म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ। प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ। व्यवस्थित पदमार्गको साथै झोलुंगे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन्।
प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीयस्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए।
‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ,’ उनले भने, ‘सुनछहरामा पूर्वाधार विकास र प्रवर्द्धनको आवश्यकता छ।’
भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो।
किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए। ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन्। भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिए पनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन्।
छहराभित्र रहेको गुफाको भित्ताहरू पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए। विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ।
धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगंगा नदीमा झोलुंगे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाइजाले बताए।
हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप विशेषता हो। छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ। सुनछहरामा पुगेर दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ।
बेनीदेखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ। सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरू वैशाख जेठ महिनामा बास बस्ने गर्दछन्। सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ। सुगरथलाभन्दा माथि आफै बन्दोबस्तीको सामान लिएर जानुपर्छ।
पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुंगे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताए। झोलुंगे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ। बर्खा याममा खोलाबाट वारपार गर्न सकिँदैन।
पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ। नक्सा बनाउने र संकेत चिह्नहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा गएका सुरेन गुरूङले बताए। सुनछहरा हुँदै रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलिन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ। बाटो चिनेका गोठाला बाहेक अरूसँग यात्रा गर्दा हराउने जोखिम छ।