गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर अवतरणमा स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थानीयका मागबारे छलफल गर्न गृह मन्त्रलायले कार्यदल गठन गरेको छ।
गृहले उपसचिव बन्दना राईको संयोजकत्वमा बिहीबार सात सदस्यीय कार्यदल गठन गरेको हो।
चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका स्थानीय बासिन्दाले आमभेला गरी हेलिकप्टर उडानमा सरकारले सहज बनाउनुपर्नेलगायत माग राखेका थिए।
उक्त मागमा सरकार सकारात्मक नदेखिएको भन्दै उनीहरूले बुधबार र बिहीबार सामागाउँका हेलिप्याडमा ढुंगा राखेर हेलिकप्टर अवतरणमा अवरोध पुर्याएका थिए।
यो पनि: मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध
निषेधित क्षेत्र भएकोले स्थानीय बासिन्दाले हेलिकप्टर चार्टर गर्नुपर्दा प्रक्रियागत झन्झट व्यहोर्नु परेको र हेलिकप्टर मगाउने प्रक्रियामा लाग्दालाग्दै घाइते, बिरामी तथा सुत्केरीको मृत्यु हुने गरेको सामागाउँका स्थानीय बासिन्दाहरूको भनाइ छ।
हेलिकप्टर चार्टर गर्नुपर्दा जिल्ला प्रशासन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा गृह मन्त्रालयबाट अनुमति (परमिट) लिएपछि मात्र हेलिकप्टर कम्पनीहरूले उडान गर्ने गरेका छन्। यति लामो प्रक्रियाका कारण स्थानीय समस्यामा परेकोले सरकारले सहज प्रक्रिया गर्नुपर्ने माग उनीहरूको छ।
गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईलगायत गोरखाका कांग्रेस नेताहरूले गृहमन्त्री रमेश लेखकलाई भेटेर उत्तरी गोरखामा हेलिकप्टर उडान सहज बनाइदिन आग्रह गरेका थिए।

त्यसपछि गृहले सात सदस्यीय कार्यदल गठन गरेको हो। उक्त कार्यदलमा आवश्यकताअनुसार सम्बन्धित पालिकाका जनप्रतिनिधि र विज्ञलाई पनि राख्न सकिने गृहले जनाएको छ।
घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गर्नुपर्दा दुई, तीन दिनसम्म लगाउने गरेको भन्दै सामागाउँबासीले यसअघि पनि सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
हालै सामागाउँमा भएको आमभेलाले पनि हेलिकप्टर उडान सहज बनाउन सरकारलाई पाँच दिने अल्टिमेटम दिने निर्णय गरेको थियो।
