त्यो पल रातो गुलाफको फूल उपहार पाउँदा
यस्तो लागेको थियो कि सारा जगत नै समेटेर
मलाई दिदैँछौ ।
मैले फूलसँग वासना मात्र
स्वीकारेकी थिईनँ
वासना प्राकृतिक नियम हो
स्वीकार्नु गल्ति थिएन पनि
समाधिसम्म पुगेका थियौं
फूलको कोमलतालाई टुक्रिन नदिन
फूलदानमा सजाई राखिएको थियो
त्यो रंगहरुसंग समाहित थिए मेरा आँखाहरु
जुन दिन फूल स्वीकारेको थिएँ
अपसकुन भो भनि भन्न लागे
देख्नेहरुका लागि रमिता भईदियो
तर हाम्रो बुझाईमा कविता थियो माया
जीवनको सर्वोत्कृष्ट दिन भन्छु म
प्रकृतिको विरोधाभाष गरिनँ मैले
त्यसैले हामी खुशी थियौं ।
त्यसदिन दुःख लाग्यो जुन दिन
फुलदानमा फूल ओईली सकेको थियो
पानी फेर्दै गरेँ तर चाहनाले मात्र
फेरि गुलाफ हाँस्न सकेन
रंगको बेजोड मुस्कान हराई सकेको थियो
बाँकि थिए त अब सुकेका फूल मात्र
जवानिको अनुभूतिसँगै म
बालक पनि बनेको थिएँ
निश्चल भाव थियो हामी दुईबीच
संगसँगै हामी मायाको परिभाषा बुझ्दै थियौं
हिजो अनैतिक भन्ने भिडहरु
आज नियति मात्र हो भन्छन्
कहानी आफ्नो लेख्दा र भन्दा
दुई भाषा बोलि दिन्छन्
आफैंमा प्रश्न थिएन उत्तर कहाँ हुँदो हो
शायद हामी त्यहीँ चुक्यौं
प्रेम त बग्ने भावना हो
न तिमीले रोक्न सक्छौ न मैले नै
त्यो त अविरल बगिरहन्छ न टुंगिन्छ नै
त्यो प्रेमबाट श्रीजित समिपतालाई मात्र पनि
म अमर प्रेम भन्छु
जहाँ अन्तरमनबाट संगीतको जन्म भएको थियो
हो भौतिक रुपमा छैनौं आज
डोलि नउठ्दै अर्थी उठेको थियो
तिम्रो अन्तिम विदाईमा त्यही
मायाको प्रतिक त्यही गुलाफको सुकेका
पातहरु किताबबाट केही पत्र निकाली
तिमीलाई चढाएको थिएँ
नलाएको सिन्दूर पुछेको थिएँ
नलाएको चूरा फुटाएको थिएँ
तिमी म भित्र मेरो स्मृतिहरुमा बाँचेका छौ
आज यही समूद्रमा तिम्रो आभाष गरेकी छु
हावाले सन्देश ल्याएको छ तिम्रो
सूर्यको किरण कणकणमा तिमी
भेटेकी छु
मसँग बाँचिरहेका छौ तिमी
मेरो अन्तिम बिदाईको लागि पनि
त्यही सुकेको फूल अलिकति साँचेर राखेकी छु
हाम्रो भेट फेरि त्यहाँ हुँदा रातो गुलाफको
फूल लिएर आउनु है!