बर्खाको समय चारैतिर रोपाईँको चहलपहल थियो। नहर र कुलोहरूमा सलल पानी बगेको देख्दा निकै आकर्षक लाग्थ्यो। खेतका फाँटहरूमा रोपारहरू र हलीबाउसेको लहर थियो। सबैलाई खेती लगाउने चटारो। बादल लागेर आकाश डम्म ढाकिएको थियो। गाउँमा सबैजना मेलापातका लागि हस्याङफस्याङ गर्दै दौडिएका थिए। मानु खाएर मुरी उब्जाउनी समय रात पनि किन पर्छ भन्ने लाग्थ्यो किसानहरूलाई। त्यो दिन त्यस्तै महत्वपूर्ण दिन बनेको थियो हाम्रो परिवारलाई किनकि हाम्रो रोपाईँको दिन थियो।
आमा बिहानैदेखि व्यस्त हुनुहुन्थ्यो रोपाइँको तयारीका लागि। खाना खाइवरी खेतालाहरूलाई काम लगाउँदै हुनुहुन्थ्यो। म पनि खाना खाएर आफूले सक्दो सहयोग गर्न तयार थिएँ।
त्यो दिन पहिलाझैँ त्यति खाना रूचेन। मुख तम्तमाउँदो भएको थियो। तल्लो पेट बेलाबेलामा कटक्क काट्ने गथ्र्यो। सोचेँ, खोइ खानामा गडबडि भयो कि। बाथरुम छिरेँ, अचानक पिसाबसँगै रातो पदार्थ पनि आयो। त्यसलाई देखेर नराम्रोसँग तर्सेँ पनि। के गरूँ, कसो गरूँ, कसलाई भनूँ, बाहिर निस्कन हुने हो वा होइन। निस्केर पनि कसलाई भन्नि ? थोरै डर अनि धेरै लाज मिसिएको भावमा बाहिर निस्केँ अनि दौडदै दिदी छेउ पुगेँ। अप्रत्यासित मेरो अनुहार देखेर दिदी छक्क पर्नुभयो। केही लजाएजस्तै भावमा बोलेँ–दिदी म त ...मिन्स भएँ जस्तो छ।
‘हैन के भन्छे यो? पख् है म आमालाई भन्छु,’ दिदीले आमालाई के भन्नुभयो कुन्नि, आमा हतारिँदै खेतको काम छाडेर मेरो छेउ आउनुभयो अनि च्याप्प मेरो पाखुरामा समातेर पल्लो घरतिर लानुभयो। पल्लो घरको नजिकै गोठ थियो। तल गाईवस्तु बाँधिएका थिए माथि तिनैका खानेकुरा घाँसपराल। आमाले मलाई त्यहीँ उक्लन लगाउनुभयो।
‘आज दिनभर यहीँ लुकेर बस अनि साँझ अर्को घर जाने। तिमीले अब बाइस दिन लुकेर बस्नुपर्छ,’ हतारमै यति भनि मलाई जबरजस्ती गोठमा उकालेर आमा आफ्नो कामतिर लाग्नुभयो। वरिपरि पराल थियो बीचमा बोरा ओछ्याएर म बसेँ भरेको पर्खाइमा। मनमा नानाथरि कुरा खेल्न थाले। म पनि नछुने भएँ है, अब मलाई कसैले कन्ने भन्दैनन्। कन्ने मानेर टीका पनि लाउँदैनन् भन्ने एक प्रकारको पीरको बीज उम्रियो म भित्र। आफू पाँच वर्षकी हुँदा सानीमाकी छोरी लीला दिदीको बिहेमा दुलही अन्माउने बेलामा कन्नेलाई अघि लाउनुपर्छ भनेर आफूलाई टीका लगाएर हातमा दक्षिणा र प्रसादको टपरी दिएर जग्गे घुम्न लगाएका अनि अब तिमी पनि दुलहीसँगै जानुपर्छ भनेर अगाडि हिँड्न लगाउँदा डाँको छोडेर रोएको घटना आँखा अघिल्तिर झल्झली आयो।
