फेसबुक बन्द भयो भने के होला ? धेरैले यो प्रश्न सोध्नुहुन्छ बाबालाई। कोहीले आफ्नो टाइमलाइनमै पोस्ट गरेका हुन्छन् फेसबुक बन्द भयो भने के हुन्छ होला भनेर।
‘पहिला जस्तो थियो, त्यस्तै हुन्छ होला,‘ बाबा जवाफ दिनुहुन्छ, ‘पहिला कोही मान्छे घरमा आउनासाथ फोटो देखाउन एल्बम निकाल्थे मान्छेहरु। फोटो देखाउने रहर त मान्छेलाई जहिले पनि हुने रैछ। सबैलाई यस्तो नलाग्ला तर धेरै जना यस्तो हुनुहुन्छ। मान्छेले आफ्ना व्यक्तिगत कुरा सेयर गर्नै खोज्छ। कोहीले धेरै खोज्लान्। कोहीले कम खोज्लान्। फरक त्यति हो। अहिले फोटो देखाउन फेसबुकले सजिलो भएको छ। फेसबुक बन्द भयो भने फेरि घरमा आएका मान्छेलाई फोटो देखाउन एल्बम अघि सार्नुपर्छ। हाहाहा !’
पहिला जस्तो हुन्छ त्यस्तै होला भन्नुको अर्थ गहिरो छ। पहिलाको सम्झादा त कहाली नै लाग्छ बाबालाई। कति धेरै काम भएको छ सामाजिक सञ्जालले। सामाजिक सञ्जाल थिएन भने बाबाको किताबको ‘पब्लिसिटी’ कहाँबाट गर्नु ? नि:शुल्क ‘पब्लिसिटी’ भएको छ यसबाट। सञ्चार माध्यममा विज्ञापन गर्न पैसा तिर्नुपर्छ, सामाजिक सञ्जालमा नि:शुल्क। अनि भएन फाइदा ?
बाबा फेसबुकको सक्रिय प्रयोगकर्ता हुनुहुन्छ भन्ने अन्दाज त अघिल्ला अध्यायमा उल्लेख भएका क्रियाकलापबाट पनि बुझ्न सकिन्छ। सक्रियता देखेर उहाँका साथीहरु ‘कति भ्याउन सकेको होला’ भन्नुहुन्छ। सजिलै भ्याएको होइन। यसका लागि समय व्यवस्थापन गर्नुपर्छ। समय व्यवस्थापन गर्ने कला चाहिं छ बाबासँग। कुनै बेला हिंडेकै बेलामा पनि चलाउनुहुन्छ। यो कुरा पनि भनिसक्नुभएको छ माथि नै। खाना खाने बेलामा पनि चलाइदिनुहुन्छ कहिलेकाहीं त। चलाउनुपर्छ, गर्नुपर्छ भन्ने सोचाइ भएपछि नभ्याउने भन्ने त के नै छ र ! सोचाइले हुने हो समय व्यवस्थापन। सबै दृष्टिकोणको कुरा हो। इच्छा शक्तिको कुरा हो।
बाबाका गतिविधि बरू त्यति चर्चित हुँदैनन्। हार्दिकका गतिविधि बाबाका भन्दा धेरै चर्चित हुन्छन्। यसको अर्थ बालबालिकाप्रति धेरैको चासो छ भन्ने हो भनेर बुझ्नुहुन्छ।
‘म हार्दिकको फ्यान हुँ,’ साहित्यकार कौशिला रिसालको बालकथासंग्रह नयाँ वर्षको उपहार विमोचन कार्यक्रममा भेट हुनुभएकी साहित्यकार दुर्गा तिवारीले बाबासँग भन्नुभयो, ‘मेरो छोरो पनि सानोमा त्यस्तै थियो। अहिले छोरो पोखरामा पढ्छ। म काठमाडौंमा छु। हार्दिकको कुरा आउनासाथ मेरो त्यही छोरोको बाल्यकाल सम्झन्छु।’
त्यो दिन हार्दिक पनि गएका थिए विमोचनमा। पछि झगडा गर्लान् भनेर ममीले उनलाई लिएर घर जानुभयो। तिवारी अलि पछि आउनुभएको थियो। हार्दिकलाई भेट्न सकिएन भनेर चुकचुकाउनुभएको थियो।
......
