नेपालका सबै विमानस्थलका यात्री प्रतीक्षालयहरूमा अब नेपालका प्रमुख पर्यटकीय स्थलहरूको प्रवर्द्धनात्मक सामग्रीहरू प्रदर्शन गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हवाइ यात्रीहरूलाई नेपालका सुन्दर गन्तव्यहरूबारे जानकारी दिन यस्तो व्यवस्था मिलाउन लागिएको हो।
विमानस्थलहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमित सूचनाहरू प्रसारण भइरहेकोमा अब त्यसका अतिरिक्त नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न सरकारी निकायहरूले तयार पारेका भिडिओ सामग्रीहरू पनि देखाइनेछ।
विशेष गरी नेपालको पर्यटन प्रवर्द्धनका लागि तयार पारिएका वृत्तचित्र र भिडिओहरूलाई विमानस्थलका पर्दाहरूमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
मन्त्रालयको आधिकारिक फेसबुकमार्फत जानकारी दिइएअनुसार यो कदमले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा थप टेवा पुर्याउने लक्ष्य लिएको छ।
उडानको प्रतीक्षामा रहेका स्वदेशी तथा विदेशी यात्रीहरूले अब प्रतीक्षालयमै बसेर नेपालका विविध सांस्कृतिक र प्राकृतिक सम्पदाहरूबारे जानकारी लिन पाउनेछन्।
यस कार्यले पर्यटन प्रवर्द्धनमा सरकारी निकायहरूबीचको समन्वयलाई समेत झल्काएको छ।