बुटवलमा नयाँ पर्यटन गन्तव्य थपिएको छ — देउराली डाँडालाई पाल्पाको नुवाकोटगढीसँग जोड्ने सिद्धार्थ केबलकार।
एक अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यो केबलकार चढ्न पर्यटकहरूको दैनिक भिड लाग्ने गरेको छ। औपचारिक उद्घाटन भने भएको छैन।
व्यवस्थापक मनोज भुसालका अनुसार गएको दसैंबाट अनौपचारिक रूपमा सञ्चालन गरिएको यो केबलकार चढ्न दैनिक हजार जनाभन्दा बढी पर्यटक आउँछन्। सार्वजनिक बिदाको दिन एकदमै भिड लाग्ने भएकाले अघिल्लो दिन नै टिकट काट्नुपर्छ।
टिकट दर एक जनाको ३ सय ५० रूपैयाँ छ।
'गएको भदौ २१ गते तीजको दिन हामीले परीक्षणका रूपमा केबलकार सञ्चालन गरेका थियौं। त्यसपछि दसैंदेखि यात्रुहरूका लागि खुला गर्यौं,' उनले भने, 'दसैंबाट अहिलेसम्म ८० हजारभन्दा बढीले केबलकार चढिसकेका छन्।'
सिद्धार्थ केबलकार बुटवल उपमहानगरपालिकाका १ र २ नम्बर वडाको सिमानामा पर्ने देउराली डाँडाबाट सुरू हुन्छ। त्यहाँ पर्यटकका लागि विश्व मानचित्र सहितको वाटर फाउन्टेन, ढुंगेधारा लगायतका आकर्षण छन्।
सिद्धार्थ गौतमले जन्मिनेबित्तिकै चालेको भनिएका सात पाइलाको प्रतीकका रूपमा कमलको फूल आकृतिको लोटस पार्क पनि निर्माण गरिएको छ। सिद्धार्थ गौतमका ६ वटा पाइला देउराली डाँडा स्टेसनमा र सातौं पाइलासहित ५० फिट अग्लो बुद्धको मूर्ति सबभन्दा माथिल्लो नुवाकोटगढी स्टेसनमा निर्माण गरिएको छ।
केबलकारको तल्लो स्टेसनमा घुमफिर गर्न, टिकटक बनाउन र केबलकारलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्न दैनिक सयौं आन्तरिक पर्यटक आउने गरेको भुसालले बताए। त्यहाँ पर्यटकहरूको निम्ति कफी-सप र रेस्टुरेन्टहरू निर्माण भइरहेका छन्।
सबभन्दा माथिको नुवाकोटगढी स्टेसनमा पनि सांस्कृतिक डबली, ढुंगेधारा, साना-ठूला होटल, रेस्टुरेन्ट तथा रिसोर्ट निर्माण भइरहेको केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरूङले जानकारी दिए।
'केबलकार निर्माण हाम्रो पहिलो चरणको काम थियो। यो सञ्चालनमा आइसकेपछि हामीले दोस्रो चरणको पूर्वाधार निर्माण अघि बढाएका छौं, ' उनले भने, 'अब नुवाकोटगढीमा सुविधासम्पन्न रिसोर्ट, जीपलाइन, बन्जीजम्पदेखि फूलबारीबाट देउराली स्टेसन जोड्ने झोलुंगे पुल लगायत संरचना बनाउँदै छौं।'
सिद्धार्थ केबलकारको प्रस्थान विन्दु नजिकै बुटवलको जितगढी र मणिमुकुन्द सेन उद्यान छन् भने अन्तिम स्टेसन रहेको नुवाकोटगढी पनि यो क्षेत्रको एक प्रमुख ऐतिहासिक र पुरातात्त्विक सम्पदा स्थल हो। यिनै सम्पदा स्थललाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न केबलकार निर्माण गरिएको हो।
जितगढी किल्लाले नेपालको इतिहासमा ठूलो महत्त्व राख्छ। यही किल्लामा कर्णेल उजिरसिंह थापाको कमान्डमा रहेको नेपाली फौजले ब्रिटिस फौजलाई परास्त गरेको थियो। त्यस्तै, जहाँ अहिले मणिमुकुन्द सेन उद्यान छ, त्यहाँ राजा मणिमुकुन्द सेनको शितकालीन दरबार थियो। उनै राजाको गृष्मकालीन दरबार पाल्पाको नुवाकोटगढीमा थियो।