हार्दिकको बाबाले एउटा पोस्ट गर्नुभयो।
‘हार्दिक आज पार्टीमा जान्छौ ?’ हार्दिकको ठूलोममीले सोध्नुभयो।
‘ठूलोबाबा लिन आए जान्छु। नत्र जान्ना,’ हार्दिकले जवाफ दिए।
ठूलोममीले भन्नुभयो, ‘ठूलोबाबा पार्टीमा आउनुहुन्छ। त्यहीं भेट हुन्छ। आउँदा ठूलोबाबासँगै आउँला नि !’
‘सडकमा गुड्ने गाडीमा जान्ना,’ हार्दिकले जवाफ दिए।
सडकमा गुड्ने गाडीमा जान्ना भनेको चाहिं सार्वजनिक यातायात चढ्दिना भनेको हो भनेर प्रस्ट पारिदिनुभयो बाबाले।
यो पोस्ट हेरेर हार्दिकको कान्छो हजुरबाले आफ्नो गाडीमा पार्टीमा लगिदिन्छु भन्दै बाबालाई फोन गर्नुभयो।
‘कान्छो हजुरबासँग जान्छौ त पार्टीमा ? लग्दिन्छु भन्नुभको छ,’ बाबाले सोध्नुभयो।
‘जान्ना। म आई ट्वान्टीमै जान्छु,’ हार्दिकले जवाफ दिए, ‘आई ट्वान्टी मेरो बेस्ट हो नि त ! म आई ट्वान्टीको फ्यान हुँ भन्ने थाहा छैन !’
यो पोस्ट हार्दिकको बाबाको अमेरिकामा बस्ने साथी सुरेश सापकोटालाई खुबै मन परेछ। उहाँले बाबालाई फेसबुकको मेसेन्जरमा कल गर्नुभयो।
‘ओहो स्वर त उस्तै पो रहेछ !’ हार्दिकको बाबाले जिस्कँदै कल उठाउनुभयो।
‘हाहाहा !’ स्वर त उस्तै छ यार !‘ ‘अरु धेरै परिवर्तन भयो दस वर्षमा, स्वर चाहिं परिवर्तन भएन !’
‘अमेरिका गएँ भन्दैमा सम्पर्कमै नआउने मान्छे त !’ हार्दिकको बाबाले भन्नुभयो, ‘ढिलै भए पनि माया मार्न त सकिंदो रैन्छ नि हैन ! कति पटक नेपाल आएको थाहा पाएँ। तर, सोधखोजै गरेनौ बाजे ! एउटा थालमा जुठो खाएको साथी पनि यस्तो निष्ठुरी हुन मिल्छ ?’
‘सरी,’ सुरेशले भन्नुभयो, ‘अब म सम्पर्कमा आउँछु। समस्यामा थिएँ। समस्याका दिन अब सकिन लागे। अब साथीभाइको बीचमा आउने हो !’
साथी कलेज पढ्ने बेलादेखिको हो। १२ वर्षअघि उहाँ अमेरिका जानुभयो। उहाँका सबै परिवार उतै बस्नुहुन्छ। एकदमै मिल्ने साथी हो उहाँहरु। सुरेश अमेरिका गएपछि सम्पर्क टुट्यो। उहाँ उतै व्यस्त। हार्दिकको बाबा यतै व्यस्त।
‘अब मेरो पनि संघर्षको दिन सकिए अमेरिकामा,’ सुरेशले भन्नुभयो, ‘हार्दिकको पोस्ट नियमित हेर्छु। आज पनि देखें। तपाईंहरुको म्यारिज एनिभर्सरी पनि रहेछ। त्यही भएर पनि सम्झना आयो। सबै पोस्ट हेर्छु। किताबको कुरा गर्नुहुन्छ। ठाउँठाउँ घुम्नुहुन्छ। त्यहाँका कुरा राख्नुहुन्छ। मलाई ती सबै मन पर्छन्। ती सबैभन्दा बढी चाहिं हार्दिकको कुराकानी मज्जा लाग्छ। म कुनै पनि छुटाउँदिना। यहाँ श्रीमतीलाई पनि देखाउँछु।’
‘हेर्नु पो हुन्छ ?’ बाबाले भन्नुभयो, ’मैले कसरी थाहा पाउनु त बाजे तिमीले हेर्यौं कि हेरेनौ भनेर ? लाइक किन नगरेको ? लाइक, कमेन्ट गरेको भए पो ए हेरेछन् भनेर दंग पर्थें म। कमेन्ट गरेको भए एक किसिमको बहस चल्थ्यो !’
‘हामीले हुर्काउन जानेनौं छोराछोरी। सानै पनि थियौं बाउआमा हुँदा,’ सुरेशले भन्नुभयो, ‘अहिले तपाईंको पोस्ट हेर्दा हामीले कहाँनेर गल्ती गरेछौं भनेर थाहा पाउँछौ। कुनै बेला त आँसु आउँछ। रूनै मन लाग्छ !’
