सबै मानिसको एउटै चाहना हुन्छ–निरोगी र आनन्दित रहने। मेरो चाहना पनि त्यही हो। वास्तवमा निरोगी मान्छे नै सुखी बन्छ।
निरोगी हुने चाहना हुँदाहुँदै पनि बच्चाबेलादेखि नै ममा टाउको दुख्ने समस्या थियो। ९–१० वर्षको उमेरदेखि नै चर्को टाउको दुख्थ्यो। सधैं ओखती खानु पथ्र्यो।
त्यसैले सानैदेखि धेरै अस्पताल चहारें। डाक्टरहरु माइग्रेन र मानसिक समस्याले दुखेको भन्थे। पछिपछि त ‘तिम्रो बच्चादेखिको जीर्ण रोग अब निको हुँदैन’ समेत
भन्नथाले। दुखाईले कतै जान मिल्दैन थियो। घाम त देख्नै नहुने। पढाइमा समेत असर पर्दै गयो। म निराश हुन थालें। औषधिको पोको र निराशाले झन् बल्झिन थाल्यो दुखाई। दुखाईले अनुहार सधैं अँध्यारो हुन्थ्यो।
त्यसैबेला साथी सरितासँग भेट भयो। उनले निरोगधाम जान सल्लाह दिइन्।
म प्राकृतिक स्वास्थ्य परामर्श लिन २०६४ सालमा निरोगधाम आएको थिएँ। त्यो बेला डा. उमेश श्रेष्ठले एउटा फाराम भरेर खानपान मिलाउन सुझाब दिनुभयो।
त्यत्रो औषधिले निको नभएको समस्या खानपान मिलाएर के निको होला भन्ने लाग्यो। सुरुका केही महिना मैले उहाँका कुरालाई महत्व दिइन।
समस्या झन् बल्झियो। फेरी प्रकृति प्रेमी समूह (निरोगधाम) मा पुगें। र, त्यहाँको सल्लाह अनुुसार खाना र पानी पिउने विधि मिलाउँदै जाँदा टाउको दुखाई कम हुँदै गयो। कतै गएर निको नभएको टाउको दुख्ने समस्या, कुनै पनि औषधिले निको नभएको रोग खाना र पानी मिलाउँदा हप्ता दिनमै कम हँुदै गयो र विस्तारै निको भयो।
निरोगधाम पुगेपछि थाहा पाएँ कुनै पनि औषधिले रोग निको नहुने रहेछ।
वास्तबमा हामीले खाएको आहार नमिलेर नै शरीरमा अधिकांस स्वास्थ्य समस्या आउँदो रहेछ। त्यसैगरी हामीले शरीर हल्लाएर गर्ने गतिविधि (विहार) नमिलेर पनि धेरै समस्या आउने रहेछ र सबैभन्दा ठूलो कुरा विचार नमिले रोगले गाँज्दो रहेछ। यी तीन चिज मिलेमा उपचार त शरीर आफैंले गर्ने रहेछ भन्ने थाहा पाएँ।
मानिस निरोगी र आनन्दित हुने एउटै शुत्र उचित आहार, विहार र विचार हो भन्ने सत्य ज्ञान निरोगधामबाट थाहा पाएपछि आफु जस्तै समस्या भएकालाई यो सरल र सही कुरा समाजमा फैलाउने निर्णय गरें। अनि निरोगधाममै बसेर काम गर्न थालें।
अनि सुरु भयो मेरो निरोग आनन्दमय हाइकिङ जिन्दगी।
सुरुका दिनमा मलाई उकाली ओराली गर्दा डर लाग्थ्यो। घाममा हिँड्न गाह्रो हुन्थ्यो। अहिले जतिसुकै चर्को घाम र उकाली–ओरालीमा पनि हिँड्न सक्ने भएकी छु। हिँड्दा हिँड्दै ममा आत्मबल र हिम्मत बढ्दै गयो।
म सानोछँदा डाक्टर बन्न चाहन्थें तर टाउको दुखाईले त्यो सपना पुरा हुन
सकेन। आज, प्राकृतिक स्वास्थ्य प्रशिक्षण लिएर स्वास्थ्य क्षेत्रमै काम गर्न पाउँदा सन्तुष्ट छु। उचित आहार, विहार र विचार (उआविवि) अभियान अघि बढाउन पाउँदा धेरै खुशी छु।