कन्ने भन्दा नि अब त म सन्तान जन्माउन सक्ने क्षमताको सिँढी पो उक्लन लागेँ त। उफ्! मेरो बालापन् यसरी पो टाढिँदै छ मबाट। बगेको खोला नफर्केजस्तो। घरकी सबैभन्दा कान्छी भए पनि उमेरको तह पार गर्दै गर्दा मलाई अब त्यो रुपमा कहाँ हेरिएला र ? अब त मेरो बिहेको लागि प्रस्ताव आउने छ। पल्लो घरकी लक्ष्मी दिदीलाई पनि महिनावारी भएको ३/४ वर्षपछि नै बिहेको प्रस्ताव आउन थालेको हल्ला गाउँभरि सनसनी फिँजिएको हो। हुन पनि बीस वर्ष पनि नलाग्दै बिहे भइहाल्यो अनि बिहे गरेको सात महिनापछि त के छोपेर ल्याइन पछ्यौराभित्र भनेको त भारी पेट पो रहेछ। कस्तो सरम मानेकी नि त्यतिबेला।
उफ्! म पनि कति चाहिँदो नचाहिँदो सोच्न पुगेकी। एउटी नारीले भोग्नुपर्ने यावत प्राकृतिक नियमहरू भोग गर्नु पर्ने समयको थालनी भयो आजैबाट। त्यसमा पनि यति सारो दुःखसँग दिन काट्नु पर्ने। पहिलो पटक महिनावारी भएकोले मन अमिलियो। आँखा रसाएर डीलबाट आँशुको नदि सुलुलु बग्न थाल्यो। त्यो दिनभर म मज्जाले रोएँ। किन रोएकी नरो भनेर सम्झाउने पनि कोही भएन। आफैँले मन सम्झाउनै सकिनँ। बिहानै खाना खाएको भोकले पेट कल्याककुलुक भएको थियो। सबै काममा व्यस्त कसलाई मेरो बारेमा सोच्ने फुर्सद। त्यो दिन त्यसै बित्यो।
झमक्क रात परेपछि आमा र दिदी आउनुभयो अनि मलाई लिएर अझ अलि परको घरमा जानुभयो। हामी सानिमा भन्थ्यौँ उहाँलाई। उहाँले आमालाई दिदी भनेकाले। धानको भकारी राख्ने कोठाको छेउमा एउटा सानो खाट रहेछ जसोतसो एकजना सुत्न मिल्ने। त्यही ठाउँ देखाउनु भयो सानिमाले। त्यो कोठा हेरेर साह्रै नरमाइलो लाग्यो। एउटा ठुलै अपराध गरेर सजाय पाएजस्तो पनि अनुभूत भयो। हरे ! त्यस्तो कोठामा कसरी बाइस दिन गुजार्ने होला एक्लै एक्लै।
आमाले मलाई छाडेर जानुभयो ,‘ल, सानू राम्रोसँग बस है’, भन्दै।
मेरो मन भारी भएर आयो। म बेस्सरी रोएँ। महिनावारी भएकोले भन्दा नि आमाले छाडेर जान लाग्नुभएको पीरले रोएँ। ‘किन रोएकी नानी ? हामी छँदै छौँ नि ? केही कठीन भए हामीलाई भन है अब।’
सानिमाले सान्त्वनाका शब्द बर्साउनुभयो तर त्यसले मेरो मन भिज्नै सकेन। तल्लो पेट कटक्क कटक्क काटिरहेको थियो। यस्तो भयो भनेर भन्न पनि लाजले गर्दा सकिरहेकी थिइनँ। बेलुकी थोरै खाना खाएर म विस्तारामा पल्टेँ। आजसम्म एक रात घर छाडेर बाहिर आफन्तको घरमा समेत नबसेकी म कसरी एक्लै यतिका रात कटाउने होला भन्ने पीरले मन एक तमासाको भयो। रगत लुकाउन बसेकी हुँ वा आफूलाई लुकाउन, जे भए पनि दुःख लाग्यो। सजिलैसँग सुलुक्क आएको रातो रङजस्तै तत्वलाई लुकाउन त्यस्तो कष्ट सहनु परेको थियो। त्यसले मेरो बालापन पनि खोसेको थियो मबाट।
