जिन्दगी उनैको सुन्दर हुन्छ, जो निरन्तर साधनामा लागिरहन्छन्। तिनै सरस्वतीका उपासक नै असली जिन्दगी बाँच्न जान्दछन्। नयाँ धामीमा नौताड काँपेझैँ पस्किन्छन् अद्भुत रचनाहरू।
स्रष्टाका लागि औपचारिक शिक्षाका प्रमाणपत्र, धन–सम्पत्तिजस्ता कुराले खासै महŒव राख्छजस्तो मलाई लाग्दैन। महत्व राख्छ त केवल अध्ययन र निरन्तर साधनाले। जुन कुरा अंग्रेजी साहित्यका अत्यन्त प्रतिभाशाली कवि टमस च्याटर्न, बंगाली साहित्यका प्रतिभावान कवि रवीन्द्रनाथ टैगोरलगायत कैयौँ स्रष्टाले प्रमाणित गरिसकेका छन्।
तर, कहिलेकाहीँ दुख्दो रहेछ जिन्दगी औपचारिक शिक्षाका तिनै प्रमाणपत्र नहुँदा। २०४० सालतिर कवि मनिराज जोशीले मुखिया पदमा सरकारी जागिर पाएका थिए, कैलाली जिल्ला अदालतमा। जोशीले स्वअध्ययनकै भरमा संस्कृत भाषामा एउटा पुस्तक प्रकाशित गरे–बेहडा बाबाको उत्पत्ति र महिमा। त्यो पुस्तक देखेपछि कतिले उनीमाथि चोरीको शंका गर्न थाले। अरुले त शंका मात्रै गरे, उनको सामुन्ने भन्न सकेनन्। तत्कालीन अञ्चल न्यायाधीश लक्ष्मीप्रसाद दाहालले त बारम्बार उनलाई भनिरहे– कहाँबाट चोरेर लेख्यौ ?
न्यायाधीशको हेराइले उनको जागिर नै जालाजस्तो भइसकेको थियो। फलानो किताबबाट चोरेको भनेर प्रमाण जुटाउन कसैले सकेन। सक्थे पो कसरी ? उक्त पुस्तक जोशीको आफ्नै मौलिक रचनामा आधारित थियो। उनीसँग औपचारिक शिक्षाका प्रमाणपत्र थिएनन्। उनले विद्यालयको प्रांगणमा पाइला टेकाउन पाएका थिएनन्। त्यसैले भन्नेहरू सजिलैसँग भनिदिन्थे, आफैँ त के लेख्थ्यो र पढे–लेखेकै छैन, चोरे होला कहीँबाट।
सात वर्षको उमेरमा बुवाले धर्ती छाडेपछि उनीमाथि एक दिदी, दुई भाइ र विधवा आमासहितको पारिवारिक जिम्मेवारी एकातिर थियो। अर्कोतिर, बल्लतल्ल पाएको जागिर पनि पुस्तक चोरीको शंकामा धरापमा परेको थियो। जोशी भन्छन्, ‘आँखाभरि आँसु टल्काउँदै अभावको च्यादर ओढेर कैयौँ पल बिते। तनावैतनावमा गुज्रियो जिन्दगी।’
उनलाई शंकाको दृष्टिले हेर्न थालेको वर्ष दिन नपुग्दै के कति कारणले हो अञ्चल न्यायाधीशको जागिर नै चट् भयो। तर, उनको मनमा परेको चोट निको भएन। एउटा ईख पलाइरह्यो मनमा। उनी कस्सिए पुनः अर्को कृति तयार पार्न। उनको स्वअध्ययनबारे कसैलाई थाहा थिएन। मात्र एक महिनाको साधनाले संस्कृत भाषामै तयार भयो, बालज्योतिसारप्रबन्ध।
त्यसपछिका दिनमा शंका गर्नेहरू मौन बसेर नियालिरहे उनलाई। आजका मितिसम्म उनका ६ महाकाव्य, चार वटा खण्डकाव्य, कथासंग्रह, कवितासंग्रह, भजनसंग्रह, निबन्धसंग्रह, लघुकाव्य गरी २४ कृति प्रकाशित छन्।
लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, विराटनगरबाट प्रदान गरिने प्रतिभा पुरस्कार, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारदेखि कैयौँ संस्थाबाट अभिनन्दित भइसकेका जोशीलाई ०७३ चैत २३ गते धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो। छोराहरू गोविन्द, वासुदेव, बुहारीहरू तारा र खेमाले संयुक्त रूपमा दश लाख रुपैयाँको अक्षय कोष स्थापना गरी बर्सेनि एक लाख राशिको मनिराज वाङ्मय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेका छन्। जसअनुसार यो वर्षको पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई दिने निर्णय भइसकेको छ।
मनिराज कुशलतापूर्वक शास्त्रीय छन्दको प्रयोग गर्छन्। सपेराले नाग नचाएझै“ कुशलतापूर्वक नचाउँछन्, शब्दलाई र भर्छन् भावको रंग। एकताका पोखराका कवि माधव वियोगीको अगुवाइमा कैलालीबाट सुरु गरिएको छन्दबचाउ अभियानमा तल्लीन थिए– कविहरू दीनानाथ भट्ट, पद्मराज जोशी प्रभात, भालचन्द्र भण्डारी ब्रह्मगोल, लगायत स्रष्टासँगै कवि मनिराज पनि। उनी प्रकृतिको महिमा गाउँछन्। जीवनका अनुभूति हार्दिकतापूर्वक प्रस्तुत गर्छन्। भाषा, संस्कृति, समाजसेवा र साहित्यमा विशेष योगदान पु¥याइरहेका जोशी ख्याति कमाएका ज्योतिष पनि हुन्।
सदा हँसिलो मुहार लिएर यात्रारत शास्त्रीय छन्दका तपस्वी उनी थकित मुद्रामा कहिल्यै देखिन्नन्। उनको घरमा दिनैभरि जन्मकुण्डली देखाउनेको भीड लाग्छ। दिनभर अरुका भाग्यरेखा हेर्ने कवि मध्यरातसम्म बनिरहन्छन्, सरस्वतीका उपासक। र, प्रकाशित गर्छन् वर्षैपिच्छे कृतिहरू।
सुदूरपश्चिमको डोटी जिल्लामा ०१२ सालमा जन्मेका जोशी ०३४ सालदेखि धनगढीमा बसोबास गरिरहेका छन्। विगतका दिनहरू र लोकसाहित्यको कुरा गर्दा जोशी सम्झिन्छन्– गाउँघरतिर सुनिँदै आएका चल्ले साइ (खण्टे खड्का), ठगी महरा, डमरी, गगने साउँद, हँस्वा कानो जस्ताका गीतका पंक्तिहरू। सुदूरपश्चिमको भूगोलबाट बेलाबखत निकै नै प्रभावित भइरहन्छन् उनी। ती डेउडियाहरूले न कुनै औपचारिक शिक्षाका प्रमाणपत्र लिएका थिए, न त तिनका कृति नै प्रकाशित छन्। तिनका सिर्जना पुस्तकका रूपमा आउन नसक्नु हाम्रो दुर्भाग्य हो। एक पिँढीबाट अर्कोमा सर्दै आएका तिनले रचना गरेका गीतका केही पंक्तिहरू सुनिन्छन्, अहिले पनि गाउँघरतिर। जुन पंक्तिहरू एकपटक सुनेर धित मर्दैन। एकपटक गाएर मात्रै पनि मन मान्दैन।
ती डेउडियाहरूको जस्तै लोभलाग्दो छ, कवि मनिराज जोशीको पनि आफ्नै मस्तीमा यात्रारत जिन्दगी। स्वअध्ययनमा रमाइरहेको दिनचर्या। अनि, हरपल साधनामा रमाइरहेको कवि मन।
