एक साँझ म एउटा कोल्ड ड्रिङ्क्स सेन्टरमा पुगेको थिएँ। अझ भनौं गर्मीको प्रभावले मलाई त्यहाँसम्म पुर्याएको थियो। सदा झै मैले मेरो प्रिय कोक नै अर्डर गरेको थिएँ। हुन त दिनभरीको दौडधुपले राँपिएको मन जाबो चिसो कोकले कहाँ मत्थर पार्न सक्थ्यो र।
एउटा कुनामा बसेर वरिपरिका मान्छेहरूलाई नियाल्दै थिएँ। योबाहेक मसित समय बिताउने गतिलो बहाना अरु केही पनि थिएन।
मेरा आँखा म बसेको कुना बिपरितको कुनामा गएर ठोक्किए। ठोक्किने मात्र होइन मेरो पूरा ध्यान नै आकृष्ट भयो। कालो वर्ण, ठूलाठूला आँखा, काँटछाट नगरिएका बाक्ला परेला, केही चुच्चो नाक र सुकेर केही चिरा परेजस्ता देखिने उनका ओठहरु, एक झलकमै मैले यति अवलोकन गर्न भ्याइसकेको थिएँ।
उनको कैलो र कर्ली कपाल कुमभन्दा तल आइपुग्न असमर्थ थियो। कालो रङको टिसर्ट, नीलो जिन्स र कालै रङको जुत्तामा थिइन् उनी। आम नेपाली महिलाहरुकै जस्तो औसत कद थियो उनको। उनको शारीरिक सौन्दर्यले कुनै पनि पुरुष आँखालाई लोभ्याउन मुस्किल थियो। उनी आम युवकहरुको सपनामा आउने राजकुमारी जस्ती थिइनन्।
यद्यपि उनीतिर मेरो ध्यान पूर्णरुपमा तानियो। मेरो ध्यान आकृष्ट हुनुको कारण उनको सौन्दर्य थिएन, उनको टेबलमा सजिएको बोटल र गिलास थियो। फेरि मलाई एउटी युवतीले मदिरा पिउन लागेको दृष्यले नै त्यतिसम्म अचम्मित पारेको पनि होइन। यसअघि थुप्रै महिला मित्रहरुले जमेर पिएको थुप्रै दृश्यहरु कैद थिएँ मभित्र।
उनी बिल्कुल एक्ली थिइन्। एक्लै मदिरा पिउन लागेकी ती युवतीलाई नजिकबाट बुझ्ने भोक पलायो। उनको स्थानमा कुनै पुरुष हुन्थ्यो भने सायद म त्यहाँ नजान पनि सक्थेँ कि? मलाई खै किन हो उनलाई नजिकबाट नियाल्न मन लाग्यो। उनको त्यो बसाइँको रित्तोपन भरिदिन मन लाग्यो।
आफ्नो कोकको बोटल बोकेर म उनको अगाडि उभिएँ। तर मदिराले भरिएको गिलासलाई यसरी नियालिरहेकी थिइन् कि मेरो उपस्थितिको कुनै आभास नै भएन उनलाई। उनका टोलाइरहेका आँखाहरु हेर्दा लाग्थ्यो कि त्यहाँ सपनाहरुको गहिरो सागर छ, जसलाई पढ्न सक्ने आँखाहरु नचाहेरै पनि चुर्लुम्म डुब्न सक्छन् एकै निमेषमा।
"के म यहाँ बस्न सक्छु?" अन्ततः मैले उनलाई झस्काउने दुस्साहस गरेँ।
"हँ?" उनी साँच्चै नै झस्किन्। उनको मूड बिथोल्ने दुस्साहस गरेबापत गाली फिर्ता पाउँछु कि भन्ने डर पनि खुब थियो मनमा।
"बस्नुस् न।" कुनै सोच बिचार नगरी उनले सहज भएर आफ्नो सामनेको कुर्सीतर्फ इशारा गरिन्।
एक बिल्कुलै अपरिचित युवतीसित कुराकानी कसरी सुरु गरौं भन्ने दोधारे अवस्थामा पुगेँ। तरपनि मैले हिम्मत गरेँ।
"एक्लै ड्रिङ्क गर्ने सुरमा हो?
उनी फिस्स मुस्कुराइन्। सायद उनको मुस्कान निकै नै दुर्लभ हुनुपर्छ, मैले अनुमान लगाएँ।
"पिउने मूड चल्यो तर कोही भएनन्। फेरि कोही नभएकै कारण म किन आफ्नो मूडको हत्या गरुँ?"
"यो तिम्रो जवाफ हो कि प्रतिप्रश्न?"
