भावीले बनाएको चुलामा
आफ्नै भाग्यका दाउरा हाली
बल्दै निभ्दै
समयको गतिसँग अस्तित्वमा छिन् उनी !!
थाहा एउटै कुरा थियो
जन्मपछि मृत्यु निश्चित छ
तर पटक पटक मर्दा पनि
कहिले सन्तुष्ट भएनन् दोषी मनहरू
व्यथाको इतिहास मात्र होइन
तिम्रो, मेरो र उनका बोल्ने कथाहरू
सामुन्ने आएर उभिँदा
बिपनीमै बर्बराउँछिन् उनी !!
घर आफÞनो खोज्दा खोज्दै
मनको बसाई सराई सँगसँगै
मिठो कल्पनामा प्वाँख लगाउँथिन्
र प्रेमको आकाश चुम्न खोज्थिन् उनी
तर गगन चुम्न नपाउँदै
समयको धारिलो हावाले
प्वाँख छिन्न भिन्न पारिएकी
घाइते चरी बनिन् उनी !!
विद्रोही त होइनन् उनी
तर जन्जिरले बाँधिएका छन् उनका पाउहरू
आवाज पनि थुनिएकी
अप्रत्यक्ष जेलकी बन्दी उनी !!
उकुसमुकुस कुण्ठाको पिँजडाभित्रबाट
निस्कन खोजिरहेकी छिन् उनी
चिच्याउँछिन् ,कराउँछिन् तर मुल्याकन गर्ने आँखाहरुले
गहिरिएर मनको कागजमा लेख्दैनन्
टाँगिएको ब्यानरमा
‘विद्रोही’ परिभाषित हुन्छिन् उनी !!
तिम्रा रगतले पनि झुटो कहानी लेखिनु पथ्र्यो
पोल्नु पथ्र्यो आगोको रापले तिमीलाई
सायद तिमी बुझ्थ्यौ दुखाइ र भोगाइ हेराइ भन्दा भिन्न हुन्छन्
तिमीले लेखे जति हल्का छैनन् यी दुखाइहरू
अविराम वेदनाकी बन्दी उनी !!
मुक्तिको लागि छटपटाइरहेकी उनी
चर्केको ऐनामा आफनै
बिम्ब विभाजित पाउँछिन् उनी
भोगाइ र दुखाइको कुनै सटिक शब्द पनि
पाउँदिनन् उनी !!
आफैलाई हराएकी
आफैलाई खोजिरहेकी उनी
तिमी नै हौ अनि म पनि हुँ
हामीबाटै पीडाको पिँजडा भित्र
छटपटिएर अर्द्धमृत जीवन बाँच्न
विवश बनाएकी उनी !!
(कवि गौचन हाल अमेरिकामा बस्छिन् ।)