बटुवाले बाटो सोध्दा पनि मुक्तकमै जबाफ आउँछ भन्ने भनाइ छ पोखराका बारेमा। साहित्य र कला संस्कृतिको राजधानी हो पोखरा। नवलपरासीको गैंडाकोटमा जन्मिएकी सञ्चारकर्मी गौरी तमुले पानी रङ्गको सहर पोखरालाई कर्मथलो बनाउँदै आएकि छन्। उनकोे द्वभाषिक मुक्तक सञ्चयन ‘समै दर्बानी’ अर्थात समयको दर्पण कृति ०७४ भदौमा प्रकाशन भएको छ।
अरुले खनिदिएको बाटोमा हिँड्नु भन्दा अफ्ठेरो नै भए पनि आफैंले खनेको बाटो हिँड्न रुचाउने बहुमुखी प्रतिभाकी धनी हुन गौरी। पहिला राष्ट्र भाषा र त्यसपछि मातृभाषालाई सबैले संरक्षण गर्नुपर्छ भन्ने भावनाकासाथ उनले ‘समै दर्बानी’लाई गुरुङ र नेपाली भाषामा प्रकाशनमा ल्याएकि हुन्।
स्कुलमा कक्षा ७ तिरै साथीको अटो भर्ने बेलामै रुमानी शैलीमा थाहै नपाई मुक्तक लेख्न सुरु गरेकी थिइन् गौरीले। छपाउन र चर्चामा आउन म साहित्य सिर्जना गर्दिन भन्ने गौरीको यो कृति साथीकै करकापले प्रकाशित हुन पुग्यो।
उनी समसामयिक विषयमा बरोबर मिडियामा लेख्छिन्। सबै उमेर समूहसँग मिल्न सक्ने, एक समान व्यवहार गर्न सक्ने सरल र स्पष्ट व्यक्ताका रुपमा मैले गौरीलाई चिनेकी छु। आफ्ना विचारलाई निर्भिकतासाथ स्पष्ट र शशक्त रुपमा राख्ने गौरीको ‘समै दर्बानी’ प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तको हातबाट भदौमा विमोचन भएको थियो।
पुस्तकको दाहिनेतर्फ नेपाली भाषामा ३ वटा मुक्तक र देब्रेतर्फ त्यसकै भावानुबाद गुरुङ भाषामा ३ वटा मुक्तक छन्। १०९ पृष्ठमा नेपाली र गुरुङ भाषाका १३५ वटा मुक्तक छन्। जसमा मुक्तककारका व्यक्तिगत विचार र स्वभाबका साथै समसामयिक विषयवस्तु, माया प्रेम, देशभक्तिका कुरा छन्। साथमा विसंगतीमाथिको प्रहार पनि। गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी विभिन्न संस्थामा संलग्न छिन्।
आफ्नो भाषा र संस्कृति जगेर्ना गर्न सके मात्रै आफ्नो अस्तित्व रहन्छ भन्ने विचार राख्ने उनी अहिलेको पिंढी र नयाँ पुस्ताले समेत मातृभाषामा पढ्न पाउन र भाषाप्रेम जागोस् भनेर दुई भाषामा मुक्तक संग्रह प्रकाशन गरेको बताउँछिन्।
नवलपरासी, चितवन हुँदै पोखरामा कर्मथलो बनाउदै साहित्य सिर्जनामा तल्लिन गौरी यो युगको शशक्त आवाज हुन्। उनले समय सापेक्ष साहित्य सिर्जना गरेर जातीय भाषा र नेपाली भाषालाई एकीकृत गर्दै समै दर्बानी मार्फत योगदान पु¥याएकि छन्। उनका मुक्तकमा प्रेमका रङ्ग धेरै रङ्गमङ्गिएका छन्। जसमा प्रेमिप्रेमिका बीचको प्रेम, पतिप्रतिको प्रेम र बाबाआमा र छोरीप्रतिको प्रेम छताछुल्ल छ। साथै राष्ट्रप्रेम, धार्मिक विचलन, राजनीतिप्रति सर्वसाधरणको धारणा, आफुले भोगेको समाजको यथार्थ चित्रण सरल र सरस भाषामा गरिएको छ।
समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरूभगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरूपूरा गर्न सपना र स्वार्थका ती सिँढीहरुआगोमाथि हिड्न खोज्छन् यहाँ मान्छेहरू।यसको अनुवाद गुरुङ भाषामा छःसमैंलाई ट्होब म्हेमु म्हिमै चुरीनाल्दोलाई किब म्हैमु म्हिमैं चुरीन्वउबर च्युही च कैंडु क्याँमैमि फर प्रब म्हैमु म्हिमै चुरी।अन्त्यानुप्रास मिलेकाले गैर गुरुङभाषीले पढ्दा पनि मिठासपूर्ण लाग्छ। चार हरफे चोटिलो, पोटिलो र रसिलो विधा मुक्तकले लामालामा कविताले व्यक्त गर्न नसक्ने भावलाई प्रस्ट पार्छ। मान्छेको स्वभाव र चरित्रलाई यिनका मुक्तकले उजागर गरेका छन्। आफ्नो स्वार्थ पूर्तिका लागि मान्छे धर्म इमान जमान बेच्न तयार हुन्छ। भाइभाइबीच लडाउन तयार हुने अन्तरघातलाई यी ४ हरफले प्रष्ट पारेको छ।
