हिँड्छ -
हरेक जाग्रत प्रहरमा
हरबखत एउटा यात्रा
खोज्छ -
अनुभूतिको ऐनामा
हरपल एउटा आकृति
खोजी नै रहन्छ
पलपल चेतनाले आफूलाई।
कुनै मोडमा केही धूमिल
कुनै प्रवाहमा केही प्रस्ट
एउटा अस्तित्वको छायाँ
हिँडिरहन्छ वरिपरि
आफैदेखि आफैसम्म
एउटा गतिजस्तो
आफैसम्म पुग्ने
एउटा गन्तव्यजस्तो।
आफ्नैआफ्नै बुझाइ
आफ्नैआफ्नै विश्वास
हिँडाइ र लय आफ्नै
सम्भावना र सौन्दर्य आफ्नै
सबैसबै रङहरूमा
सबैसबै रसहरूमा
सृष्टिको फूलबारीमा
फुली नै रहन्छन् विचारहरू
समयका पालुवाहरूमा
खुली नै रहन्छन् वैशिष्ट्यहरू।
दिशा र दृश्यसँगै
हेराइ र फैलाइसँगै
आफ्नैआफ्नै कोणबाट
अनबरत लेखिदै जान्छ
जीवनको पृष्ठ
भोगाइका
अनगिन्ती उकालीओरालीहरूबाट
देखिदै जान्छ
अनुभवको गोलार्द्ध।