भनाइ नै छ, जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि। कविमन र कवित्वपनका कारण एउटा गम्भीर काव्यस्रष्टाले साधारण व्यक्तिले बुझ्ने र देख्नेभन्दा सूक्ष्म तरिकाले जीवनजगतलाई नियाल्ने प्रयत्न गरेको हुन्छ।
त्यस्तै व्यक्तित्वका रूपमा दुई दशक अघिदेखि साधनारत एक काव्यशिल्पी हुन् दीपेन्द्रसिंह थापा। २०६२/२०६३ को दोस्रो जनआन्दोलन उत्कर्षमा पुगेका बेला 'जीर्ण पर्खाल' कविता सङ्ग्रह सार्जनिक गरेर तत्कालीन समयबिम्बलाई समेत उजागर गर्न अघि सरेका कवि दीपेन्द्रसिंहले त्यसको ठीक ८ वर्षपछि दोस्रो कविता सङ्ग्रह 'सहयात्री शब्दहरू' प्रकाशित गरेका छन्।
यस कविता सङ्ग्रहका माध्यमबाट उनले सामाजिक रुग्णता,बेथिति, अराजकता र विविध विसङ्गतिप्रति दरो झापड हानेका छन्।
धादिङको बेनिघाट रोराङ गाउपालिकाको वडा नं. २ मा पर्ने ताल्तीमा जन्मेका कवि दीपेन्द्रसिंहले आफू र आफू जन्मेको भूगोललाई कविताका माध्यमबाट चिनाउने कोसिस गरेका छन्।
सरल र शान्त स्वभावका धनी कवि दीपेन्द्रसिंह आफू र आफ्ना कृतिका बारेमा खासै चर्चा गर्न रुचाउँदैन्न्। व्यक्तिगत तनाव, कसैप्रतिको ईर्ष्या र अनावश्यक प्राप्तिको तृष्णा बोकेर कुद्ने आजको दुनियाँभन्दा पर देखिन्छन्।
उनको व्यक्तित्व र सिर्जना एक अर्काका परिपूरकजस्ता देखिन्छन्। शान्त स्वभाव, शालीन शैली र तर्कशील क्षमताका धनी कवि दीपेन्द्रसिंहका कविताहरु भने समकालीन युगप्रति आगो ओकाल्न सक्ने क्षमता राख्दछन्।
फूलको वास्ना सुँघेर
फूलमै पिसाब गर्ने कुकुरहरू
र मातेका मठाधीशहरूमा
केही फरक छैन अचेल
माटोको टीका लगाउँछन्
र माटामै पिसाब गर्छन्
मातेका मठाधिश अचेल
(माटो र मठाधीशहरू पृ.३५)
उनको जीवनशैली जस्तै सरलता र सरसता पाइन्छ उनका कवितामा। थोरैमा धेरै व्यक्त गर्न सक्नु उनका कविताको काव्यिक विशेषता हो। यिनै विशेषताभित्र समेटिएका छन् दीपेन्द्रसिंह थापाका "सहयात्री शब्दहरु"। यस पुस्तकको नामले नै विशेष अर्थ राख्दछ। सहयात्री भन्नाले सँगै हिड्ने हुन्छ भने वर्णहरुको मेलबाटै शब्दहरु बन्दछन्। कवि दीपेन्द्रसिंहले पनि वर्णहरुको मेलबाट आफ्नो समाज र समाजका चरित्रलाई सँगसँगै प्रतिबिम्बित गराउने प्रयत्न स्वरूप काव्यात्मक र प्रतीकात्मक पाराले शब्दहरुको चयन गरी 'सहयात्री शब्दहरू' कविता सङ्ग्रह (२०७२)हामीसामु पस्केका हुन्।
