प्रेम गरिहेर्नुस् कति प्रेमिल छ
स्पर्श गरिहेर्नुस् कति कोमल छ
सहज नहोला, असहज छैन
प्रिय नहोला, अप्रिय छैन
उनीहरूले भने झैँ, अनावश्यक त छँदै छैन
हो जरूर,
अलिक बढ्ता मेहनत खोज्ला
लगाव, पसिना र लय खोज्ला
चिन्तन, सिर्जना र तर्क खोज्ला
तपाईँलाई त्यत्तिकै त के प्राप्त छ र दुनियाँमा हावा बाहेक !
***
तपाईँलाई थाहा छ ? तपाई गलत हुनुहुन्छ !
चिन्दै नचिनी
बुझ्दै नबुझी
यो के अनिष्ट यात्राको तयारी हो ?
संसार सोच्नुस्, बुझ्नुस्
अनि गर्नुस् , जे गर्नु छ
तर , गलत चाहिं न गर्नुस्
अरूले भनेको, सुनेको भरमा
यो के नाटक गरेको ?
दाताको हैन ख्वामित्
समयको कुरा सुन्नुस्
समयमा समय नचिने
सन्ततिले दुत्कार्लान्
र भोलि, पछुतो गर्नु सिवाय केहि बच्ने छैन
ब्यूँझनुस् ख्वामित्
ब्यूँझनुस् !
**
यो विज्ञानको समय
यो सूचना प्रविधिको समय
भन्छन् -
‘ज्ञानलाई ज्ञानले विस्थापित गर्छ
श्रमलाई प्रविधिले विस्थापित गर्छ
र, प्रविधिलाई ?
मात्रै, प्रविधिले बिस्थापित गर्छ !’
यो कस्तो बिस्थापित नाटक हो ख्वामित् ?
जहाँ, ज्ञान-विज्ञानको उच्च प्रविधि आफैं विस्थापितको चपेटामा छ !
एकै छिन् सोच्नुस्-
यौटा वैज्ञानिक के सोच्छ ?
यौटा प्राविधिक पाँच मिनेटमात्रै आफ्नो विषय बोल्दा के बोल्छ ?
***
यो कस्तो छानो हाल्ने सोच हो घरमा ?
घर नै कमजोर बनाएर
कहाँ, कता पठाउने विचार हो आफ्ना सन्तानहरूलाई
अर्ध, अपाङ्ग बनाएर
यो कतातिरको समृद्धिको यात्रा हो ?
बहुसंख्यकले , ‘हिसाब देख्दा पिसाब आउँछ’ भने रे भन्दैमा
हिसाबमाथि नै पिसाब फ़ेर्नहुन्थेन प्रभू ,
झोलाभरी नानाथरि किताब बोकाउने
अनि, हिसाबको किताब चाहिं खोई त ?
यो गलत पाठ कसले पढायो ?
कसले सम्झायो ख्वामित् हजुरलाई ?
‘न रहे बाँस, न बजे बाँसुरी!’
,पोखरा