उचित विहारकै एउटा अंग हो हाइकिङ। हाइकिङले स्वास्थ्य लाभ त भएकै छ साथमा समाज बुझ्ने अबसर पनि पाएकी छु। हाइकिङ र ट्रेकिङमा धेरैतिर डुलेकी
छु। काठमाडौं उपत्यकाका लगभग सबै डाँडापाखा छिचोलेकी छु। उपत्यका बाहिर पनि घुमेकी छु। तर अझै पुग्नु पर्ने, घुम्नु पर्ने र सिक्नु पर्ने थुप्रै कुरा बाँकी छन्। मलाई मुलुकभित्रका सबै ठाउँ घुमेर देशलाई राम्रोसँग चिन्ने मन छ।
भूगोलका हिसाबले हाम्रो स्यानो देश नेपाल ज्ञानको विशाल भण्डार हो। मरेपछि स्वर्ग पुगिन्छ भन्छन्, घुमघाम गर्दा मलाई लाग्छ–नेपालै स्वर्ग हो।
जीवनमा घुमफिरको ठूलो महत्व छ। यात्राले स्वास्थ्य लाभ हुन्छ। जाँगरिलो बनाउँछ। शरीरमा स्फूर्ती बढाउँछ, नयाँ चिज, नदेखेको ठाउँ देख्न सकिन्छ भने मनमा ऊर्जा बढ्छ।
घुम्न टाढै जानु पर्छ भन्ने छैन, आफ्नै बस्ती वरपर जता डुले पनि हुन्छ। यत्ति हो एक्लै घुम्नु ठिक होइन, समूहमा यात्रा गर्दा सजिलो हुन्छ।
काठमाडौं उपत्यकाकै कुरा गरौं न, गज्जबकै जीवनशैली भेटिन्छ यहाँ। सहरमा कोलाहल, मान्छे–मान्छे, धुलो, धुवाँ, गाडी र घरैघर। शहर छेउकै चक्रपथबाट बाहिर जानेवित्तिकै बेग्लै परिवेश पाइन्छ। शान्त गाउँ, हरियालीमा स्वच्छ अक्सिजन। सफा पानी, सफा हावा र नीलो आकाशमुनिका गाउँमा निश्चल मुस्कान पाइन्छ।
ललितपुरको धापाखेलमा सामान्य किसान परिवारमा जन्मेकी मैले सानैदेखि माटोको
सुगन्ध पाएकी थिएँ। तर, जीवनको लामो कालखण्डसम्म काठमाडौं सेरोफेरोका
डाँडामा पुग्न पाएकी थिइन। निरागेधामबाट सुरु भएको पदयात्राले मलाई
नेपाल चिनायो। काठमाडौं उपत्यकामा मात्र होइन, बाहिर पनि बहुदिने पदयात्रामा निस्किन्छौं हामी। यसरी घुम्दा देशप्रति माया बढ्दो रहेछ।
ठूलो कुरा हाइकिङले जस्तोसुकै समयमा पनि धैर्य गर्न र अनुशासित हुन
सिकायो।
पदयात्रा गर्नु भनेको घुम्नु, मोज मज्जा गर्नु, रमाइलो गर्नु र मनपरी खाएर मनपरी हिँड्नु होइन। अनुशासित र मर्यादित रुपमा देशको भूगोल, गाउँले जीवन, रहन सहन बुभ्mदै आपसमा सक्दो सहयोग र पारस्परिक सम्बन्ध गाँस्दै हिँड्नु हो।
त्यसैले सके हप्ताको एकपटक नभए महिनाको एकपटक हाइकिङ गर्नु पर्छ। साथै वर्षको एक–दुई चोटि बहुदिने पदयात्रा गरेमा आन्तरिक पर्यटन विकासमा सहयोग
पुग्छ।
हामी पदयात्रामा घुमघामका साथै स्वास्थ्य ज्ञान बाँड्दै हिँड्छौं।
घुमफिरमा एउटा कुराले भने मन दुख्छ–हाम्रा अधिकांश गाउँमा युवा छैनन्। युवा भनेका त देशका ऊर्जा हुन् तर उनीहरु रोजगारीको खोजीमा विदेशिएका छन्।
वास्तवमा हाम्रा हरेक गाउँका आ–आफ्नै बिशेषता छन्, आ–आफ्नै संभावना छन्।
त्यहाँ आधुनिक प्रविधि भित्र्याएर परिश्रम गरेमा देशभित्रै सुन फलाउन सकिन्छ। कृषि, हाइड्रो, घरेलु उद्योग, पर्यटन आदिको विकासमा काम गर्न सकिन्छ। विशेषतः
देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, यही सौन्दर्यलाई समेटेर स्वस्थ पर्यटन विकास गर्न सकिन्छ। हामी सबै मिलेर काम गरे छिट्टै मुलुकलाई समृद्ध बनाउन सक्छौं।
