दश नम्बरको माइक्रो स्टेसनको ठ्याक्कै अगाडिको चिया पसलमा माइक्रोतिर फर्किएर बसेकी छु। चिया पसलको काउन्टर तथा अँगेनामा क्रमशः गहुगोरो वर्णका अधबैंसे पुरुष र महिला छन्। कुनामा एक युवती, एउटा बालकलाई दुध चुसाउँदै गरेको देख्छु र अनुमान लगाउँछु– परिवारको।
चिया पसलका पुराना काठका बेन्चमा आ–आफ्ना समूहमा युवा र अधबैंसे पुरुषहरू गफिइरहेका छन् र तिनका नजर अन्तै हेर्ने शिलशिलामा दुध चुसाई रहेकी युवतीतर्फ केन्द्रित देखिन्छन्।
कानमा टासिएको इयरफोनबाट ‘तैँ मोरीको माया छ...’गीत गुञ्जिरहेको छ। टेबलमा तर बस्न लागेको चिया छ अनि दाहिने हातको चोर र माझी औंलाको बीचमा च्यापेको सूर्य चुरोटबाट खैरो रंगको मसिनो धुँवा उडिरहेको छ। म भने च्याटमा व्यस्त छु। लेखेर पठाउन मन लाग्छ तैँ मोराको माया छ, लेख्छु पनि तर सेन्ड गर्दिनँ। लेख्दा लेख्दैको म्यासेज डिलिट गर्छु अनि मोबाइल टक्टक्याउँछु चुरोटबाट खसेको सेतो खरानी फाल्न।
माइक्रो बसको युवा ड्राइभर खलासीतिर हेरेर भद्दा संकेतमा ‘काठमाडौंबाट भक्तपुर आ’को छु, तिमीलाई भेट्न भनेर धा’को छु’ गीत गाउँदै चिया पसलमा पस्छ। यो गीत मलाई कतै सुनको जस्तो लाग्दैन। बरु टंक लम्सालले गाएको ‘अछामबाट म सुर्खेत’ गीत सुनेकी थिएँ।
त्यसैले भन्छु ‘तपाईंको स्वर मीठो रहेछ। नेपाल आइडल २ मा अवश्य भाग लिनु होला, नेपाल आइडल ढिला सुरु भए इन्डियन वा इङ्गलिस आइडलतिर प्रयास गर्दा राम्रो।’
हरियो बत्ति बल्छ मोबाइलमा हेर्छु ग्रुप म्यासेज रहेछ।
तर म चाहन्थेँ ग्रुप हैन सिङ्गल इन्बक्सका लागि हरियो बत्ति बलोस् अनि गफिन पाऊँ। तर त्यसो भै रहेको थिएन। गफको खास विषय पनि थिएन तर गफिनु त थियो र म गफका लागि पर्खिरहेकी थिएँ।
अन्जानले ग्रुपमा म्यासेज छोडेछ, ‘यसपालि भोट केमा हाल्ने साथी हो?’
भोट! पैसा, मासु र रक्सीमा। अनि जित चुनाव खर्च उठाउन र सार्वभौमिकता आफ्ना साना स्वार्थ पूरा गर्न नि! दिमागले झट्ट सोच्न भ्याउँछ।
म्यासेन्जरमा साथीहरू बहस गरिरहेका छन्। कसले काङ्ग्रेस सक्छ, को राजनेता हुन्छ, को राजनीतिको लाख खेलाडी हो, अब कति वर्ष कसको एकछत्र शासन चल्छ, कुन क्षेत्रमा कसले जितका लागि के के बम्ह्रास्त्र प्रयोग गरिरहेको छ सबै सबै मैले पढिरहेकी छु। कानमा बजिरहेको गीतलाई छेडेर भित्रसम्म पुगेका चिया पसलका रंगीचङ्गी गफ सुनिरहेकी छु। प्रविधिको दुनियाँमा यो पनि एउटा फाइदा छ।
जग्गा किनबेच र मेनपावर कम्पनी सञ्चालक तथा व्यपार व्यवसायीबाट कति–कति, कस–कसलाई चुनावी सहयोगका लागि चन्दा प्रदान भै रहेको छ। र कुन कुन क्षेत्रमा भोटहरुको मोलमोलाई भै रहेको छ, कुन कुन चुनावी मैदानमा क–कसका खाटि समर्थक चुवान गराउन खटिएका छन? समाचारहरु आ–आफैँ तछाडमछाड गर्दै पोखिइरहेका छन्। त्यसैले होला चिया पसल गर्मिलो बनेको छ।
मानिसहरू पनि किन आ–आफ्ना पार्टिले किन्न लागेका भोटप्रति गर्व गरिरहेका होलान? सोच्नु पर्ने विषय भएर पनि सोचिनँ मैले। अनि सोचे ‘किन्न लागेका ज्वाँइप्रति पनि त बाबुआमा गर्व नै गर्छन् नि।’ नपोल्नु पर्ने मन बाफिलो बन्छ ‘दाइजो नल्याएर जिउँदै जलेकी नवयुवती सम्झिएर’ अनि भेडो हुने कामना गर्छु ‘सम्पति विवरणमा दाइजोप्रति गर्वले छात्ति फुलाउने शासकबाट शासित हुनु परेकोमा।’
