सल्लेरी पाखोमा त थियो विवेकले आफ्नो बालापन बिताएको; कैंली गाई र बाछोलाई चराउन ल्याएको। उसको मानसपटमा वाल्यकालका मीठा यादहरु सल्बलाउन थाले। मन हर्रर भएर आयो।
डलसिङ ढुंगामाथि छड्के चलाएर बाजेले आगो सल्काए। एकछिनमा धुँवा पत्तायो। बूढाले कक्कड़ स्वाईस्वाँई ताने। केहीछिनलाई वातावरण धुँवामयी भयो।
‘हजुर कता जान लाग्नु भयो त?’ विवेकले सोध्यो।
‘त्यै. परतिर जान् लाग्या छु?’ बाजे एकपाली जोडसँग खाँसे, शायद निकोटिनले बाजेलाई खाइसकेको थियो।
विवेकले प्रतिप्रश्न गर्यो, ‘कहाँ पर तिर हो र रात परेको बेला?’
आश्चर्यचकित भएझैँ आँखीभौं खुम्च्याएर बाजेले भने- ‘पर घाट तिर जान ला'को, अईचेल त्यतै बस्छु।’ विवेकले केहि भन्नु पूर्व नै उनी बाटो लागिसकेका थिए।
‘छिटो फर्किनू’- अलिक पारि खोल्सातिर पुगेर बाजेले भने।
विवेक केही बेरको लागि अचम्मित पर्यो। ‘घाट तिर जाँदै छु भन्छन्, आउन पाको छैन छिटो फर्केस भन्छन्।’ ‘हैट! बुढालाई बुढेसकाल लागेछ!’-उसले मनमनै सोच्यो अनि ऊ पनि आफ्नो बाटो लाग्यो।
साँख खोलाको झोलुङ्गे पुलमा हिँडदै गर्दा उसले तलतिर खोला तर्दै गरेको बुवालाई देख्यो। उहाँको पिठ्यूँमा ठूलो झोला थियो जुन परार साल विदेशबाट आउँदा ल्याउनुभएको थियो। दायाँ हातले गोल्ड स्टार जुत्ता समातेर बायाँ हातले प्यान्ट माथि सिमल्दै उहाँ खोला तर्दै हुनुहुन्थ्यो।
‘बुवा...बुवा..’ -विवेक माथि झोलुंगे पुलबाटै करायो। केही सुनेझैं गरेर उसको बुवाले एकपटक अडिएर झोलुंगे पुलतर्फ हेर्नुभयो तर फेरि खोलो तर्न लाग्नुभयो।
‘सायद ट्याउ खोलातिर जाँदै हुनुहुन्छ होला, भरे आइहाल्नु हुन्छ नि!’-उसले मनमनै सोच्यो अनि बाटो लाग्यो।
गाउँको पुछारमा पुग्दा, गाउँ सुनशान देखिन्थ्यो। संघारमै आएकी सन्ध्याले भायोलिनको मेलंकोलीक धुन बजाएझैँ भान हुन्थ्यो। सूर्यका पहेँला नाजुक किरणहरु पनि डाँडा पारी बसाईं सरिसकेका थिए। उसलाई आफ्नै गाउँ खै किन हो बिरानो लागिरहेको थियो। पारी गहिरा खेततिर कोही काँधमा कोदाली बोकेर उकालो लाग्दै थियो। माथि वनमा कोही घँसलेनी ‘सालैज्यू ...’ को मिठो भाका तानिरहेकी थिई।
ऊ घरको आँगनमा उभियो। सदाझैं आँगन सफा सुग्घर राखिएको थियो। उसले आमाका हत्केलाहरु महसुस गर्यो, आँगनको डीलमा स्पर्ष गरेर। पिँढीमा डोको निरास घोप्टो परेको थियो भने छेउमै अस्तव्यस्त सुतेको थियो नाम्लो, कुनै जडीयाँझैं। ढोका खुल्ला नै रहेछ। विवेक भित्र पस्यो भान्सामा अनि ‘आमा !’ भनेर बोलायो। माथि मटानमा कोही यताउति हिँडिरहेको जस्तो लाग्यो उसलाई। ‘सायद आमा केही काम गर्दै हुनुहुन्छ’- उसले मनमनै सोच्यो। धेरै दिनको यात्राले गर्दा थाकेको ऊ आमालाई पर्खेर टुसुक्क बस्यो; भर्याङको फेदमा।
