आफ्नै ‘घर’ खोज्यौ तिमीले, देह त्याग्नुभन्दा पहिले,
छाति भित्र ‘माटो’ बोकी गगन तिर लाग्यौ अहिले,
आफ्नै माटो प्यारो तिमीलाई, सिस्नेधारा सुधा सरी,
स्नेह दियौं ‘आँगनी’लाई, रोप्यौ फूल सञ्जिवनी।
झुपडीमा फर्कि आउँदा, स्वर्ग तिमीले यही देख्यौ,
चौतारीको पवन भित्र, स्नेही स्पर्श तिमीले भेट्यौ,
गण्डकीको पानी भित्र, निर्मल जीवन तिमीले दैख्यौ,
देउरालीको ‘पाती’ भित्र, आफ्नै ‘छाती’ तिमीले देख्यौ ।
सृष्टि गर्ने शिल्पी जस्तै, कैची बोकी खटिईरह्यौ,
जिन्दगीको सबै हिस्सा, प्राण भर्न जुटीरह्यौ,
तिमी जस्ता सपूत पाउँदा मुलुक हाँस्यो सधै भरी,
मलम पट्टी बन्यौ तिमी, छोप्यौ पीडा सधै भरी।
अप्ठ्यारोमा हामी पर्दा, थुत्यौ मृत्यु मुखबाट,
लाखौ बाँचे, तिमीले गर्दा, तिम्रै कुशल शिल्पीबाट,
आमाको कोख रित्तिएन तिमी यहाँ बाँचुन्जेल,
बन्न पाएनन् कोही विधुवा, तिम्रो हात चलुन्जेल।
तिम्रो हात पर्दा यहाँ, जिउन पाउँथे लाखौ देह,
तिम्रो स्नेह बृष्टि हुँदा, प्रेम सागर बग्थ्यो जब,
पापी रैछौ चित्रगुप्त, उल्टो हिसाब गर्यो किन?
सृष्टिको त्यो सुन्दर फूल, अनायासै टिप्यौ किन?
टुहुरो झै बन्यौ आज, कालो रात आयो किन?
सेवा गर्ने लौह पुरुष, हामीबाट चुड्यौ किन?
जीवन जगत सबै झेली, राम्रा मान्छे टिप्यौ किन?
पवित्र त्यो आत्मालाई हामीबाट छिन्यौ किन?
तिम्री प्यारी सधै भरी तिम्रो बाटो हेरिरैछिन्,
लालाबाला आँगनीमा, बात्सल्यता खोजिरैछन,
मिल्छ भने अर्को जुनी, यही माटोमा लेउ फेरि,
पर्खेका छन् आर्त यहाँ, स्नेह देउ सधै भरी।
प्रशिक्षक
स्वास्थ्य बिज्ञान बिभाग
नर्थ अमेरिकन कलेज,
टोरन्टो, क्यानाडा