खाना खाएर खाटमा पल्टेको पनि निकै बेर भइसकेको थियो तर निद्रा भने पटक्कै लागेन, विस्तारा गतिलो भए पो! हिजोसम्म छेउमा सुत्न पनि डराएर दिदी र आमाका बीचमा घुस्थेँ अब आजबाट एक्लै परेँ। कस्ले चलायो यो रित ? मनमनै रिस पनि उठेर आयो अनि अनेक तर्कनाहरू पानीको छालझैँ उर्लिरहे। रात सुनसान थियो। आकाशतर्फ हेरेँ चन्द्रमा झलमल्ल उदाइरहेका थिए। रातलाई प्रेम गर्ने ताराहरू आकाशमा चम्किरहेका थिए। अलि पर धानखेतमा भ्यागुताहरू ट्वारट्वार कराइरहेका थिए त्यस्तै बाँसको झ्याङमा झ्याउकिरीको सङ्गीतमय धून सुनिन्थ्यो घरिघरि। झ्यालबाट यस्सो बाहिर चिहाएँ रातको पहिलो प्रहर कटिसकेको थियो। उज्यालो पर्खिरहेको थियो रातले पनि मैलेजस्तै गरेर। गोठमा गाईवस्तुले घाँसपराल चपाएको टड्कारै सुनिन्थ्यो। तिनको खस्राकखुस्रुक आवाजले अलिअलि लाग्न थालेको निद्रा पनि कता भाग्यो भाग्यो। मेरो खाट नजिकै सानो झ्याल थियो त्यसमा अनौठो छायाँ देखेँ।मन अनौठोसँग तस्र्यो। डरले जीउ लगलगी काँप्यो। चिच्याउने बल पनि आएन। पछि साहस बटुलेर यसो हेरेकी त बिरालो लुसुलुसु हिँडिरहेको रहेछ केही ढुक्क भयो।
लोग्नेमान्छे र झुल्केको घाम हेर्नु हुँदैन तीन दिनसम्म भनेर झिसमिसेमै नुहाउन लानुहुन्थ्यो शारदा दिदीले मलाई। मलाई लोग्नेमान्छे भन्दा नि घामको उज्यालो हेर्न निकै रहर लाग्थ्यो। लोग्नेमान्छेको नाममा त्यस घरमा बुढा सानाबा हुनुन्थ्यो। उहाँलाई हेर्ने उत्कण्ठा त्यति लागेन तर लोग्नेमान्छेलाई हेर्यो भने के हुन्छ होला ? कि उनीहरूको सर्वनाश नै पो हुने हो वा बिरामी परिने हो कि आफैँ? यीनै प्रश्नहरूले मलाई नराम्ररी कोपर्न थाले। आफ्नी छोरी शारदालाई जस्तै माया गर्नुहुन्थ्यो सानिमाले मलाई नत्र म कसरी रहन सक्थेँ होला र! एवम् रितले मेरा दिनहरू जसोतसो कट्दै गए। नकटेर पनि कहाँ सुख थियो र, मैले बाइस दिन कटाउनु पर्ने थियो जसरी पनि। घरको खुब याद आउँथ्यो। आमा र दिदी बेलाबेलामा भेट्न आए पनि त्यो घरको हरेक चिजको सम्झनाले मन तड्पाइराख्थ्यो। कहिले गएर त्यो विस्तारा सुम्सुम्याऊँ, घरका हरेक चिजलाई नियालूँ अनि रुखमा चढेर अम्बा र आँप टिपेर खाऊँजस्तो हुन्थ्यो।
