अचम्म, सधै जसो ढिला भइरहने आन्तरिक उडानको हवाइजहाज अन्ततः निर्धारित समयमा नै उड्ने भयो। एयरहोस्टेसको निर्देशन पछि शान्त भएको जहाजले ठूलो आवाज निकाल्दै तिव्र गतिमा जमिन छाड्यो । मलाई सबैभन्दा बढी डर लाग्ने भनेको यही बेला हो । उचाई लिँदै दुई चक्कर काटिसकेको जहाज स्थिर भइसकेको थियो। म भने झ्यालबाट बाहिर चिहाउदै थिएँ।
उपत्यकाको कंक्रिटको जंगल करिव करिव हराइसकेको थियो । बाहिरको दृष्य भने बेग्लै थियो । तल देखिने स-साना खोलानाला, थुम्का, डाडामाथि थपक्क बसेका बस्तीहरु अनि सबैभन्दा मनमोहक भनेको बिहानी घाममा खुलेका उत्तरतिरका चाँदी जस्ता चम्किला हिमालहरू। मलाई लागिरहेको थियो कि, म आफ्नो गन्तव्यमा नभई माउन्टेन फ्लाइटमा उडिरहेको छु।
“एक्सक्युज मी सर” एयरहोस्टेसका सुरिलो स्वरले झसंग बनायो । दुई टुक्रा चकलेट हातमा लिदै कानमा कपास कोचार्दै म भने बाहिरकै दृष्यावलोकनमै व्यस्त रहेँ। अरु यात्रुहरु मध्ये प्रायको ध्यान बाहिरै थियो, कोही आँखा चिम्म गरिरहेका थिए भने कोही पत्रिकामा आँखा डुलाइरहेका थिए।
जहाज आफ्नै गतिमा उडिरहेको थियो । उता एयरहोस्टेसहरु भने केही कुरा पस्कने तयारीमा थिए। अचानक विमानबाट आएको ठूलो खट्याक आवाजले सबैको ध्यान खिच्यो। पाइलटले के बोले कुन्नी, कसैले बुझेनन्। विमान आफ्नै गतिमा उडिरहेको थियो, तर दुबै जना एयरहोस्टेस हतारहतार अगाडि लागे पछि भने मन ढक्क फुल्यो। केही समय पश्चात फेरि त्यसरी नै दुई तीनपटक केहि समयको अन्तरालमा लगातार आवाज आएपछि भने सबैजनाको होसहवास उड्यो।
सबै यात्रु मुखामुख गरिरहेका थिए । त्यतीकैमा एकजना एअरहोस्टेस बाहिर आइ भयमिश्रीत स्वरमा विमानमा केही प्राविधिक समस्या आएको तर नआत्ति बस्न, सिटबेल्ट बाध्न र धुवा भरिएको खण्डमा भुइमा भएका बत्ती पछ्याइ इमर्जेन्सी ढोका तर्फ निस्कन आग्रह गर्दै थिइन्। अन्य यात्रु सबैको अनुहार निलोकालो भइसकेको थियो। तर म भने मेरो मनलाई आश्वस्त पार्दै थिएँ।
मलाई थाहा थियो हाम्रो जस्तो भुबनोट भएको मुलुकमा विमान दुर्घटना हुने मुख्य कारण मौसमी प्रतिकुलता हो, त्यस पछि प्राविधिक समस्या र मानवीय (चालक)को त्रुटी। यस्तो सफा मौसम छ, ठुलो प्लेन अघि चढ्दा र भित्र हेर्दा ठिकठाक नै छ । अनि केहि गरी प्राविधिक समस्या आइहाले पनि त नजिकैको एयरपोर्टमा इमर्जेन्सी ल्याण्डिङ त गरिहाल्ला नि । यति सम्झदै मनलाई सान्त्वना दिँदै बसिरहेको थिएँ।
