जीवनको अमूल्य उपहार हो मित्रता 

पुस्तक चर्चा


वास्तवमा जीवनको अमूल्य उपहार हो मित्रता| २५ वटा फूलरुपी यारहरूको सुगन्ध टिपेर ‘यार’को माला बन्यो, कति भाग्यमानी हुन् ती यारहरू| जिन्दगीको गोरेटो सम्याउने क्रममा जोडिन आउने सबैभन्दा सहज, सहृदयी सम्बन्धहरू यार नै त हुन् जुन संगतको लामो प्रक्रियाबाट बन्दछ| कतै बालशखा त कतै बैंशका मित्रहरू, कतै दु:खका, त कतै सुखका मित्रहरूले दिएको अमूल्य साथ सहयोगले हामी आफूलाई परिपक्क मानव भएको कुरा स्वीकार गर्न उत्सुक हुन्छौं। र आज त्यस मार्गमा सगौरव उभिएको छ सर्जक नयनराज पाण्डेको– ‘यार’|

हाम्रो जीवनका कयौँ मित्रताका मोडमा कति दुर्घटनाबाट घाइते भयौँ त कतै कसैलाई बचायौँ होला तर ती घटनाले केहि सिकाएर नै अगाडी बढे| फरक फरक सुगन्धका यारहरूको प्रसंशा, प्रेरणा र आलोचनाले त हामीलाई लायक नालायकको दर्जा पनि दिँदै गर्छन् र अनि हाम्रो दौड जारी रहन्छ सँधै अब्बल बन्ने कसरतमा|

एकछिन ‘यार’का गल्लीहरूको कुरा गरौँ है। कहिले यारका अखडा मजाक बने त कहिले यारका औंला सुखद हुँदाहुँदै मौन रहे| कति अप्रियहरू वर्जित त गरे तर गुप्त रहन सक्दा रहेनछन्| कतै राम्री हुनु पनि धराप भइदिने र कतै आफै कृतघ्न हुने पलहरु समबेदना सहित ताल्चा लगाउनु पर्ने रहेछ यारहरूलाई बचाउन| पण्डितका किताबका माछा नखाने जस्ता प्लास्टिकको कुरालाई अग्लो मान्दैन ‘यार’ले | यारले बोकेको मित्रताको त्यो एयरगन संगै मोटो हेलमेटको सुरक्षाकवच छ र त मित्रताको इजार र कमिज सकुशल छन्, र यारसंगै रहिरहने छन्| तर ती यारको पेटिकोट पवित्र त छ तर यहाँ टिकट नै पाएन।

हो, लेखक भन्छन्– जीवनको राजमार्गमा धेरै साथीहरूसित संगसगै हिँडियो| धेरैसँग अझै पनि संगै यात्रारत छु| केहि भने हिँड्दाहिँड्दै कुनै मोडमा छुटे| जीवन मेलाको भीडभाडमा हाम्रो भेट भएन| तर, मेरो यात्रा त्यस्ता पनि केहि साथीहरू थिए, जसले हिँड्दाहिँड्दै चटक्कै मेरो हात छोडेर अर्कातिर लागे| तिनीहरूको आफ्नै खालको अर्को कुनै मुकाम हुदो हो| तिनीहरूलाई त्यो मुकामसम्म पुग्न हतार हुँदो हो| जो छुटे, तिनीहरूसित अर्को कुनै मोडमा फेरी भेट्ने रहर छ| जो अर्को बाटो लागे, उनीहरूलाई फेरी पनि शुभकामना दिने रहर छ|’