‘धेरैले त्यसै भन्नुहुन्छ,’ बाबाले भन्नुभयो, ’कसरी व्यवहार गर्ने बालबालिकालाई ? हामी यही अन्योलमा छौं। राम्रो गर्न खोज्छौं तर जान्दैनौं। के गर्ने होला ? कसो गर्ने होला ? म पनि समस्यामै हुन्छु। एउटै व्यवहारले हुँदै हुँदैन। अनेक गर्नुपर्छ। जे होस मैले अनेक कोसिस गरिराखेको हुँ व्यवहार गर्न। व्यवहार गर्न मैले पनि जानेको छैन। आज गरेको जस्तो व्यवहारले भोलि हुँदैन। भोलि गरेको व्यवहारले पर्सि हुँदैन।’
हामीलाई केही नयाँ कुरा गर्यो कि चुप लाग भन्नुहुन्थ्यो। त्यो नजानेर हो। समय नभएर पनि होला। धेरै छोराछोरी हुर्काउनुपथ्र्याे। उहाँहरुलाई के थाहा बालमैत्री व्यवहार भनेको ? हाम्रै पुस्तालाई त थाहा छैन।
बालबालिकालाई जे मन पर्दैन त्यो व्यवहार नगर्नु नै बालमैत्री व्यवहार हो। हामी बालमैत्री व्यवहार गर्न छाडेर दबाब दिन्छौं। पेलपाल पार्न थाल्छौं। डर देखाइदिन्छौं। त्रास फैलाइदिन्छौं। यसले गर्दा उनीहरुको मनमा भय सिर्जना हुन्छ। भय र चिन्ताले प्रतिभालाई कुण्ठित बनाउँछ। उसलाई अगाडि बढ्नबाट रोक्छ। त्यही भएर डर देखाउनु हुँदैन। उनीहरुलाई उत्साह, धैर्य देखाउने खालको कुरा गरिदिनुपर्छ।
‘ठूलोबाबा नभई बिहेमै नजाने पोस्ट पनि खुबै मन परेको हो मलाई। मन छोएको हो,’ सुरेशले सुनाउनुभयो, ‘कति सोख के केटोको। हुन त तपाईंले पुर्याउनुभएको छ। उसका अपेक्षा बढ्दै जान्छन्। पुर्याउन सके राम्रो हो। पुर्याउन सक्नुभएन भने के गर्ने ? हुन त चाहेपछि पूरा हुँदै जान्छन्। जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ नै छ नि ! जहाँ समस्या, त्यहीं समाधान भन्ने भनाइ पनि छ !’
‘मैले हार्दिकको सक्ने इच्छा पूरा गरिदिएको हुँ। मैले नसक्ने माग उसले राख्दै राख्दैन। हाम्रो घरमा दुइटा गाडी छन्। दुई वटा गाडी भएकाले उसले छान्ने सुविधा पायो। कुनै बेला आई ट्वान्टीको फ्यान भन्छ। कुनै बेला हाइलक्सको फ्यान भन्छ। कान्छो हजुरबाको घरमा पनि दुई वटा गाडी छन्। धेरै वटा गाडी भएरै उसले गाडीका अनेक नाम याद गर्न थालेको हो। गाडी पनि छानीछानी चढ्छु भन्न पाएको हो। घरमा गाडी भएकाले ऊ सार्वजनिक यातायात चढ्दिना भन्छ। नत्र नचढेर के गरोस् ? नभएको चीज कहाँबाट ल्याउनु ? नभएको दिन सकिंदैन। दिन नसकिने कुरा माग गरे भने पूरा गर्न सकिंदैन। स्वाभाविक हो। तर, हामी भएको पनि दिंदैनौं। हामी सक्ने पनि पूरा गर्दैनौं। समस्या यहींनेर छ।’
‘गुड सर गुड !’ सुरेशले सहमति जनाउनुभयो।
बालबालिकालाई साधन सम्पन्न बनाइदिनैपर्छ आफ्नो औकातले भ्याएसम्म। औकातले नभ्याए के गर्ने ? कोसिस त गरौं न। भ्याएन भने सम्झाउनुपर्छ। सम्झाएर बानी पार्नुपर्छ। फकाएर बानी पार्नुपर्छ। कुरा सुनिदिएर बानी पार्नुपर्छ। प्रयास गर्यो भने सफल पक्कै भइन्छ।
हार्दिकको आई ट्वान्टी मात्रै होइन मन पर्ने सवारी। प्लेनमा बुद्ध एयर। उनी पनि बुद्ध एयर चढ्ने। कोही बाहिरबाट आउादा चकलेट पनि बुद्ध एयरकै माग्ने। ठूलो भएपछि बुद्ध यएर किन्छु भनेर गफ लगाइरहेका हुन्थे।
बाइकमा पनि रोजाइ छ उनको। बाइकमा रोजाइ बुलेट हो। सडकमा बुलेट गुडेको देख्नै हुँदैन। परैबाट आवाजले चिनिहाल्छन्। अनि दुई हात ठड्याएर हुटिङ गर्न थाल्छन्— बुलेट ! बुलेट ! बुलेट !