नुवाकोटगढीमा भैरव कामना मन्दिर, राजा रूद्र सेनले स्थापना गरेको शिवलिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरूऋषिको आश्रमस्थल, रानीकुवा लगायत ऐतिहासिक सम्पदाहरू छन्।
केबलकार चढेर देउराली डाँडाबाट नुवाकोटगढी पुग्न ७ मिनेटभन्दा बढी लाग्दैन।
भौगोलिक रूपमा बुटवल चुरे र तराईको संगम स्थल हो। तिनाउ, दानव लगायतका नदी यहीँबाट बग्छन्। बुटवलमा उखरमाउलो गर्मी हुँदा दुई किलोमिटर केबलकारको यात्राबाट पुग्न सकिने नुवाकोटगढीमा चिसो हावासहितको शितलता पाउन सकिन्छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटन दृष्टिले महत्त्वपूर्ण रहेको नुवाकोटगढीलाई हिल स्टेसनका रूपमा विकास गर्न २६ वर्षअघि नै गुरूयोजनासहित केबलकारको योजना अघि सारिएको थियो।
२०५५ सालमा बुटवलका तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले पहिलोपटक यो योजना अघि बढाएका हुन्।
केबलकार प्रालिका सञ्चालक माधव नेपालका अनुसार तिनाउ र बुटवल बजारको मनोरम दृश्य हेर्दै ऐतिहासिक स्थल नुवाकोटगढी पुग्न सकिन्छ। रूपन्देही र पाल्पा जिल्लाको संगम स्थलका रूपमा रहेको नुवाकोटगढीबाट उत्तरतर्फ मनोरम हिमशृंखला देखिन्छ भने दक्षिणतर्फ समथर फाँट देखिन्छ।
'बुटवल नजिकको ऐतिहासिक स्थल भएर पनि नुवाकोटगढी सधैं ओझेल परिरह्यो,' उनले भने, 'केबलकार सञ्चालनले नुवाकोटगढीको विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौं। लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नुवाकोटगढीसम्म ल्याउने हाम्रो योजना छ।'
दैनिक १० हजारसम्म यात्रु आवतजावत गर्न सक्ने केबलकारमा २५ वटा डब्बा छन्। एउटा डब्बामा ८ जना यात्रु बस्न सक्छन्।
यात्रुको सुरक्षाका लागि केबलकारमा डबल प्रोटेक्सन लाइन रहेको, एउटा मोटर बिग्रिए वा लाइन गए अर्को मोटरले स्वत: काम गर्ने अध्यक्ष गुरूङले बताए। पाँचवटा संस्थासहित २२७ जना लगानीकर्ता रहेको केबलकारमा बुटवलकै करिब १९० जना लगानीकर्ता छन्। करिब ५० जना स्थानीयले यहाँ रोजगारी पाएका छन्।
सिद्धार्थ केबलकार २०७७ फागुन ९ गते शिलान्यास गरिएको थियो। कोरोना महामारीबीच शिलान्यास गरिएको केबलकार लकडाउन र त्यसपछिको आर्थिक संकटका कारण साढे तीन वर्षमा बनेको हो।
सामुदायिक वनको ६.०९८ हेक्टर क्षेत्रमा स्टेसन र रोपवे निर्माण गरेको केबलकार कम्पनीले उक्त क्षेत्र बराबर पाल्पामै जग्गा किनेर वृक्षरोपण गरी सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिएको छ।
तिनाउ नदीको उत्तर-पश्चिममा रहेको नुवाकोटगढीमा सिद्धार्थ केबलकार सञ्चालनमा आउँदा तिनाउकै उत्तरपूर्वको वसन्तपुरमा यसअघि नै लुम्बिनी केबलकार सञ्चालन भइसकेको छ।
***
सबै तस्बिर: भगवती पाण्डे/सेतोपाटी