आजभोलि गर्दागर्दै मेरो पानी छुने दिन नजिकै आउँदै थियो। तीन, पाँच, सात यस्तै यस्तै विजोर दिनमा पूरा शरीर नुहाएपछि अलिअलि गरेर चोखिँदै गइँदो रहेछ त्यसैले म तिनै विजोर दिनको पर्खाइमा हुन्थेँ। पछिल्ला दिनहरूमा त मैले बाहिरै अलक्क बसेर, खाजा, खाना आदि खान र कुराकानी गर्न छुट पाइसकेकी थिएँ। विद्यालय पनि बर्खेबिदा सकिएर खुलिसकेको थियो। विद्यालयको सम्झना त्यत्तिकै आउँथ्यो। साथीहरूले सोचे होलान् किन आइन भनेर।
अहिलेकोजस्तो मोबाइलको सुबिधा हुँदो हो त म सबैलाई खबर गर्थेँ। साथीहरू भेट्न पनि आउँथे होलान्। भोलिपल्ट पानी छुने दिन अर्थात म छुइ भएको बाइस दिन पूरा हुने। मन अलि थामिएको थियो। अब त त्यस्तैमा पनि रमाउन अभ्यस्त भइसकेकी थिएँ। त्यो कोठा, त्यो विस्तारा अनि त्यो परिवेश नै प्रिय लाग्न थालिसकेको थियो। मनमा अनेक कुराहरू बादलझैँ मडारिएका थिए। भोलि घर गएपछि पर्सिदेखि विद्यालय जानुपर्छ। साथीहरूलाई त भनुँला तर गुरुहरूलाई कसरी भन्ने, मेरो मासिकधर्म सुरु भएकोले म विद्यालय आउन सकिनँ भनेर। मन आत्तियो कल्पनामै भए पनि। हुन त गुरुहरूलाई भन्न पनि के गारो तिनका छोरीबुहारीहरू पनि त छुइ हुन्छन् होला क्यारे, मन अलि दरो भएर आयो।
लोग्नेमान्छे र झुल्केको घाम हेर्नु हुँदैन तीन दिनसम्म भनेर झिसमिसेमै नुहाउँन लानुहुन्थ्यो दिदीले मलाई। मलाई लोग्नेमान्छे भन्दा नि घामको उज्यालो हेर्न निकै रहर लाग्थ्यो। लोग्नेमान्छेलाई हेह्रो भने के हुन्छ होला? कि उनीहरूको सर्वनाश नै पो हुने हो वा बिरामी परिने हो कि आफैं?
‘पानी छुने दिन नयाँ लुगा फेर्नुपर्छ भनेर फ्रक किनेर ल्याएकी छु’, आमाले भन्नुभयो। अब मलाई पानी छुने दिनभन्दा नि नयाँ लुगा लाउने खुसीले मन उचाल्यो। आज एक्काइस दिन कटेपछि त भोलि बिहानै नुहाएर पानी छोइहाल्छु। साँच्चै त्यो पानी छुवाइ कस्तो हुन्छ होला? मैले सुरुमा धाराको, गाग्राको, कचौराको कहाँको पानी कसरी छुने होला? तातो पानी कि चिसो पानी के छुने होला? पानी छोएपछि मेरो शरीरमा के परिवर्तन हुन्छ र म चोखिएको ठहर्छु? यो सब हेर्नु थियो मैले भोलि त्यसैले पनि भोलिको पर्खाइले मलाई झन् छटपटी बनाएको थियो। भोलिको प्रतीक्षामा मन भुलिरहेको थियो। घर गएर दाइको मुख हेरेर कसरी कुरा गर्ने होला भनेर भित्रभित्रै लाजले भुतुक्क पनि भएकी थिएँ। वरिपरि छरछिमेकीले पनि जिस्क्याउने होलान् फेरि।