असली स्रष्टा त्यही हो, जो हृदयमा इमानदारीपूर्वक आफू जन्मेको–हुर्केको भूगोल बोकेर हिँड्छ। अथवा, त्यही क्षेत्रको सांस्कृतिक, धार्मिक, पुराताŒिवक र सामाजिक सौन्दर्यका झाँकीहरू सजाउँछ, मन–मस्तिष्कमा। र, खन्याउँछ हृदय त्यही समाजको सुधारका लागि, परिवर्तनका लागि, महŒवबोधका लागि। त्यतै टल्किन्छन्, मनका ताराहरू। अनि त्यहीँ उदाउँछ, कविको पूर्ण चन्द्र।
भावनाका गरामा हृदयको जून बिच्छ्याएर खोजिरहन्छ, कवि पूर्वजका पालादेखिका हाम्रा सभ्यताका जराहरू, करुणाका लयहरू। र, गाउन सिकाउँछ, शान्तिको गीत। एक जिज्ञासापूर्ण जिन्दगी हुन्छ कविसँग, जसको सम्बन्ध ज्ञानसँग हुन्छ। समाजसँग हुन्छ। र, हुन्छ परिस्थितिका कैयौँ पाटाहरूसँग।
कतै पढेको थिएँ, जर्मनी दार्शनिक फ्रेडरिक नित्सेको एउटा भनाइ– जति तल गहिराइमा जराहरू जान्छन्, उति नै अनुपातमा वृक्षको उचाइ बढ्छ।
स्रष्टाले पनि जति आफ्नो कला, संस्कृति, सभ्यता र आध्यात्मिक दर्शनको ज्ञान बटुल्न र खन्याउन सक्यो, त्यति नै मात्रामा ओज बढ्दै जान्छ।
यतिखेर समालोचक यदुनाथ खनालको अभिव्यक्ति उद्धृत गर्न मन लाग्छ– नेपाली व्यक्तित्व स्थापित गर्नका लागि देशी–विदेशी शब्दको विवेचना गरी शब्दहरू नेपाली तुल्याउनुभन्दा कविले वर्णन गरेको विषय नेपाली तुल्याउनु आवश्यक छ।
जोशी यस्तै भनाइलाई आत्मसात् गरिरहेका छन् जस्तो लाग्छ। प्रकृतिप्रेमी मनिराजले संस्कृत साहित्य वेदान्त दर्शन र उपनिषद्को राम्रै अध्ययन गरेका छन्। उनले सहिद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह र अमर साधक पहलवानसिंह स्वारलाई मुख्य पात्र बनाएर महाकाव्य लेखे।
कवि मनिराज जोशीको खप्तड महाकाव्य त्यस्तै आध्यात्मिक, प्राकृतिक र सांस्कृतिक पोटला ओढेको काव्य हो। अझ भनौँ, सुदूरपश्चिमको सौन्दर्य र आभा बोकेको कृति हो। सुदूरपश्चिमको पौराणिक गरिमा बोकेको अति नै सुन्दर पर्यटकीय क्षेत्र पनि खप्तड नै हो। कुरुवंशको उद्धारका लागि पाण्डवहरू खप्तडको त्रिवेणीमा तर्पण गर्न आएको कुरा समेत उल्लेख गरिएको पाइन्छ, पौराणिक ग्रन्थहरूमा। यसलाई पछिल्लो समय खप्तड स्वामीको तपस्यास्थल भनेर पनि चिनिन्छ। प्राकृतिक सुन्दरता, सांस्कृतिक गरिमा र आध्यात्मिक दर्शनले सजिसजाउ गरेर तयार पारिएको छ, खप्तड महाकाव्य। जसभित्र कविले त्यस क्षेत्रका प्रसिद्ध शक्तिपीठ दिल्पेश्वर, शैलेश्वरी, बडीमालिका आदिको महिमा दर्शाएका छन्। साइलीगाड, कर्णाली, बूढीगंगा सेती आदि नदीनाला र दमाहा, नरसिंहा, झ्याली जस्ता बाजालगायत कैयौँ गिरि पर्वतहरूको सुन्दरताको चर्चा हृदयस्पर्शी ढंगले गरेका छन्। जुन निकै गहन र ओजपूर्ण पनि छ। ७०००