उनी ममीको स्कुटरमा हिंड्छन् धेरैजसो। स्कुटरका अगाडि गगल्स लगाएर उभिएका बालकले बुलेट, बुलेट, बुलेट भनेर चिच्याएको सुनेर सडकमा यात्रा गर्नेहरु फर्केर हेर्छन्। अनि हाास्छन्।
बुलेट भनेपछि हुरूक्कै। एक दिन ममीले बाटोमा रोकेको बुलेट देख्नुभएछ। हार्दिकले बुलेट बुलेट भन्न थालेछन्। ममीले स्कुटर साइड लगाइदिनुभयो। अनि रोकेको बुलेट चढाइदिनु भयो। हार्दिक खुबै रमाए। त्यही फोटो बाबाले फेसबुकमा राखिदिनुभयो। बुलेटका प्रसंग पनि बाबाले फेसबुकमा राखेको राख्यै गरिदिनुहुन्छ।
‘बधाई छ सर,’ हार्दिक बुलेट चढेको फोटो देखेर कवि छविरमण सिलवालले लेख्नुभयो, ‘बाबुले अति गरेका थिए। बल्ल किन्नुभएछ। हार्दिकको च्वाइस पनि गतिलै पो हुन्छ त। सडकमा गुड्नेमध्ये गतिलो बाइक बुलेटै हो। उसको पनि ध्यान त्यसैमा गएको छ। कस्तो सोचाइ छ के उसको ! म त हार्दिकको फ्यानै भइसकें !’
‘मेरो प्रिय साधन होइन बाइक,’ बाबाले उत्तर दिनुभयो, ‘मैले किनेको होइन। बाटोमा अरुकै चढाइदिएको। अब बुलेट चाहिं हार्दिकले चलाउँछ अनि उसकै पछाडि बसेर चढ्ने हो।’
बुलेटसँग सम्बन्धित हार्दिक र बाबाका अनेकन संवाद छन्।
हार्दिक : बाबा मैले सपना देखें नि !
बाबा : के सपना देख्यौ ?
हार्दिक : मैले भुटुटुटु पार्दै बुलेट चलाएँ। पछाडि साथी राखें। अनि फिस लिन खोलामा गएँ !
बिहान ब्युँझनासाथ सुनाएका हुन् हार्दिकले। सपना सुनाउँदा ओछ्यानबाट उठेकै थिएनन्।
बाटो हिंड्दा चर्चा नै बुलेटको। बाबाको अफिसबाट घरतिर आउादै हुनुहुन्थ्यो तीनै जना। बानेश्वरबाट एउटा बुलेट अगाडि लाग्यो। हार्दिकले यादै गरेनछन्। पर पुगिसकेको थियो बुलेट।
हार्दिकले भने, ‘हँ !’
मैले त्यहाँ पुगुन्जेल पनि कस्तो नदेखेको भने जसरी हँ भनेका थिए।
उनले त्यो बुलेट भेट्ने चाहना राखे। ममीलाई बाइक छिटो हाँक्नु भन्न थाले।
तीनकुने पुग्यो स्कुटर।
हार्दिक : बुलेट..... हँ ! हैन पो रैछ। यो त एभेन्जर पो रैछ।
बाबा : कसरी चिन्यौ ?
हार्दिक : एभेन्जरको पछाडि अलि चुच्चो हुन्छ। बुलेटको चुच्चो हुँदैन। अनि इन्टाइसरको पनि अलि चुच्चो नै हुन्छ।
बाबा : बाइकको कति धेरै नाम जानेको के केटोले।
ममी : हजुरलाई के थाहा छ र ? मोटरलसाइकलमा चासै छैन। उसलाई धेरैको नाम आउँछ। हजुरको त बरू बेइज्जत पो गर्छ यसले कहिलेकाहीं। हाहा !