"जसरी बुझे पनि हुन्छ। एक अपरिचित ब्यक्तिले मलाई जसरी बुझेपनि के फरक पर्छ र? उनी मुस्कुराइन्।
"ओहो! फेरि प्रतिप्रश्न?" मैले उनको जवाफ दिने शैलीको रमाइलो पाराले खण्डन गरेँ या भनौं तारिफ गरेँ। योपटक उनी केही खुलेरै हासिन्। उनका नमिलेका दाँतहरु प्रष्ट देखिए।
"तिमी पिउनलाई साथ दिन सक्छौं?" अनौठो प्रस्ताव अघि सारिन्।
"सरी, मैले पिउने गरेको छैन।"
"इट्स ओके! अनि तिम्रो पूरा नाम?" उनले गिलास रित्याउँदै प्रश्न गरिन्।
"सुबोध सुब्बा। अनि तिम्रो?"
"मेरो नाम सफलता सुवेदी। तिम्रो जातले पाएर पनि नपिउने है तिमी चाहिँ? इन्ट्रेस्टिङ!" उनले जिस्काइन्।
"हैन हाम्रो समुदायमा सबैले पिउँछन् नै भन्ने छैन नि। अनि के गर्छौ तिमी?"
"म एमबिए गर्दैछु। स्कुलमा बच्चाहरुलाई पढाउने पनि गर्छु।" उनको बोलीमा केही परिवर्तन आइसकेको थियो। बिस्तारै चढ्दै गरेको नशाले गर्दा हो कि सायद उनले मेरो बारेमा खासै प्रश्न सोधिनन्।
मेरो कोकको बोटलभन्दा तीब्र रुपले उनको भोड्काको बोटल सकिदै थियो। उनमा रक्सीको मात चढिसकेको थियो।
"तिमीलाई पुरै रक्सी लागिसक्यो। रातको समयमा यसरी घर पुग्दा तिमीलाई समस्या पर्दैन?" मैले स्वभाविक जिज्ञासा जनाएँ।
उनी बेस्सरी हाँस्न थालिन्। उनको त्यो किसिमको हाँसोले कुनै एक जड्याहाको झल्को दिन्थ्यो। उनको हाँसो केहिबेर रोकिएन।
"म अभिनय गर्न माहिर छु। घरमा सज्जन छोरीको भुमिका निभाउनेछु। थाहा भइहाल्यो भनेपनि गाली गर्छन्, तर मार्दैनन् मलाई थाहा छ। नत्र म अहिलेसम्म कहाँ जिउँदै हुन्थेँ त? यति भन्दै उनी फेरि बेस्सरी हाँसिन् र आफ्नो टाउको टेबलको आडमा छाडिदिइन्।
उनको जवाफले म चकित परेँ। साच्चै कति बेपर्वाह बाँच्न सकेकी यो केटी? मनमनै सोचेँ।
उनले भोड्काको ठूलो बोटल अमृत पिएसरी रित्याइसकेकी थिइन्। उनको बोली लर्बरिएको थियो। यस्तो अवस्थामा कसरी घर पुग्ने हुन् मलाई चिन्ता लाग्यो। तर उनको मुहारमा कुनै पीरको धर्सो देखिन।
उनले मेरो मोबाइल तानेर लिइन् र आफ्नो नम्बर डायल गरेर मिस्डकल दिइन्। उनको क्रियाकलापले म अचम्मित थिएँ। बेहोसीमा मान्छेले अनेक गर्छन्।
उनी केही नभनी जुरुक्क उठिन्। उनका खुट्टाहरु लयमा थिएनन्। काउन्टरमा गएर मेरो बिल समेत तिरेर आइन् म हेरेको हेरेकै भएँ। मेरो बिल आफैं तिर्छु पनि भन्न पाइन।
"म अब जान्छु है, बाई।"
उनी यतिछिटो बाहिर निस्किन् कि मैले केही भन्ने मौका नै पाइन। एकछिन अघिसम्म त्यति मस्त मान्छे अहिले एक्कासी के को हतार पर्यो कुन्नी। उनी वेगले कता कुदिन् मैले भेउ नै पाउन सकिन। यस्तो अवस्थामा कसरी आफूलाई सम्हालेर गइन् होली बाटोभरी सोचिरहेँ।