भनिन्छ, जन्म दिने आमा र जन्मेको धर्ती स्वर्ग समान हुन्छ। हाम्रा लोककविहरूले आफ्नै ढंगले गाएका छन्, जन्मभूमिप्रति सिर्जना गरिएका गीतहरू। कहीँ निस्किनुपर्दा जन्मेको ठाउँको माटो नै बोकेर जान पाए हुन्थ्यो भन्ने इच्छा समेत प्रकट गरिसकेका थिए तिनीहरूले। डोटी जोशीको सालनाल गाडिएको भू–भाग हो। जहाँ उनको जिन्दगीको पहिलो अध्याय सुरु भयो। त्यही सुन्दर र मनमोहक क्षेत्रलाई कविले यसरी सिँगार्छन्–
कुसुमका थुँगा उनी माला गाँसेजस्तोबैकुण्ठको हवेली नै तल ओर्लेजस्तोपहाडकी पार्वतीले सारी बेरेजस्तोमेरो डोटी सिलगढी मणिलोक जस्तोसुदूरपश्चिममा साहित्यिक अभियन्ताका रुपमा परिचित कवि पद्मराज जोशी प्रभात भन्छन्–कहिल्यै बिद्यालय र बिश्वबिद्यालयको दैलो नदेखेको मान्छेले स्वाअध्ययनकै भरमा नेपाली र संस्कृत भाषामा यस्ता गहकिला कृति तयार पारेको देख्दा लाग्छ उहाँ दिब्यदृष्टि प्राप्त भएको प्रखर प्रतिभावान स्रष्टा हो। सरस्वतीको वरदपुत्र हो।
जोशी पुरातात्विक सम्पदा र साँस्कृतिक गरिमा बोकेका सुदूरका तिनै ओझेलमा परेका टाकुरातिर दृष्टि पु¥याउँछन्। निस्वार्थ ढंगले राष्ट्रको लागि ज्यानको आहुति दिने ती बीर पुरुषहरूको सफलताका सुन्दर गाथा सिर्जना गर्छन। तिनको त्याग र बलिदानको महिमा गुनगुनाउन सिकाउँछन। सुदूरको हालबाल उतार्न साहित्यिक तलाउमा डुबुल्कि मारिरहन्छन। र सजाउछन आफ्नो साहित्यिक व्यक्तित्वलाई।
हरेक चिजबस्तुको आफ्नै खालको बिशेषता हुन्छ, महिमा हुन्छ भन्ने कुरालाई कवि मनिराज यसरी ब्यक्त गर्छन्
कालोको महिमा नबिर्स अब हे काली छ विश्वम्भराकाला छन् जलका तरङ्ग रहका शैलेन्द्रका टाकुराकालो रात्रि भएर मात्र रविको ज्योत्स्ना छ उद्दीपितकालो गर्व सहर्ष हुन्छ गरिमा जानी हिंडे यो पथथुप्रै सामाजिक संस्थामा आवद्ध जोशी चाकडी, चाप्लुसी र आत्मश्लाघा बटुलेर सफलता कमाउन चाहँदैनन्। उनी सुदूरपश्चिमको स्थानीय रङ्ग बोकेर काब्य सिर्जना गर्छन। एक बिनम्र इमान्दार र स्वाभिमानी कविका रुपमा चिनिएका छन् महाकाब्यकार जोशी।
भदौरे मूलफुटेझै मुटुबाटै फुटेका मौलिक धारा हुन उनका रचना। ती रचनाहरूले पाठकको हृदयलाई झंकृत पार्छन। समाज र राष्ट्रको निम्ति उनले जेजति गरेका छन त्यो प्रसंशनीय छ। अन्तमा एक तपस्वीको जिन्दगी बाँचिरहेका आध्यात्मिक र सांस्कृतिक सुरभीमा सम्पन्नता ल्याउने कविको सुस्वास्थ्य र दीर्घायूको कामना।