तिमीलाई म छु
मलाई तिमी छौ
भन्ने कुराबाट बेखबर–बेखबर!
जिएपछि एक्लै
जिन्दगीका केही पल
तिमी मलाई भेटियौ
या तिमीलाई म भेटिएँ
भेट भयो यद्यपि
भेट भइरह्यो– भेट भइरह्यो
जस्तो कि– हिँड्ने बाटो एउटै छ
जस्तो कि– हामी संधै उही चक्रपथमा छौँ
जिन्दगीको रत्नपार्कमा
हिँडिरहनु–हिँडिरहनु
नसमाएरै एकअर्काको हात
अलि पर पुगेर अर्कोलाई पर्खनु
फेरि संगै हिँड्नु
भीडमा छुट्टिएर प...र पुग्नु
हेरेर एकअर्कालाई
मुस्कुराउनु!
गुलमोहर खसेका कुमारी गल्लीहरूमा
टेक्दै–टेक्दै हिँड्नु
एक झुप्पो खुसीहरू बोकेर
ठन्डी महिनाका सिन्दुरे साँझहरूमा
एक टेबल– हामी दुई
दुई कुर्सी– दुई कप कफी
घण्टौँ पनि मिनेट झैँ लाग्नु
यस्तै–यस्तै
बिना कुनै साइनो
बिना कुनै हक
जिन्दगीका केही
अनौपचारिक स्वर्णिम पलहरूपछि
बिना कुनै कारण
बाटोहरू फरक भैदियो
जस्तो बिनाकारण भेटियौँ
तिमी जाँदै गर्दा
एक अङ्गालो आशाहरू दिन चाहेर पनि
म मूर्ति बनी उभिरहेँ
तिमीले घण्टाघर निकालेर
फ्रेममा सजाई मेरो नाडीमा बाँधिदियौ र भन्यौ–
म जहाँ हुनेछु
मेरो समय तिमीसंगै हुनेछ।