१. समय
बलवान् लाग्थ्यो समय
खोज्थेँ समयको गह्रा गह्रामा खुसी
समयलाई सबथोक ठान्थेँ
तर समय !
तैँले त
सुख च्यातिस्
रोग दिइस्, भोक दिइस्, शोक दिइस्
मायको अँगालो र
आमाको काखसम्म छोडिनस्
खोसिस्, लुटिस् बारबार बारबार
मन हल्लाइस्, घर भत्काइस्,
गाउँ सल्काइस्, परिचय फेराइस्
तैँले
विरक्तिँदा सान्त्वना दिएकै होस्
बेलाबखत टालटुल गरेकै होस्
पलभरलाई राहत दिएर
आहत छोपेको पनि होस्
तर
एकपल एक जिन्दगी हुने रहेनछ
बाँकी हरपल दौडाइरहिस्
पछाडिबाट कोर्रा हानेर
मोड कुना फुटपाथहरूमा
मकल बोकाएर मकै बेचाइस्
मैलो पानीलाई
मिनिरल वाटर बनाएर बेचाइस्
विष छर्केको साग र
दूषित फलफूल बेचाइस्
अदालत लगेर न्याय अनि
अफिसहरूमा इमान बेचाइस्
बेचाइस् होटेल बारहरूमा अस्मिता
बनाइस् सर्टिफिकेट डिग्री मेडलहरू खोस्टा
समय !
तैँले भनेको मानेँ
तर तैँले
दिइस् कहिल्यै नपुग्ने गन्तव्य
दिइस् साकार नहुने सपना
दिइस् अन्याय बोक्ने छाती
समय, ए समय !
तर मैले पनि
गन्तव्य देख्न थालेको छु अब
बिपना चिन्न थालेको छु अब
सहन छोडेको छु अन्याय
आकाश हेरेर मुस्कुराउन सिकेको छु
होसियार !
ध्वस्त पार्न सक्छु म
पलपल तैँले रचेको विभेदकारी सृष्टि
नाश गर्न सक्छु तेरा सौन्दर्य
मलाई झुन्ड्याएको त्यो समयको रूखमा
तँ ‘यो’ समयलाई झुन्ड्याउन सक्छु म
उलटपुलट पार्न सक्छु तँलाई
तर पनि तँ जस्तै हुँदैनन् भुइँमान्छेहरू !
समय, ए समय !
तँलाई चलाउन खोज्थेँ म
तर तैँले चलाएको रहेछस्
मान्छेहरूलाई ।
हो, तैँले बुझिनस्
पसिना, सपना र गन्तव्यको मूल्य ।
२.पानी र म
पहरा छिचोल्दै
पहाडको छाती भएर
तराईको पैताला भिजाउन
जसरी बग्छ पानी
त्यसैगरी म
हिमालीको विश्वास बोकेर
पहाडीको विचार बाँड्दै
मधेसीको उद्देश्य रोप्न निरन्तर हिँड्दै छु
आँखाबाट बग्दा आँसु
जूनबाट झर्दा शीत
बलेसीमा चुहुँदा तप्कना
पानीका अनेक रङ हुन्छन्
अनेक आकार
त्यस्तै मेरा पनि
अनेक रहर र चाहनाहरू छन्
समयको डोकोमा
रहर र चाहनालाई बोक्दै
हर प्रहरमा लम्किँदै छु
कर्कलाको पातमा
थोपा थोपा अडेको पानी
त्यही पानी हो
बादलको आँचलमा बेरिएको
बालकको आँखामा अडिएको
पानी प्राण हो, जीवन हो
मेरा सपनाले पनि
यहाँ हरेक प्राणीको निद्रालाई ब्यूँझाउँछ
जसरी पानी
हिउँ बन्छ, बाफ बन्छ
त्यसैगरी म
लौरो बन्छु–
बेसहाराहरूका लागि
घाम बन्छु–
दुःखी दरिद्रहरूका निम्ति
जून बन्छु–
वृद्धहरूका खातिर
पानीले सधैँ
निरन्तरताको पाठ सिकाउँछ
विश्वासको किनारा देखाउँछ
मैले पनि
अनुशासनको, दर्शनको,
भूगोलको, संस्कारको
सिकाउँदै पाठ
देखाउँछु भरोसाको गन्तव्य
नदी बनेर बग्छ पानी
म नदीकै गतिमा विकास बनेर बग्छु
पानी तालको आकृतिमा बस्छ
म त्यहीँ तालमा हाक्छु जीवनको डुङ्गा
शान्त सागर भइदिन्छ पानी
त्यही सागरमा कोर्छु शान्तिको चित्र ।