यस्तै सोचाइमा डुबिरहेकी थिएँ। एक्कासी आकाश बादलीएझैँ मनभित्र अन्धकार छायो। शरीरभरि काँडा भरर उम्रिए। उठ्दा खुट्टा थरर काँपे। भोलि घर जाने खुसी असिनाझैँ पानी पानी भएर पग्लियो। आफू उभिएको जमिन भासिएझैँ भयो। वरिपरि तिरमिर देख्न थालेँ। मन थामिनै नसक्ने गरी आत्तियो। मेरो नयाँ लुगा लगाउने अनि घर जाने खुसी सबै बादलझैँ उडेर कता पुग्यो कता! तुरुन्त आमालाई बोलाउन लगाएँ, आमा हतारिँदै आउनुभयो।
‘आमा! म फेरि छुइ भएँ,’ रूँदै भनेँ।
‘उफ्! अब फेरि पन्ध्र दिन बस्नुपर्ने भयो।’ आमाले दिक्क मानेझैँ गरी सुस्केरा छोड्दै बोल्नुभयो।
आमालाई भन्दा बढी त मलाई नै दिक्क लागेको थियो नि तर के गर्नु भनेर भएन। कसले चलायो यस्तो वाइयात चलन ? संसारका विकसित मुलुकका नारीहरूले यस्तो केही बार्नु नपर्ने तर हाम्रो देशमा भने बाइस बाइस दिनसम्म यसरी कष्टपूर्वक दिन गुजार्नु पर्ने आखिर किन ? के फरक छ उनीहरूको र हाम्रो शारीरिक संरचनामा ? चिन्ता र रिस एकैचोटी उर्लेर आए। त्यति नै बेला स्वास्थ्यशिक्षा पढाउने गुरूले भन्नुभएको कुरा स्मृति भयो ,“महिनावारी हुँदा छोरीमान्छेको शरीरबाट दूषित रगत बाहिर निस्कन्छ त्यसैले छोरीमान्छेले त्यतिबेला अलग्गै बस्दा, भान्सा काम नगर्दा खानेकुराहरू नछुँदा राम्रो हुन्छ। फेरि त्यतिबेला शरीर अलि कमजोर पनि हुने भएकोले जतिसक्दो आराम गर्नु बेस हुन्छ।” हो यो कुरा विज्ञानसम्वत भए पनि दुई ÷चार दिन पो हो यतिका दिनसम्म त अलग्गै बस्नु जरूरत छैन नि !
मैले सिमोन द बोउवारको द सेकेण्ड सेक्स पुस्तकमा लेखिएको एउटा कुरा सम्झन पुगेँ। आज पनि केही भारतीयहरू आफ्नो नौकाको अघिल्लो भागमा प्रयुक्त हुने काठको केही अंश नारीको मासिक धर्मको रजमा डुबाउँछन् ताकि उनीहरूको नाबमा नदिका दैत्यहरूसँग सङ्घर्ष गर्ने शक्ति आओस्। तर हाम्रोजस्तो पुरूषप्रधान समाजले नारीको यस रजमा केबल अशुभ पैदा गर्ने शक्तिहरू मात्र पाएका हुन्छन्। उनीहरू रजोधर्म भएकी नारीले अनाज स्पर्श गरी भने अनाज नष्ट हुन्छ, बगैँचामा जानुहुन्न उजाड हुन्छ, माहुरीहरू मर्छन्, रक्सी अमिलो हुन्छ, दूध फाट्छजस्ता अनेक कुरा गरेर नारीशक्तिलाई क्षतविक्षत गर्ने धृष्टता गर्छन्। यो सुन्दा त मलाई आफू एक्काइसौँ शताब्दीमा जन्मिएकी नारी हुँ भन्न पनि लाज लागेर आयो। परिवर्तन आफैँबाट सुरू गर्नुपर्छ भने तापनि मलाई त्यति ठूलो आँट आएन कि म यो संस्कारलाई मान्दिनँ भन्न।
कसले चलायो यस्तो वाइयात चलन? संसारका विकसित मुलुकका नारीहरूले यस्तो केही बार्नु नपर्ने तर हाम्रो देशमा भने बाइस बाइस दिनसम्म यसरी कष्टपूर्वक दिन गुजार्नु पर्ने, आखिर किन? के फरक छ उनीहरूको र हाम्रो शारीरिक संरचनामा?