बाबा : कसरी बेइज्जत गर्छ ?
ममी : पोखरामा जो आउँदा पनि के भन्थ्यो थाहा छ ?
बाबा : कसरी थाहा हुनु मलाई ? तिमीहरु गएको !
ममी : मेरो बाबालाई त गाडी चलाउन आउादैन। मोटरसाइकल चलाउन पनि आउँदैन भनेर जो आए पनि सुनाउँथ्यो। अनि मलाई त सबै चलाउन आउँछ भनेर गफ लाउँथ्यो।
बाबा : हाहा ! ड्राइभिङ गर्न आउँदैन भन्दा केको बेइज्जत हुनु र !
.......
बाबा पनि ममीको पछाडि बस्नुभएको थियो। बाटोभरि थुप्रै बुलेट भेटिए। हार्दिक रमाउनुसम्म रमाए। हार्दिकको घर जान जडीबुटीबाट पेप्सीकोलाको बाटो हुँदै जानुपर्छ। तर, ममीले गठ्ठाघरतिर स्कुटर मोड्नुभयो। तरकारी किन्न त्यता जान लाग्नुभएको रहेछ। ममी ओर्लनुभयो तरकारी किन्न। ओर्लेपछि बुलेट आउँछ कि भनेर हार्दिकले बाटो हेरिरहे। धेरै बेर आएन। फेरि बाबा–छोरा गफिए।
हार्दिक : खै बुलेटै आएन। सबै मोटरसाइकल बुलेट बनाइदिन पाए पनि हुने !
बाबा : हाहाहा !
एउटा बुलेट आयो। हार्दिक खुसी भए। फेरि कुराकानी सुरू भयो।
हार्दिक : किन धेरै बुलेट बनेको होला बाबा ?
बाबा : किन होला त ?
हार्दिक : मलाई मन पर्छ भनेर होला नि !
बाबा : तिमीलाई चाहिं किन मन परेको होला ?
हार्दिक : भुटुटुटुटु गरेर कराउँछ नि त !
........
मन पर्नुको रहस्य यस्तो पो रहेछ ! बाबाले बल्ल थाहा पाउनुभयो। सामान्यभन्दा अलि फरक कुरामा आकर्षित हुने बालबालिकाको स्वभाव हुँदो रहेछ। बाबाले हार्दिकबाट यो पनि सिक्नुभयो।
अर्काे दिन बाबा हार्दिकको स्कुलमा अभिभावक र शिक्षकबीच छलफल थियो। छलफलमा बाबा पनि जानुभएको थियो। हार्दिक पनि सँगै बसे। घर जाने बेला भयो। बाबाले हार्दिकको हात समातेर हिंड्नुभयो। हार्दिक र बाबा कुराकानी गर्दै अघि बढ्नुभयो।
हार्दिक : बाबा म स्कुल जाँदाजाँदै ठूलो हुन्छ है ?
बाबा : हो नि ! ठूलो भएर के गर्छाै ?
हार्दिक : बाइक किन्छु !
बाबा : कुन बाइक ?
हार्दिक : बुलेट !
बाबा : कुन कलरको ?
हार्दिक : रेड !
....
बुलेटको कुरा गर्न छाडेको धेरै भएको थियो। सडकमा देखिए पनि वास्ता गर्दैनथे। अचेल बुलेट मोह हरायो कि क्या हो भन्ने लाग्यो बाबालाई।
बाबा : अचेल बुलेटबुलेट भनेर नारा लगाउँदैनौं नि त !
ममी : लगाउँदैन अचेल। बुलेट देख्दा लाज पो मान्छ !
हार्दिक : हैन। लाज लाग्दैन। बुलेटै मन पर्छ मलाई त। बुलेट किन्नु न बाबा !
बाबा : मलाई बाइक मनै मर्दैन।
हार्दिक : मन पराउनू। किन्नू।
बाबा : मलाई चलाउनै आउँदैन।
हार्दिक : सिक्नू न ! जुन सिके नि हुन्छ। अरु बाइक सिक्नु अनि बुलेट चलाउनु !
यही कुरा गरेको दिन सडकमा बुलेट देखे। फेरि पहिलाको जस्तै गरी नारा लगाए— बुलेट ! बुलेट ! बुलेट !
.....