घाम छँदै अस्मिता लुटाउँछ यो सहरलेफूलको जिन्दगी सुकाउँछ यो सहरलेदिन दहाडै तोकिन्छ मुल्य यहाँ चेलीहरुकोदानवरुपी भ्रष्टहरु कति जुटाउँछ यो सहरले।गौरीका यसरी उद्धरण गर्न लायक मुक्तक कति छन् कति। समै दर्बानीभित्र समयका स्वर छन्। जसमा मायाप्रेम, समाजका विकृति, विसंगति, राजनैतिक चेतना, जिन्दगीका आरोहर अबरोह छन्। लेखक आँफै नै नारी श्रष्टा भएकाले यिनका मुक्तकमा नारी विद्रोह र हुँकारहरु छन्।
दिउँसै खोज्यौ मलाई कहाँ देखिन्छु मउज्यालोमा जुनकीरी कहाँ भेटिन्छु मसहारा बने सधैं तिम्रै अन्धकारहरुमादियो मुनिको अँध्यारोमा कहाँ लेखिन्छु म?मुक्तकहरु पढिरहँदा मन उद्देलित गराउँछ। देशलाई एक पटक सोच्न बाध्य बनाउँछ। विश्वका कुनै पनि कुनामा कुनामा पुगेता पनि देशलाई आवश्यकता पर्दा काँध थाप्न तयार हुनु पर्ने विचार उनका मुक्तकमा पाईन्छ।
जहाँ जाउँ मेरै देशको नाम जप्न पाउँआपत पर्दा यो भूमिलाई काँध थाप्न पाउँजन्मभूमिभन्दा ठूलो केही छैन संसारमाविश्वभरि मेरै देशको नाम छाप्न पाउँ।सामाजिक सञ्जालका माध्यमबाट पोखरा जस्तो साहित्यिक नगरीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल श्रष्टा गौरी नारी र पुरुषको सहयात्राबाटै जीवन सफल र सार्थक बन्न सक्छ भने धारणालाई उनले मुक्तकमा समेटेकी छन्। जीवनको गीत मनको आत्मिय समर्पण मुटुभित्र फैलिएको माटोको सुगन्ध छ। उनका हरेक मुक्तक समयसापेक्ष छन्। संसारको सर्वाेत्कृष्ट उपहार आमा हुन्। तर सन्तानको उन्नति र प्रगतिका लागि बाबाआमाको समान भूमिका हुने कुरालाई मिठासका साथ उनले पस्केकी छन्। त्यस्तै अनेकौं दुःख कष्ट सहेर सन्तान जन्माउने आमा सधैं पर्दा पछाडि नै रहन्छिन्। पितृ सत्ताले नारीलाई परापूर्व कालदेखि पछाडि नै पारिरहेको छ भन्दै नारीवादी हुकाँर पनि व्यक्त गरेकी छन्।
जन्माउँछिन् नारीले सन्तान वंश तिम्रै हुनेजन्मजातै बाउबाजेको अंश तिम्रै हुनेसदियौंदेखि पिल्साएर राख्यौ नारीलाईकस्तो अन्याय अझै पनि वंश तिम्रै हुने।साहित्य लेखन सदैव समय, समाज र परिवेशभन्दा टाढा गएर लेख्न सकिदैन। यो मुक्तक सङ्ग्रहभित्र पनि यही समय, परिवेश, प्रकृति, देश, समाज, सामाजिक विकृति, विसंगति, मायाप्रेम, नारीका आवाजलाई विषयवस्तुका रुपमा समेटेकी छन् गौरीले। दैनिक जीवनमा आइपर्ने समस्याहरुसँग लड्दै अघि बढ्न प्रेरणा दिने नारीवादी स्वर पाइन्छ यी मुक्तकमा।
कति दिन्छस् ठक्कर दे जिन्दगीदुःख पीडा नभए त के जिन्दगी ?कहिले तँ लडाउँछस् कहिले म तँलाईलड्दै उठ्न सिकेको छु अरे जिन्दगी।गौरी सरल र मिलनसार हुनुका साथै आफुले समय समायोजन गरेर हिड्न जानेकोले नै घरपरिवार, व्यावसाय, साहित्यिक गतिविधिमा सहभागिता जनाउनुका साथै शिक्षण पेशालाई पनि सन्तुलित रुपमा बढाउन सकेकीछन्। गौरीको व्यक्तिगत र साहित्यिक जीवनलाई मैले अत्यन्तै नजिकबाट बुझेकी छु। तीन महिना अघि मात्रै लोकार्पण भएको समै दर्बानी स्वदेशमा मात्रै नभएर विदेशमा समेत लोकप्रिय बन्न पुगेको छ। दोस्रो संस्करणको तयारीमा जुटेकी मित्र गौरीलाई लाख लाख शुभकामना।