***
बिहानै मेरो फोनको म्यासेज टोन बज्यो। लेखिएको थियो- 'थ्याङ्क्स फर योर कम्पनी मिस्टर सुब्बा।' अनि म्यासेजको मुनि लेखिएको थियो- 'सफलता'।
ओहो! हिजो त्यति नशामा थिइन् र पनि मलाई सम्झेकी रहेछिन्।
"हिजो घरमा कति गाली खायौ त?" मैले लेखेर पठाएँ।
केहीबेरमा तुरुन्त जवाफ आयो- "त्यो गाली होइन, प्रेम हो। कुनैदिन यो प्रेम छुट्यो भने चाहिँ बरु निरस लाग्छ।"
साँच्चै हिजो र आजमै मैले कहिल्यै कल्पना नगरेको मान्छेसँग जोडिन पुगेँ। उनी कल्पनाभन्दा धेरै बाहिरकी थिइन्, कम्तीमा मेरो कल्पनाभन्दा चाहिँ धेरै बाहिरकी। अचानक भेटिइन्, मेरो मस्तिष्कमा कति छिट्टै छाप बसाइन्। थाहा छैन उनमा खै के थियो। मैले आजसम्म कसैमा नदेखेको केही चिज थियो र त म बिस्तारै उनीसँग नजिक हुँदै गएँ। उनलाई जति बुझ्दै गएँ, उति उति फस्दै गएँ।
हामी छिट्टै नै मिल्ने साथीका रुपमा रुपान्तरण भइसकेका थियौँ। हाम्रो बाक्लो भेटघाट हुन थालेको थियो। कहिलेकाही घुम्नका निम्ति शहरभन्दा बाहिर पनि निस्कन थालेका थियौँ।
"के एउटा पुरुष र महिला नितान्त साथी मात्र रहेर बस्न सक्छन्?" कुनैबेला म यस्तै सोच्थेँ।
" बिल्कुल सक्छन्। मित्रतामा जेन्डरले कुनै असर गर्दैन।" मैले आफैं भन्न थालेको थिएँ। सायद मैले उनलाई नभेटेको भएँ यति सोच्न सक्ने कहाँ हुन्थेँ होला र?
"मेरो एउटा सपना बारम्बार दोहिरिन्छ।" उनले एकदिन गम्भीर मुद्रामा सुनाइन्।
" म एउटा समथर मैदानबाट हिड्दा हिड्दै विशाल पहाडको फेदमुनि पुग्छु। म बिस्तारै त्यो पहाड उक्लन थाल्छु। पहाड उक्लिसकेपछि एउटा सुन्दर बस्ती देखा पर्छ। बस्ती मध्येको सबैभन्दा ठूलो र सुन्दर घरअगाडि म उभिन्छु। त्यो घरको प्रवेशद्वारमा ठूलाठूला अक्षरमा लेखिएको हुन्छ- 'सफलता निवास'। त्यो मैले आफ्नै बलबुताले निर्माण गरेको घर हो। मेरो आफ्नो निवास हो, जहाँ मेरो मात्र साम्राज्य चल्छ।" उनले सरासर सुनाइन् आफ्नो सपनाको किस्सा।
" थाहा छ सुबोध? सफलता निवास मेरो आँखा खुल्ला हुँदाको सपना पनि हो।" उनको आँखामा अनौठो चमक छायो। उनको मुहार निकै उज्यालियो। उनी आफ्ना सपनाहरूलाई असाध्यै प्रेम गर्थिन्।
"तिमी आखिर के बन्न चाहन्छौ सफलता?"
"म आफुमात्र बन्ने होइन नि। अरु धेरैलाई केही बन्न सक्ने बनाउनु छ। म अवसर खोजेर बस्दिन बरु अवसर खोजिरहेका युवाहरुलाई अवसर दिन चाहन्छु।" उनी निकै उत्साहित देखिइन्।
" यो त आदर्शवादी कुरा भएन र सफलता?"