हाइकिङ गर्न थालेको केही वर्ष पछि मैले पत्रपत्रिकाहरुमा हाइकिङ र स्वास्थ्य सम्बन्धी लेख लेख्न थालें। कतिपय शुभेच्छुक र इष्टमित्रले हाइकिङ सम्बन्धी पुस्तक लेख्न हौस्याए। साँच्चै, स्वस्थ हाइकिङ प्रवद्र्धन गर्न एउटा पुस्तक आबश्यक देखियो। त्यही भएर मैले ‘हाइकिङ काठमाडौं’ पुस्तक लेखेकीहुँ। यसमा हाइकिङ गन्तव्यका चिनारीका साथै स्वस्थ रहन योग, तीन बराबर आहार लगायत स्वास्थ्य ज्ञान समेटिएको छ।
मलाई लाग्छ यो पुस्तकले हाइकर्सलाई त फाइदा पुग्छ नै, साथै यसले अनुशासित र स्वस्थ पदयात्रा गर्न पनि सघाउँछ। साइक्लिङ, बाइकिङ र मोटर ड्राइभिङमा घुम्नेहरुलाई पनि पुस्तक सहयोगी बन्नेछ।
जीवनमा एक्लाएक्लै हिँडेर लक्ष्य भेट्न सकिँदैन। धेरैको साथ चाहिन्छ। सधैं सत्मार्गमा हिँड्न प्रेरित गर्ने परिवार र राम्रो काम गर्दा हौसला बढाउने साथीहरु मेरो हृदयमै बसेका छन्। मलाई आत्मज्ञान दिएर सक्षम बनाउने गुरु डा. उमेश श्रेष्ठ र प्रकृति प्रेमी समूह परिवारप्रति कृतज्ञ छु।
आमा जयन्ती र बाबा रामगोविन्दका भनाई शिरमै राखेकी छु। उहाँहरु सधैं भन्नुहुन्छ ‘छोरी कहिल्यै कसैको कुभलो नचिताउनू। इमान्दार बन्नू। सबैलाई सहयोग गर्नू। अरुको भलाई गरे स्वतःआफ्नो राम्रो हुन्छ।’
हाइकिङ गर्दा परिवारलाई दिनुपर्ने समय दिन सकिँन। श्रीमान र परिवार जसले मलाई बिना रोकतोक हाइकिङमा सघाउनु भयो, सबैलाई हृदयदेखि नै नमन छ।
मैले हाइकिङ सुरु गर्दा छोरी खुशी सानी थिइन्। छोरी सधैं भन्थिन् ‘मामु कहिल्यै घरमा बस्नु हुन्न, मेरो स्कूलमा कहिल्यै आउनु हुन्न, जहिल्यै बाहिर जानु हुन्छ।’
उनका कुराले मनमा नराम्रो लाग्थ्यो। तर, मनमनमा सोच्थें, मेरो परिवारमा छोरी, आमा, बुबा मात्र नभएर सारा देश अटेको छ।
अचेल छोरी पनि सँगै हाइकिङ गर्छिन्। हामी स्वस्थ रहने सन्देश बाँड्दै हिँड्छौं, यसैगरी हिँडिरहनेछौं।
अन्त्यमा, हामीले आफुसँग भएका चिजमा रमाउन सक्नु पर्छ। कुनै पनि काम सानो÷ठूलो हुँदैन। जुनसुकै काम पनि निरन्तर टुँगोमा पुग्ने गरी गरेमा सफलता मिल्छ भन्ने मैले हाइकिङबाट सिकेकी छु।
आखिर अजम्बरी कोही छैन, जन्मेपछि एक दिन अवश्य मर्नु पर्छ। जन्म र मृत्यु
हाम्रो हातको कुरा होइन, तर जन्म र मृत्यु बीचको समय हाम्रो हातमा छ। जन्म र
मृत्यु वीचको यो समयलाई सबैको कल्याण हुने काममा सदुपयोग गरौं। आफु पनि
स्वस्थ बनौं। अरुलाई पनि स्वस्थ बनाउन हातेमालो गरौं।
यो पुस्तकले हिँड्ने मात्र होइन सरल र सही जीवन कसरी जिउने भन्ने ज्ञान पनि दिलाउनेछ भन्नेमा आशावादी छु।
(हिमालयन म्याप हाउसले प्रकाशन गरेको हाइकिङविज्ञ महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ आज दिउसो १ बजे नेपाल पर्यटन बोर्डमा विमोचन हुँदैछ।)