यत्तीकैमा विमान तलमाथि गर्दै हल्लन लाग्यो । ठूलो जहाजमा कैयौ पटक यात्रा गरेको मेरो शरीर अनि मन त्यसपछि भने विमानसँगै त्यसरी नै हल्लन पुग्यो। ककपिटमा पाइलट कोडभाषा प्रयोग गरी के के बोलिरहेका थिए कुन्नी थाहा भएन। फेरि चर्को आवाज निकाल्दै र उसै गरि हल्लदै जहाजले आफ्नो दिशा परिवर्तन गर्यो। बाहिर टल्किरहेका हिमाल भर्खरै म बाट टाढा अनि विपरित भए । एयरहोस्टेसले फेरि त्यसै गरी कापेको स्वरमा विमानमा समस्या आएकाले हामी काठमाडौं फर्कदै छौ भन्दै के के निर्देशन दिइ कुन्नी, शायद कसैले सुने होलान्। विमान त्यसै गरि हल्लि हल्लि तलमाथि गर्दै उडिरहेको थियो।
पहाडका थुम्का र जंगल पनि नजिक नजिक भएको प्रतित भइरहेको थियो । विमान भित्र कोलाहलयुक्त वातावरणमा रुवावासी चलिरहेको थियो । प्रायः यात्रु विमानको अगाडिको सिट समात्दै आँखा चिम्लिरहेका थिए भने कोही आफन्तलाई। विमान कोल्टे परेर फेरि ठूलो आवाज आएपछि भने मेरो पनि हंशले ठाउँ छाड्यो। नौनाडी गलेर आए। मुटु कुनै म्याराथुनमा डौदे झै भयो। पिसाव तुरुक्क चुहिएला झै भयो। सिधा अगाडि बिचमा दुबैतिरबाट सिटबेल्ट बाधेकी होस्टेसले फेरि कापेकै स्वरमा सबैजनाले आआफ्नो सिटबेल्ट बाध्नुस्, अगाडिको टेबल बन्द गरी कुनै पनि सामान काखमा नराख्नुस भने पछि भने पक्का भयो अब जहाज खस्यो।
त्यत्तिकैमा मलाइ भाउन्न भएर आयो । यस्तो भाउन्न एकपटक भृकुटीमण्डपमा रोटेपीङ खेल्दा भएको थियो । कान धुम्म भयो अनि आँखामा कालो बादल लागेर आयो।
***
भसङ्ग ब्युँझदा भने कता हो कता नमिठो गन्धका बीच जंगलमा आफूलाई पाएँ। उज्यालो थियो बाहिर, तर सुनसान सुनसान सन्नाटा। दायाँ बाँया छामे, केही छैन । जुरुक्क उठेर यताउति नजर डुलाएँ। अघि भर्खर चढेको बिमान त टुक्राटाक्रीमा सिमित थियो। कतै आगो बलिरहेको थियो। सामान र झोलाहरु छरप्रष्ट थिए। असरल्ल छरिएका मानिसहरु कोही संग्लै थिए , कसैका अंगहरु छुट्टिएका थिए र प्राय भने डढेका थिए।
ह्तपत आफूलाई हेरेँ , अहः केही छैन, यसो चिमोटे, तैपनि केहि अनुभूती हुँदैन। हैन हौ, के अचम्म हो यो। भ्रमै भ्रमको बीचमा फेरि आँखा चिम्म गरेँ अनि उघारी हेर्दा खेरि पनि दृष्य उहि छ। आफैं दिग्भ्रमित भई रनभुलमा परिरहेको बेला केहि मान्छे बोलेको आवाज सुन्दा मनमा फेरि झिनो आशा पलायो। हैन म जस्तै अरू कोहि पनि जीवित छ कि भनेर।
नेपथ्यमा सुनेको आवाज बिस्तारै ठूलो भएपछि भने साहस पलायो। यसो हेरेँ एक हुल मान्छेहरु माथि डाँडा नजिकै पुगिसकेका रहेछन्। भएभरको बल लगाएर जोड जोडले बोलाएँ ‘ए दाइ ए दिदी...’ बोलाइरहेँ। मान्छेहरू माथिबाटै हेरिरहे कसैले वास्ता गरेनन्। फेरि झाडीबाट एउटा हागो भाचेर हल्लाइरहे, चिच्चाइरहेँ। तैपनि कसैले ध्यान नदिएपछि भने पक्का भयो कि म पनि ज्युदो रहेनछु।
तर अचम्म मेरो चेत उस्तै छ, सम्झना संग्लै छन् तर शारीरिक अनुभूती मात्र शून्य । केहि घण्टा अगाडि त हो नि घरबाट बिदा भई आफैं गाडी चलाई, विमानस्थल पुगी काठमाडौंबाट पश्चिम जान विमान चढेको। हैन कुन चोलामा प्रवेश गरेँ म। यत्तिकैमा मैले मेरो घरपरिवार सम्झे, इष्टमित्र आफन्त साथिभाइ सम्झेँ। अस्ति भर्खरै इन्गेजमेन्ट गरेकी मेरी प्यारी दिव्याको हसिलो मुहार सम्झेँ। कसैको सहयोग लिउ, आफ्नो चोला यस्तो भएको छ । अजिवको मन बेचैन भएर आयो।