लेखकको संवेदनशील मित्रता पनि हामीलाई केहि समभाव सजिलै पस्केर हराउने कुहिरो रहेन, शिताम्मे पारेको छ जहा सर्जकको उदेश्यले मुकाम भेटेको छ|
यारहरूको जीवन गति, उनीहरूको जीवनप्रतिको मान्यता, उनीहरूका विचारले डोर्याउने हाम्रो मित्रताले जीवनलाई कुन मुकाममा पुर्याउने छ भन्ने छलफल कति कार्यन्वयन भए होलान् कति यसैबीच बाटोमा छोडिए होलान्| कति हाम्रा यात्राहरू हाम्रो विचारले गर्दा अप्ठ्यारो ठाउँमा फसे होलान त कतिले नौलो अनुभव र शिक्षा दिएर गए| सम्झना अजंगका हिमाल जस्ता हुँदा रहेछन् उचाई भेट्न पनि मुस्किल र सजिलै झर्न पनि उति नै जटिल|

‘सम्झना बतास पनि रहेछ जसले जति तानेर फोक्सोमा भरे पनि कहिल्यै नसकिने केवल हामीलाई प्राण मात्र भरिरहने| गजब तारिफ र सम्मान छ मित्रताप्रति र लेखकको यो सरलता नै ‘यार’को ढुकढुकी हो|’

लेखक यसरी स्वीकार्छन् आफुले पात्र बनाई विचारका धूलोमैलोमा उनीहरूलाई पल्ट्याई आफू सुकिलो बनेर एक्लै वाहिवाहि बटुल्नुपर्ने बाध्यता।  ‘हरेक लेखकले लेख्ने उत्कृष्ट किताब उसको पाखण्डको अति उत्तम सिर्जना हो| हरेक सिर्जनासंगै लेखकले एउटा अपराध पनि गर्छ| किनभने, उसले आफ्ना सृजनाका लागि प्रयोग गर्ने स्मृति र त्यो स्मृतिका बाहकलाई अलिकति पनि जस पाउने मौका दिँदैन| हरेक श्रेय, हरेक पुरस्कार र हरेक वाहवाही ऊ एक्लैले लुटछ|’

कतिपय विचार, परिस्थितिमा हाम्रो समयको उत्तोलकले ती सम्बन्धहरू निर्माण गरिदिन्छ, र तिनीहरूका आफ्नै महत्त्व हुन्छन्| भत्कन पनि सक्छन् यदि त्यसको गुरुत्व कम भयो भने| सम्बन्ध बन्नु ठूलो कुरा होइन यसलाई निरन्तरता महत्त्वपूर्ण हो| सम्बन्ध सबैले सुख दिँदैनन्, ती पीडाका पनि हुन्छ र झन् ठूलो पाठ सिकाएर कतै अन्तरकुन्तरमा रहेका हुन्छ र बेलाबेलामा सम्झनाको नमिठो झटारो पनि हान्छन्|

मित्रताका असमझदारी पनि समयमै उपचार गर्नुपर्दो रहेछ नत्र त समाजमै एक सामाजिक, आर्थिक, राजनैतिक असमझदारीको उपज बन्ने रहेछ| तर द्वन्द्व नभएको सापट मित्रताले पनि जिउनुका द्वन्द्वमा कुनै रचनात्मक भूमिका खेल्न सक्दैन्| लेखकका यी निजी गन्थन हुनै सक्दैन, यी त मेरा, हाम्रा र उनीहरू सबैका साझा सवालहरू हुन् यारहरूका|

यारहरूका बारेमा यति सुनाइरहँदा एउटा आफ्नो जीवन तरंगित बनाइरहने ‘यार’लाई फुत्त छोडेर अफिसमा, भट्टीमा, यात्रामा रमाउदै हिड्नेसँग मात्र रमाइरहे कि भन्ने हेक्का रह्यो कि रहेन प्रिय यार? भुलेर होइन कि सम्झेर यी अक्षरले बोक्न नसक्ने यारी छ नि, हैन र?