" होइन म यसलाई यथार्थमा बदल्न सक्छु। यसको लागि मेरो आफ्नै योजनाहरु छन्। म आफ्नो प्रगतिशील यात्राको उद्गम बिन्दुको खोजमा थिएँ। अब मैले त्योपनि लगभग भेट्टाइसकेँ।
उनको आत्मविश्वास, संकल्प र दुरदर्शिताको सामु आफूलाई निकै होचो महशुस गरेँ। उनी यति सकारात्मक थिइन् कि सायद ढुङ्गालाई पनि फूल सोच्दी हुन्। हैन उनले ढुंगालाई पनि फूल बनाउन सक्दी हुन्।
***
उनको सोच,दुरदर्शिता र जीवनप्रतिको सकारात्मक दृष्टिकोणले गर्दा म चुर्लुम्म डुबेको थिएँ। संसारको सबै प्रश्नको उत्तर उनीसँग थियो। सबै समस्याको समाधान उनीसँग थियो। मलाई यस्तै लाग्थ्यो। साँच्चै उनी आम युवकको सपनामा आउने राजकुमारी थिइनन्, उनी त एक महारानी थिइन्, आफ्नै साम्राज्य खडा गर्न सक्ने महारानी।
एकदिन उनले अचानक घरमा विवाहको लागि दबाब आइरहेको कुरा सुनाइन्। उनी विवाहको लागि कुनै हालतमा तयार थिइनन्। उनको परिवार पनि त यही समाजको एउटा हिस्सा थियो। त्यसैले उनको बुवासित जहिल्यै बैचारिक द्वन्द्व चल्ने गरेको बताउँथिन्।
" बुवा कुनै हालतमा मसँगको बहसमा पछारिन चाहनुहुन्न। एक केटीसँगको बैचारिक बहसमा परास्त हुनु उहाँको लागि स्वाभिमान गुम्नु हो। किनकी महिलाले केहि बुझेका हुँदैनन् भन्ने मानसिकता उहाँमा छ। मैले यो मानसिकतालाई तोड्न कति संघर्ष गरिरहेकी छु, तिमी त्यो सोच्न पनि सक्दैनौं। मेरो बुवा अशिक्षित भइदिनु भएको भए सायद म सजिलै बुझाउन सक्थेँ होला, तर उहाँ शिक्षित हुनुहुन्छ त्यसकारण बुझाउन गाह्रो हुन्छ।" उनले खिन्न मान्दै सुनाइन्।
"तिमीले बनाएको आफ्नो योजनाहरु सुनाएनौ उहाँलाई?"
"उहाँलाई त्यसमा कुनै चासो छैन। केटा शिक्षित छ रे, टन्न कमाउने छ रे। त्योसित मेरो बिहे भयो भने म साह्रै भाग्यमानी हुन्छु रे।" यतिभन्दै अप्रत्याशित रुपमा फिस्स हासिन्।
"म त्यति कमजोर पनि छैन नि। मेरो भाग्य कोहि अरुसित जोडियोस् म यो चाहन्न। मेरो भाग्यको डिजाइनर म हुँ, ममात्रै हुँ। अझ केटा साह्रै बुझ्ने छ रे मलाई बिहेपछि पनि पढ्न दिन्छ रे! हाहाहा... मानौँ कि उसले त्यति गरेर मलाई कुनै उपकार गर्नेछ। अरे यार मलाई मन लागेको त म यसैपनि गर्न पाउँछु नि।" उनले मनको भडास पोखिरहिन् निकैबेर।
उनी स्वाभिमानी थिइन् या घमण्डी थिइन् म छुट्याउन असमर्थ थिएँ। उनी चाहे जेसुकै भएपनि साँच्चै गज्जबकी थिइन्। उनले कहिल्यै पनि शृङ्गार गरेको मैले देखिन। उनको शारीरिक स्वरुपले पनि मलाई कहिल्यै लोभाएन। तरपनि उनीजति सुन्दर मलाई अरु कोहिपनि लागेन। आखिर के रहेछ सौन्दर्य? के रहेछ सौन्दर्यको मानक?
***
सफलताले घर छाडिन्। मैले अरुबाटै यो कुरा थाहा पाएँ। उनले मलाई समेत खबर गरिनन्। सायद उनी आफ्नो बुवासितको द्वन्द्वले परास्त भइन्।
म उनलाई माया गर्थें। किनकि उनी मेरो सबैभन्दा नजिककी साथी थिइन्। मलाई उनले थुप्रै अँध्यारोबाट निकालेर उज्यालो चिनाइन्। उनलाई म सम्मान गर्थें किनकी उनी कैयौंपटक मेरो अभिभावक बनेर मेरो पथप्रदर्शक बनिन्।
मलाई थाहा थियो कि उनी कमजोर होइनन् र पक्कै हार पनि मान्दिनन्। तर उनको एक सुभचिन्तक भएको नाताले मनमा केही चिन्ता भने थियो। कहाँ के गर्दै होली? कस्तो अवस्थामा होली सफलता?
सफलता हराएको करिब एक हप्तापछि मलाई एउटा अपरिचित नम्बरबाट म्यासेज आयो- " सुबोध! मैले घर छोडेकी हुँ। तर म हार मानेर कतै भागेकी होइन। यो संसारलाई त म जितेरै जाने छु। म अब पूर्णरुपमा सफलता निवास सम्मको यात्रामा तल्लीन हुनेछु। तिमीलाई म छिट्टै भेट्नेछु। मेरो चिन्ता नलिनु।"
**