***
करिब आधा घन्टाको अवधिमा वरिपरी निकै चहलपहल बढिसकेको थियो । मानिसहरु र सुरक्षाकर्मीको बाक्लै उपस्थिति भइसकेको थियो । कोलाहल र हल्लायुक्त वातावरणकै बीच टाढाबाट हेलिकप्टरको मधुर आवाज आयो, जुन विस्तारै बढ्दै नजिकैको थुम्कोमा आएर ल्याण्ड गर्यो। हल्लाखल्ला पछि थाहा भयो, काठमाडौंबाट ठुलाबडासहितको टोली निरीक्षणका लागि आएका रहेछन्। अचम्म लाग्यो, हैन यति छिटै सरकारी टोली कसरी दुर्घटनास्थल पुग्यो भनेको त विमानमा एकजना मन्त्री पनि सवार रहेछन्। कसलाई थाहा होस र यति सानो देशमा पचास-साठी जना मन्त्री। त्यही भएरै होला तत्कालै लास खोज्ने, जम्मा गर्ने, सनाखत गर्ने र ब्ल्याकबक्स खोज्ने कार्य तिव्र गतिमा अगाडि बढ्यो।
केहिले त खुसुक्क केही सामान, मोवाइल र पैसा आफ्नो गोजीमा हालेको पनि देखियो।
केही बेरको निरीक्षण पश्चात हेलि फर्कने सुइको पाउनासाथ म पनि काठमाडौं फर्कने सोच बनाउँदै सुटुक्क हेलिको पछिल्लो सिट पछाडि गएर बसिहालेँ। मलाइ त के थ्यो र, न कसैले देख्ने, न त बस्ने सिट नै चाहिने। तर तत्काल हेलि उड्ने छाट देखिएन, ठ्याक्कै कति बज्यो पत्तै भएन । घाम बिस्तारै न्यानो हुदैथ्यो। यसो घडी हेर्न खोजे, नाडी खाली। झल्यास्स आफ्नो स्मार्टवाच सम्झेँ, भर्खरै किनेको पछिल्लो आइफोन सम्झे, वालेट सम्झे, ए.टि.एम. कार्डहरु सम्झेँ, ब्याग सम्झे अनि के के सम्झे सम्झेँ। मान्छेलाई आशक्ती र लोभले यस्तोबेलामा पनि छाड्दो रहेनछ।
म सोचमग्न हुदै गर्दा विशिष्टहरु हेलिभित्र पसिसकेका थिए । आवाज निकाल्दै हेलिका पखेटा बेस्मरी घुम्न थाले। उडेको धुलो र पातपतिगंरले वरिपरिको दृष्य धुमिल बनायो तर आँखामा नाचिरहेको दृष्यलाई भने त्यो धुलोले के नै छोप्न सक्थ्यो र।
म अर्कै चोला लिएर सोही बाटो पूर्व लाग्दै थिएँ। २ घन्टाअघि जहाजबाट देखिएका हिमश्रृखंला उस्तै हासिरहेका थिए। पहाड, डाँडाकाँडा, नदी उस्तै थिए । ती निकम्मा पदाधिकारीहरु विमान दुर्घटनाबारे अनेक लख काटिरहेका थिए । बित्थामा मानवीय त्रुटी औलाउँदै थिए। म भने सुनेको नसुन्यै गरी बाहिर आँखा डुलाइरहेँ। करिब आधा घन्टाजति पछि धुमिल कंक्रिटको जंगल देखिन थाल्यो । यो आाधा घन्टा पनि मलाई सिंगै दिन झै भयो।
मन अत्यास र बेचैनीले भरिएको थियो। एकातिर मेरो घरपरिवार, आफन्त नातागोता, अर्कोतिर मेरी प्यारी दिव्या। दुबै तर्फ थाहा भइसकेको थियो होला, दुर्घटनामा परेको।