केहीबेरमा आमा तल झर्नु भयो; हतार हतार। विवेकले हर्षित नयनले आमातिर हेर्यो, सर्प्राइज दिन पाएकोमा दंग पर्दै, तर, आमा केही नबोली भान्साको दराज तर्फ लाग्नुभयो, केही खोज्न, हतारहतारमा। ऊ ट्वाँ परेर हेरिरह्यो।
‘अलिक अँध्यारो भएर नि होला सायद, देख्नु भएन।’ -मनमनै सोच्यो उसले अनि चुपचाप हेरिरह्यो आमालाई।
‘के खोजिरा’को आमा?’ उसले सोध्यो। आमा एकछिन टक्क रोकिनुभयो, केही सुनेझैँ गरेर पछाडि फर्किनुभयो। तर, फेरि आफ्नै धुनमा बाँसको ढुङ्ग्रोबाट केही निकाल्न लाग्नुभयो।
अक्सर आमा ढुंग्रोमा फुटकर पैसा राख्नु हुन्छ। उसलाई लाग्यो कतै तिरोभारो गर्नुछ होला शायद त्यसैले हतारमा हुनुहुन्छ। ऊ पर्खेर बसिरह्यो।
‘ओहो! कस्तो पानी प्यास लागेको, आँत नै सुकेर आयो!’ खै कति दिन भयो पानी नपिएको उसले हिसाब गरेन। समयको हेक्का राख्न उसैले छोडिसकेको थियो। पानी पिउन हेतु उसले छेउकै अम्खरा उठायो र भर्याङ मुनी राखेको तामाको गाग्री तिर घस्रियो। थकित अनि आमाले कुनै प्रतिक्रिया नजनाएको देखेर न्यास्रो मान्दै। पानी सार्न गाग्री ढल्काउन खोज्यो तर अहँ फिटिक्क ढल्केन गाग्री। यही गाग्री बोकेर उसले कति भित्र बाहिर गर्यो होला, त्यसको लेखाजोखा छैन तर आज त्यही गाग्री पनि ढल्कीरहेको थिएन।
आफू कमजोर भएको हो या गाग्री गह्रुङ्गो; ऊ सोचमग्न भयो। यत्तिकैमा आमाले ढोकाको संघारमा झोला राख्नुभयो।
‘के ताल होला यो!’ ऊ मुर्मुरियो।
‘छोरो बर्षौपछि घर आएको छ, केही नबोली कता जानुपर्या होला?’ यस्तै के के सोच्दै थियो। उसको पर्स फ्यात्त भुँइमा खस्यो। आमाले ढोका बाहिरबाट फेरि केही सुनेझैँ गरी भित्र हेर्नु भयो। भान्सा कोठाभरी एकपटक सर्सर्ती नजर दौडाउनु भयो। तर पर्स उठाउनै लाग्दा उसले जे देख्यो, त्यसले उसको होश हवास् नै उड्यो।
ढोकानेरको भित्तामा बाजेको फोटो झुन्ड्याईएको थियो। फोटोमा माला चढाईएको थियो। उसले पर्सतिर हेर्यो। चारओटा पाँच पाँच सयका भा.रु र छ/सात ओटा निला गान्धीहरु जस्ताको त्यस्तै निदाएका थिए। ऊ बेस्कन आत्तियो। हतार हतार ढोकातर्फ लम्कँदै गर्दा बाहिरबाट आमाले ढोका ढ्याम्म लगाउनुभयो र ताल्चा मार्नुभयो।
भोलिपल्ट ‘टाइम्स अफ इन्डियामा’ समाचार छापियो-’ नेपाली ब्याए फाउन्ड डेड इन द बेड – रिजन?- स्ट्रोक’