जब पोखिन्छ मसी पानाहरुमा
जन्मिदिन्छन् सुन्दर अक्षरहरु
देख्छु त्यही अक्षरहरुमा
मुस्कुराइरहेको तिम्रो चेहरा
ओल्टाइ पल्टाइ हेर्छु ती अक्षरहरु
टाढा बाट हेर्छु, नजिकबाट नियाल्छु
जसरी हेरे पनि तिमी नै तिमी पाउँछु
अनि ,
चुम्छु पानालाई अंगालोमा बेस्सरी
कसैले नदेख्नेगरी-थाह नपाउनेगरी
सिर्फ मेरो स्पर्शमा
हराइरहन्छु तिमी सँगै अंगालोमा
पाउँछु अनुभुती स्वर्गको
बन्द आँखाभित्र
अक्षर अक्षरमा लिप्त
तिमीलाई जत्ति हेरेपनि
कहिल्यै नथाक्ने यी ऑखाहरुमा
कहिले अनायसै,
डम्म कुहिरो लागिदिन्छ
अनि धमिइलिन्छन् अक्षरहरु
केही क्षणमै कुरुप भैदिन्छन्
ती कोरिएका सुन्दर अक्षरहरु
अनि पाउँछु पानाभरी,
तिम्रा लोलाएका ऑखाहरु
खुम्चिएका निधारका धर्साहरु
उपस्थित भैदिन्छ,
जीवनको रंगमंचमा
हराएका खुशीहरु खोज्दै भौतारिरहेको
मिरिमिच्चे तिम्रो रुप
ओहो !
कत्ति डाह, छटपटी हुदो हो मनमा
दुई ढुंगा बिचको तरुल भएर उभिदा
मनका कुण्ठाहरु गलामा दबाउदै
थुक निल्दै बस्दा कत्ति असह्य हुदों हो
कहालीलाग्दा रातहरु कसरी सम्हाल्दो हौ
बेमौसमका झरीहरु कसरी थेग्दो हौ
चोट्हरुले परकाष्ठा नाघेको बेला
किनकी
तिम्रो हरेक पिडाहरुको साक्षी म
ऑशुहरुमा केही हिस्सा मेरो पनि
फेरी तिम्रो मुस्कान हेर्न आतुर म
एकपल पनि बिस्मात देख्न चाहन्न
त्यसैले,
गाजलले लत्पतिएका ऑखाहरु पखाल्छु
नाकबाट झरेका चिसा तरल पुस्छु
कृतिम मुस्कान फिजाउँछु
तिमीलाई सधै
घाम जस्तै उज्यालो देख्न चाहने म
अनि कलम दौडाउन थाल्छु पानाहरुमा
ताकि तिमीलाई पाइरहूँ ती अक्षरहरुमा
राखिरहूँ सधैं मेरै समिपमा
न्यानो गरी मुटुभित्र लुकाएर
जीवनको अन्तिम घडीसम्म
कलम दौडिरहनेछ मेरो
सिर्फ तिमीलाई हेर्न
किनकी
हर अक्षर अक्षरमा उपस्थित भैदिन्छौ तिमी
मैले मात्र देख्ने गरी
मैले मात्र स्पर्श गर्ने गरी
कसैसंग पोख्न नस्कने कथा
मेरो अक्षरहरुसंगको
कसैसंग बॉडन नमिल्ने व्यथा
मेरो अक्षरहरुसंगको
गाढा लाग्छ मलाई मितेरी
मेरो अक्षरहरुसंगको
मात्र दुइ ढुकढुकीले बुझेको
जिउँदो इतिहास
मेरो अक्षरहरुसंगको !!
~ नदिया लिबांग