ओर्लने बित्तिकै म दोधारमा परे, घर जाउ कि दिव्याकहाँ। शोकमा डुबेको बेला यस्तो चोला लिएर जहाँ गए पनि गर्नु नै के थियो र। समय प्रशस्त्र भएको हुनाले बाहिर गेटसम्म पैदलै आए अनि पहिला घर नै जाने निधो गरी सुकेधारा जानलाई साझा बस चढेँ। बस खाली थियो, पछाडिको खालि सीटमा सुटुक्क बसे । वेचैनीले मुटु बसको गति भन्दा हजारौ गुणा तिव्र गतिमा डौदिरहेको थियो। सुकेधारा पुगेर बस रोकियो।
पछाडिबाट खुत्रुक्क झरेँ। कस्तो आनन्द। न भाडा दिने झण्झट, न बार्गेनिङ गर्नुपर्ने लफडा। आहा, साविक जीवन पनि यस्तै गरी जीउन पाए...। एक छिन भए पनि मुतको न्यानोमा रमाए म।
***
घर बाहिरको गेट खुल्लै रहेछ। यसो चिहाएको नजिकका धेरै आफन्त जम्मा भइसकेका रहेछन्। रुवाबासी कोलाहलको माहोलमा अर्धचेत अवस्थामा अभिभावकहरुलाइ देख्दा मन अमिलो भएर आयो । यस्तो अवस्थामा म के नै गर्न सक्थे र। किन किन मलाई आफ्नो कोठामा जान मन लाग्यो। एक पल भए पनि डंग्रंग आफ्नो बेडमा पल्टेँ। आँखा चिम्म गरेँ। भर्चुअल दुनियामै भए पनि झल्यास्स असोजमा इंगेजमेन्टमा लगाएको औठी सम्झेँ। दराज खोले, हिरा जडित औठी टलक्क टल्किरहेको थियो।
त्यही उज्यालोमा मैले दिव्याको चम्किलो मुहार सम्झे । मलाई, उनी भेट्न हतार भयो। मनले नमान्दा नमान्दै औठी लिइ, घरको त्यो कोलाहल माहौलबाट आफूलाई बिदा गरेँ। सुकेधाराबाट सरासर नारायणगोपालचोक पुगे, दिव्याको घर जान। उनको घरमा पनि त्यस्तै माहोल थियो। कोहि पस्नै लाग्दा, म पनि गेटबाट भित्र छिरिहालेँ। बैठककोठा आफन्तले भरिएको थियो, तर उनी त्यहाँ थिइनन्। सरासर उनको कोठामा पसे म। बेडमा पल्टेर टोलाइरहेकी रहिछन्। रूदारूदै थकित उनको अनुहार हेरेँ, उनीसँगै बिताएका कैयौ पलहरु सम्झेँ। उनीलाई ग्वाम्मै अंगालो हालिदिउ जस्तो लाग्यो। जुनीभरको माया एकैपटक पोखिदिउ जस्तो लाग्यो । तर के नै गर्न सक्थे र म । माघ १६ गते बिहेको तयारी हुँदै थियो हाम्रो।
बेडको छेउको टेबलमा उनको खैरो आइफोन उस्तै बसिरहेको थियो। फोन खोलेर संगै खिचेका फोटोहरु, च्याटमा भएका कुराकानी र मेसेजहरु हेर्न मन लाग्यो । तर, म केहि गर्न नसक्ने अजिवको चोला ग्रहण गरेको प्राणी, उनको दुःखको पल हेर्न बाहेक केही गर्न नसक्ने अवस्थामा थिएँ। अवाक हुँदै मैले उक्त औठी उनको मोबाइलको छेउमा राखिदिएँ। अनि कुनामा बसेर टोलाइरहेँ।
फोनकल, मेसेजले उनको फोन बारम्बार बजिरहेको थियो । बारम्बारको घण्टीले नचाहँदा नचाहँदै उनको नजर फोन र फोन छेउमा राखेको औठीमाथि पर्न गयो। नजर पर्ने बित्तिक्कै उनको मुहारको भाव फेरि बदलियो । बेडबाट जुरुक्क उठेर उनले त्यो औठी आफ्नो हातमा लिइन र औलामा लगाउन खोजिन् तर खै किन फेरि आफैलाई रोकिन्। अनायासै उनका सुन्निएका परेलीका डिलबाट बर्खाको भेलसरि भरर आशु झर्न थाले। यता म भने त्यही झरेका आँशुसँगै बग्दै बग्दै टाढा हुदै गए, बिस्तारै बिस्तारै.......।