यी सबै प्रसंग सुरेशलाई सुनाइदिनुभयो बाबाले। सुरेश मक्ख परेर सुनिरहनुभयो। हार्दिकसँगको अनुभव, विज्ञसँगको भेटघाट, किताब अध्ययनको आधारमा बाबा पनि बालबालिकालाई कसरी हुर्काउनुपर्ने रहेछ भनेर थाहा पाउने हुनुभएको छ। धेरै नजाने पनि आफूलाई पुग्ने जति सिक्न लागेको छु भन्नुहुन्छ।
के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? यो भनिदिनुपर्छ। हुँदैन भनेका कुरा हुँदैन कि हुँदैन भन्नुपर्छ। यसको उदाहरण छ हार्दिककै घरमा। बाबाका किताब जताततै छरिएका हुन्छन्। कुनै र्याकमा हुन्छन्। कहिले खाटैमा पनि हुन्छन्। कुनै बेला टेबलमा हुन्छन्। कुनै भुइामा हुन्छन्। हार्दिकले चाहे भने र्याकका किताब पनि झिक्न सक्छन्। भुइाको पनि च्यात्न सक्छन्। तर, बाबाले बाबाका किताब छुनु हुँदैन भनेर बानी लगाउनुभएको छ। बाबाको डायरी चलाउनु हुँदैन भन्नुभएको छ। उनलाई कुनै बेला कपी चाहिन्छ। बाबा एक पाना दिइस्यो न भन्दै माग्छन्। यो बानी लगाएर भएको हो। यदि हुँदैन नभनेको थियो भने उनले बाबाका किताब सोत्तर पारिदिन्थे। त्यति मात्रै होइन, बाबाका जताततै सम्मानपत्र हुन्छन्। ट्रफी हुन्छन्। मायाको चिनो हुन्छन्।
सम्हाली साध्य छैनन् ती।
बाबाले त्यो पनि तिमीले चलाउनु हुँदैन है भन्नुभएको छ। हुँदैन भन्दाभन्दै हुँदैनतिरै गयो उनको मन। अब उनले चलाउँदैनन्। बिगार्दैनन्।
नबिग्रिने कुरा चलाउँदा पनि आपत्ति जनाइदिन्छौं हामी। उनले खेलौना जे भन्छन्, त्यही किनिदिनुहुन्छ बाबा–ममी। एक पटक आफू समेत भित्र बसेर चलाउन मिल्ने गाडी मागे। १०/१२ हजार रूपैयाामा आउने भए किन्दिनुपर्यो भनेर जानुभयो बाबा–ममी। तर, त्यतिमा आएन। त्यसको २८ हजार पर्ने रहेछ।
किन्ने आँट आएन।
अनेक भनेर फुल्याउनुभयो बाबा–ममीले।
अरु खेलौना ल्याइएको हुन्छ। त्यसलाई दुई तीन दिनभन्दा बढी मन पराउँदैनन् हार्दिक।
‘तीन दिन भएपछि कहाँबाट भत्काउने होला भनेर हेर्न थाल्छन्,’ बाबाले सुरेशलाई सुनाउनुभयो, ‘मन नपरेपछि किन राख्नु त ? उसलाई चाहिएर किनेको। उसैलाई चाहिंदैन भनेपछि किन राख्नु ? भत्काओस्। बिगारोस्। नासोस्। म मतलब गर्दिना। ऊ भत्काउँदा खुसी हुन्छ भने भत्काओस्। फेरि अर्काे माग्छ। म अर्काे किन्दिन्छु। खेलौना किन्दिनु पनि उसका लागि लगानी हो। म यति गर्न सक्छु। मेरो आम्दानीले भ्याउने मात्रै गर्छु।’
तपार्इंले व्यवहार गर्ने आफ्नो स्तर अनुसार हो। तपाईंको स्तर अनुसारको पनि व्यवहार गर्नुहुन्न र पो चिन्ताको कुरा त ! तपाईंको व्यवहार अनुसार उसको सोख पनि बढ्दै जान्छ।
उसलाई सुविधा दिलाउने मात्रै होइन। मिहिनेत गर्ने बानी पनि बसाइदिनुपर्छ साथसाथै। भनेको जति सबै किनिदियो भने सबै सम्भव रहेछ भन्ने पर्न सक्छ। त्यही भएर किन्दिने बेलामा आज किन्दिन्छु अनि भोलि चाहिं माग्न पाउँदैनौ नि भन्नुहुन्छ बाबा। भोलि फेरि मागे भने अस्ति माग्दिन भनेको हैन भनेर सम्झाउनुहुन्छ।