हो, एकदमै सहि तपाईका हरेक पाइलाका डोबहरूमा बन्ने आकृतिको चित्र ‘सानु’को बारेमा त किताब नै बन्छ तर एउटा सानो ठाउँ मात्र किन दिउँ भन्ने लागेको पनि होला हैन र? (अलिकति महिलाका आँखाले पढ्ने मेरो हेराईलाई दृष्ट्रिभ्रम भने पनि मलाई खुशी नै लाग्छ किनकि मसँग सँधै पहिला महिलाको पाठक आँखा नै बाँचेको हुन्छ)

यो ‘यार’लाई काबिल दोस्त बनाउन उसले गरेको दरिलो भूमिका कतै देखिएन। कसरी ओझेल पर्यो होला सर्जकको आँखाबाट? ‘सानु’ भन्ने शिर्षक नै छुटेछ जुन यी यारका फूलहरुको माला बनाउने धागो सम्हालेर राख्ने त्यहि बगैँचाकि माली नै उनै त हुन्| सच्चा मित्रता त रंगहीन, जातिहीन, धर्महीन, वर्गहीन हुन्छ नै तर लैंगिकहीन किन हुन् सक्दैन? यो प्रश्न एक पहेली बनेको छ आजसम्म|

दु:ख लाग्छ, मेरो पितृसत्ताको संस्कारले सानु मेडमजस्ता सबै महिलाहरूलाई ‘यार’ नै मान्दैनन्| यो मौनताको पीडाको गहिराई उनै भोग्ने महिला मित्रहरूलाई मात्रै अनुभव हुन्छ| हाम्रा धर्मशास्त्रीय ग्रन्थ र मनुरुपी ज्ञानले महिलालाई परालौकिक र अदृश्य संसारको डर देखाएर उनीहरूको अस्तित्व नै सघन बनाइदिएको छ| घर भित्रको चरदिवारी नै सम्पूर्णता भन्ने पाठ पढाएको छ  तर अब यो पथ भत्किँदै छ) र सर्जकहरूले यी मानवहरूलाई पनि रचनात्मक परिवेशद्वारा आफ्नो यात्रामा समावेश कहिले गराउने हुन्?

लेखक ‘सल्लिपिर’मा महिलाको प्रमुख भूमिकाको लागि त धन्यवादको पात्र हुँदै हुनुहुन्छ, र अझै स्रस्टाको आँखाले महिलाहरूले घर, परिवार र समाजमा आफूले गरेको भूमिकाभन्दा फरक अझै प्रतिरोधी चेतनाले रचना लेखेका छन्। त्यस्तालाई परास्त गर्न यो कलमलाई किन फरक चेतनाले अगाडी नबढाउने त?

२५ यारहरू सँगको सहवासले धेरै रमाइलो सिकाइ त भयो नै, तर मेरो खल्लोपन भनेको हाम्रा सहपाठी, सहयात्री, सहकार्य गर्ने विपरित लिंगी मित्रहरू बीचको मित्रता किन यती साँघुरो घेराभित्र मात्र बाँचिरहन्छ होला? महिलामित्र र पुरुषमित्रहरू  ‘यार’ बन्न कहिले सक्छन् होला? हाम्रा मित्रताका (महिला पुरुषबीचका) आधारहरू किन यति सानो त्यान्द्रोले बनेको होला? कतै हामीमा फस्टाएको ‘नारीवाद’ लिंगीय मित्रताको फराकिलो खाडलको उपज त हैन? मानवीय हुन नसक्ने भएपछि त लड्ने सामग्री तयार कमजोर पक्षले पनि गर्नैपर्यो? पितृसत्ताको विरोध भनेको मातृसत्ताको वकालत पनि होइन| हामीहरू जसरी आश्रयविहीन हुँदा एक अर्काको साथ खोज्छौँ त्यो हो असलमा सम्मान, सहभाव र नारीवादको सार|

लेख्नुहोस् न किन महिला र पुरुष मित्रहरू भट्टी सेयर गरेर यार बन्न सक्दैन्? के यो समाजको धराप महिलाको काँधले मात्र थामेको छ? यदि यो हो भने अब थाम्नु छैन, बस् हामीलाई पनि आफ्नै स्वतन्त्रता प्यारो छ|

अन्त्यमा, यारहरू हुन न त समान वय हुनुपर्छ, न त समान लिङ्ग भन्ने ‘यार’को अर्को संस्करण पनि पढ्न पाइयोस् लेखकज्यू|

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.