सरकार!
न मैले कसैको चोरेको छु,
न कसैलाई ठगेर खाएको छु,
न कसैको मन दुःखाएर हिँडेको छु,
न मलाई कोहीसँग लुक्नु छ,
न त कोहीसँग भागेर नै हिँड्नु छ,
तै पनि,
यो शहरमा किन मैले मुख छोपेर हिँड्नु परेको छ?
सरकार !
शहर झर्ने बेलामा बुबाले सम्झाउँदै भन्नुभएको थियो,
बाबु छोरा सधै ज्ञानी हुनु धेरै पढ्नू,
मान्छेलाई इज्जत गर्न सिक्नू,
आफूले इज्जत पाउने काम गर्नू,
जहिल्यै छाति फुकाएर हिँड्ने काम गर्नू,
समाजमा मुख छोपेर हिड्ने काम कहिल्यै नगर्नू ,
तर सरकार!
शहर आएपछि,
बुबाको सबै आशीर्वाद शिरोपर गर्दा पनि,
मैले मुख छोपेर हिँड्नु परेको छ,
यसर्थ यदि मेरो बुबाले देख्नु भयो भने,
म नालायक छोरा ठहरिने छु,
बुबाको नजरमा अपराधी देखिने छु,
त्यसैले सरकार!
मेरो मास्क खोलिदेऊ।
म बुबाले भने जस्तै अशल छोरा भएर हिँड्न चाहन्छु।
सरकार!
बालापनदेखि सँगै हुर्केको साथीले,
सँगै गुच्चा र लाप्पा खेलेको सहपाठीले,
मलाई ताते सिकाउने आफन्तले,
बिच शहरमा भेट्दा,
म चिनिनँ सक्दिनँ,
छेउबाटै हिँड्दा पनि,
एउटा अन्जानलाई झन उपेक्षा गर्दै हिँड्छ्न्,
बिना कसुर मैले आफूले आफैंलाई लुकाउनु परेको छ,
त्यसैले सरकार!
मेरो मास्क खोलिदेउ,
म उन्मुक्त भएर हिँड्न चाहन्छु।
सरकार!
मेरा पनि भावनाहरु छन्,
यौवनमा फूलेका अनगिन्ती रहरहरु छन्,
मनमा तरेली परेका आकाङ्क्षाहरु छन्,
छान्नुछ भीडबाट,
एउटा सुन्दर,निर्दोष र मायालु अनुहारलाई,
नियाल्नु छ,
सुन्दर युवतीका कलेजी ओठहरुलाई,
र महसुस गर्नुछ,
भर्खर मायामा परेकी प्रेमिकाको मादक मुस्कानलाई,
तर सरकार!
मेरो यौवनको सपनाको बाधक,
त्यही मास्क भएको छ,
त्यसैले सरकार,
यो शहरबाट तिनीहरु सबैको मास्क हटाईदेउ,
किनकि पूरा गर्नु छ मैले,
यौवनका सुन्दर सपनाहरुलाई,
र जोड्नुछ एउटा घरबार ।
सरकार !
तिमी कमिसन खाँदै सडक बनाउँछौ,
अनि म त्यही सडकमा तिम्रो चिप्लो कारले
उडाएको धुलो र धुवाँ खादै हिँड्नुपर्छ,
तिमी कमिसन कुम्ल्याउँदै घर बनाउँछौ,
अनि म त्यही तिम्रो घर अगाडि,
चेपारो बाटोमा निस्सासिदै दर्गुर्नु पर्छ,
हरेक बजेटमा तिमी गल्ती गर्छौ,
अनि म अपराधी झै,
मुख छोपेर हिड्नुपर्छ,
त्यसैले सरकार!
मेरो मास्क फुकाली देउ,
नत्र म पनि तिमीलाई,
मास्क लगाएर गल्लीमा लुक्दै हिँड्ने बनाईदिन्छु ।
- लिम्चुङबूङ गाउँपालिका बाराहा, उदयपुर ।