शान्तिको सन्देश फैलाउने उद्देश्यले 'टुर डे लुम्बिनी: पेडल फर पिस २०२६' अन्तर्गत वैशाख १५ देखि १९ गतेसम्म काठमाडौं–लुम्बिनी साइकल यात्रा आयोजना हुने भएको छ।
अभियानका संस्थापक मेघ आलेका अनुसार यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन्।
सन् २०१२ देखि सञ्चालनमा रहेको यो अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन्।
लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाउने लक्ष्यसहित कार्यक्रम हुँदै आएको हो। यस वर्ष युवाको सक्रिय सहभागितामा विशेष जोड दिइने बताइएको छ।
आयोजकका अनुसार अभियानले भविष्यमा 'लुम्बिनी शान्ति पुरस्कार' पनि प्रदान गर्ने योजना बनाएको छ।
नेपाल पर्यटन बोर्डका अधिकारीहरूले यस्तो कार्यक्रमले नेपालको अन्तर्राष्ट्रिय पहिचान र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।