साहित्य प्रायजसो समकालीन परिवेशको पेरिफेरिभित्र रहेर सिर्जना गरिन्छ जसबाट दीपेन्द्रसिंहका कविताहरु पनि अछुतो रहन सकेका छैनन्। समयका हरेक स्वरसँग तादात्म्य राखेर जीवनका सुकुमार फाँटमा सहयात्री हुन सक्नु 'सहयात्री शब्दहरू' कविता सङ्ग्रहको वैशिष्ट्य हो।
३६ वटा कविताको समायोजन गरी पुस्तकाकार रूपमा यथार्थपरक मिठास पस्कन सफल भएका छन् कवि दीपेन्द्रसिंह थापा। 'सहयात्री शब्दहरु' कविता सङ्ग्रहमा जीवनका गतिशील विषयवस्तुहरुलाई समेट्ने प्रयत्न पाइन्छ।
दीपेन्द्रसिंहका कविताहरु सरसर्ती पढ्दा सरल,सहज र सम्प्रेषणीय लाग्छन्। बिन्दु शीर्षक कविताबाट सुरु गरेर बाटो शीर्षकको कवितामा टुङ्गिएको छ। उनका कवितामा पहिचानको कुरा, हिमाल, पहाड, प्राकृतिक सम्पदा, राजनैतिक विकृति विसङ्गतिप्रति वितृष्णाका साथै आफू जन्मे हुर्केको समाजको चित्रण गरेका छन्। राजमार्ग छेउछाउमा गरिने व्यापारको प्रसङ्गलाई उठाएर त्यसका नाममा हुने गरेको देह व्यापारप्रति सरल र मिठासपूर्ण ढङ्गले व्यङ्ग्य गरेका छन्।
भुगोलका भिन्नभिन्न परिधिहरुलाई
लमतन्न सुतेर अँगाली बसेको
एकतमासको राजमार्गछेउ
कतै उखु बेच्दै
कतै उमेर जोख्दै
(राजमार्गकी राजकुमारी पृ. २४)
कवि दीपेन्द्रसिंहका कवितामा इन्द्रेणी रङको समायोजन पाइन्छ। जीवनका हरेक रङ्ग समेटिएका उनका कवितामा मायाप्रेम, सन्तानको स्नेह, देशप्रेम, भ्रष्ट राजनेताका कुरादेखि लिएर लोकतन्त्रसमम्मका विषयवस्तु समावेश छन्।
मेरी छोरीभन्दा
जीवन्त सिर्जना
अरु हुन सक्दैन मेरा लागि
मेरी छोरीभन्दा
सुन्दर रहरको इन्द्रेनी
अरु बन्न सक्दैन मेरा लागि
(सानी छोरी र कविता पृ.१२)
कवि दीपेन्द्रसिंह थापाको 'सहयात्री शब्दहरु' कविता सङ्ग्रह एउटा जीवन दर्शन हो। सानी छोरी र कविता शीर्षकको कवितामा कविले सन्तानको माया,सामीप्यलाई छताछुल्ल पारेर पोखेका छन्। सन्तानको माया जति स्वच्छन्द र निर्दोष अरु केही हुन्न। जहाँ पाउने आशा शून्य हुन्छ भने जति खन्याए पनि नसकिने नअघाउने अतृप्त स्नेह हुन्छ।
कविताका बिम्बले धेरैतिर धेरै कुरा बोल्छन् र सबैभन्दा बढी समय बोल्छन्। कहिलेकाहीँ त कविताले लेखिएको समयभन्दा धेरै पछिको समय बोलेजस्तो पनि लाग्छ। समयका हरेक स्वरसँग तादात्म्य राखेर जीवनका सुकुमार फाँटमा सहयात्री हुन सक्नु शब्दहरू सहयात्री हुनुको दम हो। यही दमको दमदार यात्रामा कवि दीपेन्द्रसिंह थापा यात्रारत छन्।
मृत्यु मृत्युजस्तो नभएको भए
म मजस्तो हुने थिइन
आकारहीन आकार भएर
आजहीन आवाज भएर
मृत्युले......