त्यसैले त म फेरि त्यही बन्द कोठामा थन्किएँ उस्तै कष्टपूर्वक। मेरा सबै खुसीहरू थन्किए उठ्नै नसक्ने गरेर। खाटमा डङ्ग्रङ पल्टिएँ। बेस्सरी चिच्याएर रोऊँ रोऊँ लाग्यो। रुने आँसु पनि आँखाकै डिलमा बसेका रहेछन्। आमाले पीर मान्नुहोला भनेर उहाँ निस्केपछि एक्लै रोएँ आनन्दसँग किनकी मलाई सम्झाउने कोही थिएनन् त्यतिबेला।
मासिकधर्ममा प्रवेश गरेपछि त आफ्नै अवयवहरू नौला र अनौठा लाग्ने रहेछन्। कता कता आफैँलाई काउकुती लगाएझैँ लाग्ने। दिन प्रतिदिन तिनमा चढ्दै गएको पालुवा र छाएको नवीनताले मलाई चकित पाथ्र्यो। कतै दुखेजस्तो कतै असजिलो लागेजस्तो लाग्ने सृष्टिका संवाहक देखेर म आफैँ चकित हुन्थेँ। अब मलाई अरूभन्दा पुष्टिँदै गएको शरीर र आफ्नै अङ्गप्रत्यङगप्रति चासो बढ्न थालिसकेको थियो। अब म अरुसँग बोल्दा पनि पहिलेभन्दा अलि सङ्कोच मान्ने भएकी थिएँ। हिँड्दाखेरि नि पहिलेजस्तो जताततै उफ्रँदै, बढो फुरफुर हुँदै बेढङ्गको चालले होइन आफूलाई समाल्दै निकै संयमित भई हिँड्न थालेकी थिएँ।
“आमा भन्नुहुन्थ्यो, सानू अब तँ ठूली भइस् आफूलाई समाल्नु पर्छ ,बोल्दा विचार पुर्याउनु पर्छ नत्र मान्छेले राम्रो मान्दैनन्। हुर्केकी छोरी बेलुकी साँझ परेपछि घरबाहिर निस्कनु हुँदैन जे पनि हुन सक्छ। ”
तर मलाई लाग्ने गथ्र्यो, के हो त्यो जे पनि हुनसक्छ भनेको ? कसरी हुनसक्छ जे पनि ? छोरीले मात्रै किन यतिबिधि समालिनु पर्ने ? किन बाहिर निस्कन नहुने ? किन सबै कुरामा विचार पुर्याउनु पर्ने ? छोरीमान्छेलाई बिगार्ने छोरामान्छेले त जे गरे पनि हुने, आखिर शारीरिक संरचना बाहेक अरू के फरक छ छोरा र छोरीमा ? किन छोरीलाई मात्र यसरी डसिन्छ ? समाजमा विद्यमान यावत् कुरीतिहरूलाई जरैदेखि उखेलेर फाल्ने जोस उर्लेर आउँथ्थो भित्रैदेखि। आफ्नै मनले प्रस्ताव उठाउँथ्यो अनि निर्णय पनि। सामाजिक, मनोवैज्ञानिक शारीरिक आदि रुपबाट आफूमा आएको परिवर्तनले मलाई परिपक्क बनाउँदै लगेको अनुभूत हुन्थ्यो।