कोहि प्रताप मल्लकी रानी
पुत्र बियोगमा बिलाप गरून् नगरून्
अनेक मिथक र किम्बदन्तीहरू
जोडियून्/नजोडियून्!
मलाई मेरो रानीपोखरी चाहिन्छ
म रानीपोखरी सँग जोडिएकोछु
मेरो समाज अनि सिंगो राष्ट्र जोडिएको छ।
मलाई हेर्नुछ रानीपोखरीको
संग्लो र कञ्चन सफा पानीमा
घन्टाघरको स्पस्ट आकृती
अनि हेर्नुछ उही रानीपोखरीको आँगनीमा
समयले कुदेका अन्तरङ्ग छालहरू
हेर्नुछ मित्रता गाँस्दै गरेका राजहाँसका जल कृडा
अनि स्वतन्त्र खेल्न रमाउने माछाका
भुराहरू र तिन्का अधुरा सपना!
परन्तु हेर्नू छैन मलाई
राजनीतिको चपेटामा परेको
मरूभूमितुल्य रानीपोखरी
जहाँको फोहोरी आहालमा
फोहोरी राजनीतिले हुर्काएका
चेपागाँडाहरू डुबुल्की मार्दै किन नहून्
बदलामा मलाई चाहिन्छ फेरि पनि
उही उस्तै र दुरूस्तै एइतिहासिक रानीपोखरी।
अर्का सपूत भिमसेन थापाहरू
निस्किएनन् भन्दैमा
भग्नाबसेसमै सुतिरहने छैन धरहरा
ऊ उठ्नेछ जुरुक्क अनि स्नान गर्नेछ
रानीपोखरीको शुद्ध जलले
गर्नेछ खबरदारी र काढ्नेछ उछितो
ती सम्पदा र धरोहर माँस्नेहरूको !
पुर्खाले छोडेर गएको नासो/सम्पत्ति
संरक्षण गर्न नसक्नु अलग कुरा
माँसेर निमिट्यान्न पार्ने अधिकार
न कसैलाई थियो न छ न त हुनेनैंछ।
स-सम्मान भोलिका सन्ततिको हातमा
हस्तान्तरण गर्नु आजको
अकाट्य आबसेकता हो।