(मृत्यु र म पृ.४१)
कवि दीपेन्द्रसिंह थापाको " सहयात्री शब्दहरु" कविता सङ्ग्रहले जीवनका हरेक पक्षलाई छोएको छ। मायाप्रेम, सामाजिक विकृति विसङ्गति, देशप्रेम, प्रकृतिप्रेम, राजनैतिक विकृति विसङ्गति भ्रष्ट राजनेताका साथसाथै जीवनको अन्तिम र शाश्वत सत्य मृत्युलाई सहज रुपमा व्यक्त गरेका छन्।
आकारहीन, दृश्यविहीन मृत्युले कतिबेला आउँछ र हामीलाई टपक्क टिपेर लान्छ भन्ने कुरालाई सहज रुपमा व्यक्त गरेका छन्। पाउनु र गुमाउनु मात्रै जीवन हैन् ,आफूदेखि आँफैसम्मको यात्रा हो जीवन। यही जीवनको सेरोफेरोमा घुमेका छन् कवि दीपेन्द्रसिंहका कविताहरु। सुरुदेखि अन्त्यसम्म एकसमान रुपले बगेका छन् कविताहरु।
जसरी कविता बगेका छन् कवि पनि त्यसै गरी सरल र सहज रुपमा बगेर पाठकलाई पनि यही बहाबमा बगाउँन सफल भएका छन्। पाठकलाई पट्यार लाग्दा र दोहोरिएका विषयवस्तु कहिकतै पाइँदैन। "सहयात्री शब्दहरू" कविता सङ्ग्रहमा रहेका ३६ वटा भिन्न भिन्न शीर्षकका कविताहरू पढ्दै जाँदा कहिँकतै क्रमभङ्गता पाइँदैन। "सहयात्री शब्दहरू" कविता सङ्ग्रहमा माटाको माया, देशप्रेम, लोकतन्त्र, राजनैतिक चेतना, नयाँ शासन व्यवस्थामा नयाँ मुखुन्डोधारी पुरानै प्रवृत्तिका नेताहरुप्रति व्यङ्ग्य प्रहार सशक्त रुपमा रहेको छ।
हिमाल उक्ल कि पहाड लम्क
या पुग तराई
म त बाटा
युगौँसम्म
उहीँ बाटो नै रहनेछु
उहीँ माटो नै रहनेछु
पूर्ववत्।
(बाटो पृ.६६)
कवि दीपेन्द्रसिंहका कविताहरुमा विकृति, विसङ्गति, राजनैतिक व्यवस्थाप्रति नैराश्य मात्रै नभएर नेपालका प्राकृतिक सौन्दर्य, राष्ट्रप्रेम, एकत्व भाव, मानवता, स्वाभिमानका कुरा पनि पाइन्छन्।कवि दीपेन्द्रसिंहको 'सहयात्री शब्दहरू' मा पाठकले विविधतामय आस्वादन र विषयवस्तु पाउँने छन्।
परिवर्तनका पाइलाहरु छेकी बस्ने
घामका पहारिला किरणहरु रोकी बस्ने
पुरानो न पुरानो
अँध्यारो न अँध्यारो धङधङी बाँचेको
जो गर्लम्मै ढल्नु नै छ
र ढल्छ नै(परिवर्तन पृ.४५)
यी र यस्तै काव्यिक चिन्तनले नै कवि दीपेन्द्रसिंहको काव्यिक परिपक्वतालाई झल्काउँछ।शिल्पको मिठास र अक्षरको कुँदाइ, भावको सघनता र जीवनबोधको रहस्यमयता, जीवनलाई माया नगरी, सपनालाई सम्मान नगरी र भोलिहरुमाथि विश्वास नराखी कविताले दीर्घ जीवन पाउँदैन् भन्ने चेतना दीपेन्द्रसिंहका कवितामा पाइन्छ। अन्तरलय, अनुप्रासमय र अलङ्कारको प्रयोगमा कवि दीपेन्द्रसिंह सचेत छन्।
कथ्यको मूलभाव नछोड्नु, वक्रोक्तिवादको प्रयोग, सुक्तिमय हुनु, अनुभुतिसँग रमाउनु कवि दीपेन्द्रसिंहको विशेषता हुन्। लामो समयदेखि प्राध्यापन पेसामा संलग्न कवि आफ्ना कवितामा अति विशिष्ट भावहरु पस्कने कवि दीपेन्द्रसिंहका साहित्यक कृतिको सुवास टाढाटाढासम्म फैलिरहने छ।साहित्य सिर्जना यात्राका क्रममा शब्दहरुसँगै सहयात्री बनेको सिर्जनात्मक दृष्टान्त 'सहयात्री शब्दहरु' कविता सङ्ग्रह हो।