तर... यी सबै यो देशका विषय हुन्। म त मेरो निजी जीवनको मात्र चिन्ता गर्ने मान्छे। दिमाग र मनमा आफ्नो खुशी प्राप्तिका बाटा केलाउँदा केलाउँदै कहिलेकाहीँ देश दुख्ने गर्छ। मलाई त बरू मेरै जीवन दुखोस्, दुख्न नपरोस् देश भन्ने लाग्छ भने दिमाग र मनभरि मात्र देश बोकी हिँड्नेहरुले स्वतन्त्र र निष्पक्ष चुनाव, नागरिक हक, अधिकारका विषयमा सोचेकै छन् नि। म देश सोच्ने जिम्मा देशका लागि बाँचेका र प्रजातन्त्रको पहरेदार बसेका ठूलो मुटु, मन र दिमाग भएकाहरूलाई सुम्पन्छु।
र सुस्केरा छोड्दै अर्को कप चिया माग्छु। सँगै सलाई पनि, अनि सल्काउँछु सूर्य चुरोट। उम्लिरहेको चियालाई स्टिलको बिँड भएको कपले चलाउँदै गरेकी अधबैंसे देखेर सोच्छु ‘बरु डाडुले चलाउनु नि हात पोल्छ।’उनी मलाई एकोहोरो हेरिरहन्छिन्। म फिस्स हाँस्छु। जवाफमा उनी मुस्कुराउँदिनन्, नाक खुम्च्याउँछिन्।
मेरो पहेँलो कर्ली कपाल, हातमा खैरो धुँवा छोड्दै गरेको चुरोट, ठाउँ–ठाउँमा च्यातिएको जस्तो देखिने लुज जिन्स अनि गला अलि खुलेको कालो टिसर्ट देखेर पनि होला उनले हाँसोको प्रतिउत्तर दिन मन गरिनन्। मन कोक्यायो। अरूसँग राखिने अपेक्षाले हो दुख्नु पर्ने। सोचेँ ‘दुखाई महसुस गर्न छोड्दा पनि दुख्दो रहेछ मन।’
त्यसपछि मैले चिया पसल वरिपरी ध्यान दिन्छु। अधबैंसेहरू, युवाहरूसँग चुरोट र चिया पिउँदै आफ्ना गहन छलफल गरिरहेका भेट्छु। राजनीतिक, आर्थिक, सामाजिक छलफलका बीचबीचमा पारिवारिक समस्या पनि उप्किरहेका छन्।
सेतो क्यापटोपी लगाएको मोटोमोटो अधबैंसे भनिरहेको छ, ‘छोराको बिहे गर्नु पर्ने सबैं केटी बिग्रेका छन्। आजभोलि त केटीका स्कूलमा, कलेजमा, घुम्न फरक फरक ब्वाइफ्रेन्ड हुन्छन्। कस्ती पर्ने हो हेरेर र चिमोटेर चालै नपाइने।’सोच्छु ‘त्यतिका धेरै तिनीहरूका सप्रिएका छोराहरू पो तिनै बिग्रिएका केटीका ब्वाइफ्रेड किन बनेका होलान्। यदि उनीहरूका छोराहरू सप्रिएका भए एउटी केटीका त्यति धेरै ब्वाइफ्रेड पो कताबाट आएका होलान्!’
फोक्सो सम्म पुग्ने गरी चुरोट तान्छु र धुँवा छोड्दै एक्लै मुस्कुराउँछु। अनि आँखा जान्छ पिलपिल बलिरहेको मोबाइलको हरियो बत्तिमा। आज बरालिन ननिस्कने? बरालिंदै बरालिंदै बाटो परेमा म भएसम्म आऊ। म चिया बनाएर कुरीरहन्छु।’
खचाखच भरिएको माइक्रो कुदाउँदै छ चिया पसलमा भेटेको युवा ड्राइभर। ‘बाजे मिलेर बस्नुस’ खलासी एउटा बुढो मानिसलाई उसको कुप्रो ढाड सिधा गरेर उभिन भनिरहेको छ। बसी रहेका छन् एक युवा जोडी, जेष्ठ नागरिक लेखिएको सिटमा।एक पुरुष भीडको फाइदा उठाउन मेरो दायाँ कानमा उसको टाउको जोड्न प्रयत्नमा छ। तातो वाफ कान हुँदै छरिएको मलाई स्पष्ट थाहा छ। शरीर त छरपष्ट कता कता मिसिएको छ हेक्का गर्न मन लाग्दैन। खासमा म शरीरलाई महसुस गर्न चाहन्नँ। किनकी, मैले यात्रा गर्ने नगरमा यो पहिलो पटक भइरहेको थिएन।