हो आमा भनिदिनु बा'लाई
अनि ती पन्डित बाजेलाई
कि म छोरी बुहारी र तपाईँ
आमाहरू जस्तै पर सर्दछु भनेर!
म सर्नेछु त्याहाँसम्म 'पर’
जहाँ बा'हर्ले बनाएको र
तिमी आमाहरू एउटी नारी पात्र भैकन
चुपचाप अर्की नारी/छोरी/बुहारी माथि
पर सरेकै निहुँमा थुन्न बनाईएको कालकोठरी
अर्थात छाउगोठसम्म पुग्नुछ मलाई
अनि जोगाउनुछ सर्प र बिच्छीका
मुखबाट ती अबोध नारी पात्रहरू
अर्थात तिनै अविवाहित दिदिबहिनी
अनि बिबाहित काकी भाउजू बुहारीहरूलाई
अनि जोगाउनुछ ती यौन पिपासुहरूका पञ्जाबाट
ती बलात्कृत हुँदै गरेकी अबोध चेलीहरूको अस्मिता
अनि देखाउँनुछ एउटा उदाहरण बनेर समाजमा।
हो आमा छिट्टै पर सर्दैछु म!
अफ्सोच! नबग्लान् रजस्वला जनाउने
बिकारजन्य रगत मेरो पिसाब नलीको बाटो भएर
फेरि पनि म पर सरेकि नारीको आवरणमा हुनेछु आमा
कारण तिमी जस्तै रगतको आहालमा डुबेर
छटपटिनुछ मलाई!
अनि तल्लो पेटको दुखाई बाट
मुर्छित बनेकी बहिनिको पीडा बोध गर्नुछ मलाई।
त्यति मात्र कहाँ हो र पर सरेकै निहूँमा
उपल्लो र तल्लो बर्गको ब्याबहार गर्ने तिनै
बा अनि पन्डित बाहरूलाई छुने दुस्साहस गर्नुछ मैले
अझ त्यतिले मात्र नपुगेर यो समाजले पर्गेलेको
छाईछुई मेरो भगवानलाई सह्य छ/छैन।
मन्दिरमा गै पूजा अर्चना गर्नुछ मलाई।
जस्का लागि नारी जस्तै गरि पर सर्नुछ मलाई
हो आमा छिट्टै पर सर्दैछु म!
मुख्य कुरा एउटी पर सरेकी नारी पात्र माथि
गिद्दे नजर लगाएर वर सर्ने यौन पिपासु पुरुषहरू माथि
जाईलाग्नुछ मलाई!
अनि भत्काउनुछ ती छाउगोठ र तिनका भित्ताहरू
जो हाम्रै बा' अनि पन्डित बाहरूको अन्धविश्वासको
आड र भरोसामा ठडिई रहेछन्
अनि ती अबोध नारी पात्रहरूको
आँसु रगत र ज्यान माथि
एकसाथ खेलबाड गरिरहेछन्!
त्यसैले पनि म तिम्रो छोरो भैकन पनि
पर सर्नुछ मलाई!
हो आमा छिट्टै पर सर्दैछु म!
©उत्तम विचार ।