अलास्कामा दुर्घटना भएको अमेरिकी वायुसेनाको एउटा एफ-३५ लडाकू विमानका पाइलटले दुर्घटनाअघि प्राविधिकहरूसँग लामो कुराकानी गरेको खुलेको छ।
गत जनवरी २८ मा अलास्कास्थित इल्सन हवाई अड्डामा एफ-३५ जहाज दुर्घटना भएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा जहाज आकाशबाट तीव्र गतिमा खसेपछि आगोको लप्का र धुवाँको ठूलो मुस्लोमा परिणत भएको थियो।
पाइलटले भने प्यारासुटबाट हामफालेर ज्यान जोगाएका थिए। उनी सामान्य घाइते मात्रै भए।
एक साताअघि मात्रै सार्वजनिक भएको दुर्घटनाको छानबिन प्रतिवेदनले उक्त लडाकू जहाजमा देखिएको प्राविधिक समस्या समाधानका लागि ती पाइलटले आकाशबाटै इन्जिनियरहरूसँग झन्डै ५० मिनेट कुराकानी गरेको खुलेको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार उक्त लडाकू विमानको प्रणालीमा खराबी आएपछि पाइलटले सुरूमा चेकलिस्ट अनुसार समाधानको प्रयत्न गरेका थिए।
चेकलिस्ट अनुसार गर्दा समस्या समाधान नभएपछि पाइलटले विमान बनाउने कम्पनी 'लकहिड मार्टिन'का इन्जिनियरहरूसँग आकासबाटै कुराकानी गरेको छानबिन प्रतिवेदनले देखाएको छ।
विमान हवाई अड्डानजिकै उडिरहेको थियो भने पाइलट लकहिड मार्टिनका पाँच जना इन्जिनियरहरूसँग कन्फरेन्स कलमा थिए।
कन्फरेन्स कलमा एक वरिष्ठ सफ्टवेयर इन्जिनियर, एक जना उडान सुरक्षा इन्जिनियर र ल्यान्डिङ गियर प्रणालीका तीन विशेषज्ञसहित कुल पाँच जना इन्जिनियर सहभागी रहेको प्रतिवेदनले खुलाएको छ।
तर समस्या समाधान हुनुको सट्टा उल्टो खराबी हुँदै गएपछि पाइलट प्यारासुट लगाएर हामफालेका थिए। पाइलटको ज्यान जोगिए पनि १० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको एफ-३५ लडाकू जहाज ध्वस्त भएको थियो।
अमेरिकी वायुसेनाको अनुसन्धानले विमानको ल्यान्डिङ गियरको हाइड्रोलिक लाइनमा बरफ जमेका कारण दुर्घटना भएको थियो। हाइड्रोलिक लाइनमा पानी जमेर बरफ बनेपछि विमानको अगाडिको र मुख्य पांग्राहरू राम्रोसँग नखुलेको प्रतिवेदनमा भनिएको छ।
विमान उडेपछि पाइलटले पाङ्ग्राहरूलाई भित्र तान्न खोजेका थिए। तर ती पूर्ण रूपमा भित्र नभएपछि पाइलटले त्यसलाई पुनः बाहिर निकाल्न खोजेका थिए। तर पांग्रा सिधा हुनुको सट्टा बायाँतर्फ बांगो भएर अड्किएको भनेर प्रतिवेदनलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
त्यसपछि पाइलटले पाङ्ग्रा ठीक गर्न विभिन्न प्रयास गर्दा विमानको कम्प्युटर प्रणालीले विमान जमिनमा अवतरण भइसकेको सूचना दिएको थियो।
इन्जिनियरहरूको सल्लाहमा पाइलटले अड्किएको पाङ्ग्रालाई सिधा पार्न दुई पटक 'टच एन्ड गो' ल्यान्डिङको प्रयास गरे। 'टच एन्ड गो' ल्यान्डिङमा विमानले धावनमार्गलाई छोएर फेरि तुरुन्तै उड्ने प्रयास गर्छ।
त्यसो गर्दा समस्या झन् बल्झिएको भनिएको छ।
टच एन्ड गो ल्याण्डिङको प्रयास गर्दा अड्किएको पाङ्ग्रा सिधा हुनुको सट्टा विमानको बायाँ र दायाँ दुवैतर्फका मुख्य पाङ्ग्राहरू पनि जमेर पूर्ण रूपमा खुल्न नसक्ने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ।
त्यसपछि, एफ-३५ विमानको सेन्सरले विमान जमिनमा रहेको गलत संकेत दियो र विमानको कम्प्युटर प्रणाली 'स्वचालित ग्राउन्ड-अपरेसन मोड' मा गएको रिपोर्टमा भनिएको छ।
'विमान हावामा उडिरहेको बेला जमिनमा गुडिरहेको जस्तो व्यवहार गर्न थाल्यो। जसकारण विमान पूर्ण रूपमा अनियन्त्रित भयो र पाइलटसँग विमानबाट हाम फाल्नुको विकल्प रहेन,' प्रतिवेदनमा भनिएको छ।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष परीक्षण गर्दा अगाडिको र दायाँ पाङ्ग्राको हाइड्रोलिक प्रणालीमा रहेको तरल पदार्थको एक तिहाइ हिस्सा पानी भएको पाइएको थियो। त्यसमा पानी हुनु हुँदैनथ्यो।
सोही हवाइ अड्डामा रहेको अर्को एफ-३५ विमानमा पनि दुर्घटनाको नौ दिनपछि यस्तै हाइड्रोलिक प्रणालीमा बरफ जम्ने समस्या देखिएको थियो। तर उक्त विमान भने सकुशल अवतरण गर्न सफल भएको थियो।
प्रतिवेदनले विमान निर्माता कम्पनीले दिएको चेतावनीलाई बेवास्ता गर्दा पनि दुर्घटना भएको भनेको छ।
लकहिड मार्टनले २०२४ को अप्रिलमा अत्यधिक चिसो मौसममा एफ-३५ को सेन्सरमा समस्या देखिन सक्ने भनेर चेतावनी दिएको दिएको थियो। दुर्घटनाको समयमा त्यहाँको तापक्रम माइनस एक डिग्री फरेनहाइट रहेको पनि प्रतिवेदनले जनाएको छ।
निर्माण कम्पनीको चेतावनीलाई उनीहरूले सम्झेको भए उनीहरूले दोस्रो 'टच-एन्ड-गो' को सट्टा योजनाबद्ध पूर्ण अवतरण वा नियन्त्रित इजेक्सन गर्न सक्ने र त्यसबाट सम्भावित दुर्घटना टर्न सक्थ्यो भनिएको छ।
वायुसेनाको दुर्घटना अनुसन्धान बोर्डले दुर्घटनाका लागि पाइलट र कन्फरेन्स कलमा रहेका सदस्यहरूको निर्णय प्रक्रिया, हाइड्रोलिक तरल पदार्थको भण्डारण र वितरणमा लापरबाही, र विमानको मर्मत प्रक्रिया सही तरिकाले पालना नगर्नु जस्ता धेरै कारणहरूलाई जिम्मेवार ठहराएको छ।