त्यसो गर्दा उनले कर गर्ने सम्भावना घटेर जान्छ।
सुविधाको साथमा मिहिनेत गर्न सिकाइदिनुपर्छ। कमाउन दु:ख छ भनेर सिकाइदिनुपर्छ। दु:खै गरेर कमाएको हो मैले भनेर जानकारी दिनुपर्छ। दु:ख गरेर कमाएको हो भनेर थाहा पाउने बानी पारिदिनुपर्छ। मिहिनेतले हो अघि बढ्ने। मिहिनेतले को अघि बढेको छैन ? निर्धन घरमा जन्मिएका बालक पनि मिहिनेतले सम्पन्न भएका छन्। यो वातावरण बनाइदिने जिम्मा अभिभावककै हो।
दुर्भाग्यलाई सौभाग्यमा बदल्ने साधन नै मिहिनेत हो। मिहिनेती कसरी बनाउने ? यसको सुरूआत यही उमेरबाटै गर्नुपर्छ। तपाईं उनीहरुलाई यही बेलादेखि मिहिनेती मान्छेका कथा सुनाउन सुरू गरिहाल्न सल्लाह दिनुहुन्छ बाबा। उदाहरण अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन हुन सक्छन्। बिल गेट्स हुन सक्छन्। हाम्रै महावीर पुन हुन सक्छन्। डा. सन्दुक रूइत हुन सक्छन्। उनी मात्रै होइनन्, अरु थुप्रै सफल मान्छे छन्। तिनका कथा सुनाइदिनुपर्छ। आफ्ना नानीबाबुलाई थाहा दिन आफूले पनि थाहा पाइराख्नुपर्छ। गरिब परिवारका भएर पनि लिंकन राष्ट्रपति भए। उनका कथा सुनाइदिनु लाभदायी हुन सक्छ। गरिब परिवारमा जन्मिएर पनि भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए। संघर्ष गरेर अघि बढेका थुप्रै नेपाली छन्। तिनको पनि उदाहरण दिनुपर्छ। आत्मकथा सुनाइदिनुपर्छ।
अब्राहम लिंकनलाई पढाउने पैसा समेत थिएन उनका बाबासँग। तर उनी लगनशील थिए। आत्मविश्वासी थिए। त्यही भएर सफल भए। उनले सानामा बाबालाई भनेका थिए रे— म राष्ट्रपति बन्छु। नभन्दै उनी बनेर देखाइदिए। राष्ट्रपति मात्रै बनेनन् कि विश्वकै चर्चित राष्ट्रपति बने। थुप्रै अमेरिकी राष्ट्रपति भएका छन्। ती सबैको चर्चा छैन। जति लिंकनको छ।
लिंकनको प्रसंग सकियो। सुरेशले फेरि हार्दिककै प्रसंग जोड्नुभयो। हार्दिकको प्रसंग जोड्न चाहेपछि फेरि बाबाले हार्दिककै कुरा सुनाउनुभयो।
‘हार्दिक त गाडी पनि आई ट्वान्टी पो चढ्छ त !’ बाबाले सुरेशलाई भन्नुभयो, ‘ब्रान्ड कन्सिएस !’
‘हाहाहा,’ सुरेशले हाँस्दै भन्नुभयो, ‘मानें यार केटोलाई मानें !’
...
उनको सोख सवारी साधनमा मात्रै किन हुन्थ्यो ? खानेकुरामा पनि छ।
एक दिन बेलुका बाबा अफिसबाट घर आउनुभयो। आउनासाथ हार्दिक भर्याङसम्मै लिन गए।
‘मलाई के ल्याइदिनुभयो ?’ हार्दिकले भने।
‘केही छैन त बाबा,’ बाबाले भन्नुभयो।
‘किन नल्याइदिएको त ?’ हार्दिकले भने, ‘आफ्नो छोरोलाई केही ल्याइदिनु पर्दैन त ? किन नल्याइदिएको ? ल्याइदिएको भए भइहाल्थ्यो नि !’
‘मैले हिजो अस्ति पनि ल्याइदिएको थिइनँ नि !’ बाबाले भन्नुभयो।
‘किन नल्याइदिएको ? ल्याइदिएको भए भइहाल्थ्यो नि !’ हार्दिकले भने, ‘के ल्याइदिनुभो ? आफ्नो छोरोलाई केही ल्याउनुपर्दैनथ्यो ?’
‘पथ्र्याे नि पर्न त !‘ बाबाले भन्नुभयो, ‘तर मैले ल्याइन के ! म पैसा दिन्छु, इना बुनेलाई लिएर जाऊ।’
‘नाइा,’ हार्दिकले जिद्दी गरे, ‘आफ्नो छोरालाई ल्याइदिनुपर्दैनथ्यो ? किन नल्याइदिएको ? हिंड्नू। आफैं किन्दिनू।’
रातको आठ बजेको थियो घर आउँदा। आठै बजे हार्दिक बोकेर पसल जानुभयो बाबा।
‘के किन्ने त ?’ बाबाले सोध्नुभयो।
‘डेरी मिल्क सिल्क,’ हार्दिकले जवाफ दिए।
‘चकलेट नखाऊ न !’ बाबाले भन्नुभयो, ‘दाँत कीराले खान्छ !’
‘ह्या म ब्रस गरिहाल्छु नि !’ हार्दिकले जवाफ दिए, ‘ब्रस गरेपछि कीरा सिरा टाप कसिहाल्छ नि !’
‘हो हो,’ बाबाले भन्नुभयो, ‘तिम्रै कुरा ठूला नि !’
‘कहाँ जाने नि किन्न ?’ बाबाले सोध्नुभयो।
‘मंगल दाइकोमा,’ हार्दिकले जवाफ दिए।
‘त्यो टाढा छ,’ बाबाले भन्नुभयो, ‘अहिले यहीं माइला दाइकोमा किनौं। रात परिसक्यो।’
‘ह्या, उहीं जाउँm के !’ हार्दिकले भने, ‘मलाई मंगल दाइकोमा मात्रै मन पर्छ के !’
नजिक छाडेर टाढै लगे हार्दिकले। पसले पनि कोही मन पर्ने, कोही मन नपर्ने। नपर्ने ठाउँमा जाँदै नजाने।
१ सय ४० रूपैयाा पर्दाे रहेछ डेरी मिल्क सिल्कलाई। त्यति खर्च गराएर घर आए हार्दिक।
यसको झन्डै सात दिनपछि अफिसबाट घर आउनुभयो हार्दिकको बाबा। यस्तै गरी माग राखे। फेरि डेरी मिल्क सिल्क किन्न हार्दिकलाई लिएर जानुभयो बाबाले।
‘आ ! आज म बब्ली किन्ने हो,’ हार्दिकले हिंड्दाहिंड्दै बाटोमा भने।
‘हस् !’ बाबाले सहमति दिनुभयो।
बब्ली भनेको बाबालाई थाहा थिएन। आज चाहिं सस्तै पार्ने भयो केटोले भन्ने सोचेर पसल जानुभयो। उहाँले सोच्नुभयो— त्यस्तै १०/२० रूपैयाा पर्ला !
‘मंगल दाइ बब्ली दिस्यो त !’ हार्दिक आफैंले मागे।
मंगल दाइले बब्ली दिनुभयो।
‘कति हो यसको ?’ बाबाले सोध्नुभयो।
‘तीन सय बीस,’ मंगल दाइले मूल्य सुनाउनुभयो।
‘ओहो यो त महागो पो रहेछ हार्दिक !’ बाबाले भन्नुभयो।
‘बाबा यो चकलेट राम्रो छ कि छैन ?’ हार्दिकले आफ्नो कुरा माथि पार्ने उद्देश्यले प्रश्न राखे।
‘राम्रो छ। ठूलो पनि रहेछ अस्तिको भन्दा,’ बाबाले भन्नुभयो।
‘अनि राम्रो सामान महँगो हुँदैन त ?’ हार्दिकले प्रश्न गरे, ‘कि हुँदैन ?’
अब बोलिसक्नुभयो ? साहुजी पनि हाँसेको हाँस्यै भए।
‘हो हो,’ बाबाले भन्नुभयो, ‘राम्रो सामान महागो हुन्छ।’
हुन त बाबालाई सस्तो हुँदैमा सामान नराम्रा हुन्छन् भन्ने हुँदैन भन्न मन थियो। राम्रो सामान महागो त भई नै हाल्छ। कुरो सही हो। सस्तो पनि राम्रो हुन सक्छ। कुनै सामान ठाउँ अनुसार सस्तो र महँगो हुन्छन्। सस्तो र महागोभन्दा पनि त्यसको गुण चिनेर सामान किन्नुपर्छ भन्नुहुन्छ बाबा। तर, बाबाले केही भन्नुभएन। उनको यही कुराले घत परिरह्यो। अरु कुरा ओझेल परे।
सुरेशलाई यो कुरा पनि सुनाइदिनुभयो बाबाले। सुरेश हाँसेको हाँस्यै हुनुभयो।
(पत्रकार न्यौपानेको यही शनिवार २ बजे प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक हुने अभिभावक केन्द्रित पुस्तक स्कुल बेच्ने बालकको अंश)