चिनियाँ संस्कृति हेर्ने कौतुहल बोकेर शुक्रबार बिहानै नेपाली फेवाताल किनार पुगे। नेपालमा पहिलो पटक आफ्नो २ हजार वर्ष पुरानो संस्कृति देखाउन पाउँदा चिनियाँ नागरिक पनि उत्साही थिए।
चिनियाँ खेलाडीले नेपालीलाई पनि आफ्नो संस्कृतिमा आधारित डुंगा दौड सिकाए। नेपाली र चिनियाँ टोलीबीच फेवातालमा पहिलो पटक ड्रागन बोट रेस फेष्टिभल’ मा मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिए।
नेपालका विभिन्न नदीनालामा १५ वर्षदेखि राफ्टिङ गाइड बनेकी शिला थापाले पहिलो पटक यस प्रतियोगितामा भाग लिन पाउँदा छुट्टै अनुभूति भएको बताइन्।
‘राफ्टिङमा पनि टिमवर्क चाहिन्छ’, उनले भनिन्, ‘ड्रागन बोट रेसमा अगाडि र पछाडि बस्ने व्यक्ति अझ बढी सजग हुनुपर्ने लाग्यो।’
डुंगाको अगाडि ड्रागनको टाउको र पछाडि पुच्छर। फेष्टिभलमा प्रयोग गरिएको डुंगा साँघुरो तर लामो देखिन्छ। सिङ्गो ड्रागनको जस्तो देखिने गरी डुंगाको डिजाइन गरिएको छ।
चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने भएकाले डुंगाको आकार पनि त्यसै गरी बनाइएको हुन सक्ने चिनियाँहरूको आकलन छ।
फेवातालमा आयोजना गरिएको ड्रागन रेसमा नेपाली ५९ जनाले भाग लिएका थिए। जसमा शिला एकजना मात्र महिला थिइन्। ४ दिन अभ्यास गरेर प्रतियोगितामा सहभागी भएकी उनले पानीमा खेलिने राफ्टिङ खेलजस्तै रमाइलो भएको अनुभव सुनाइन्।
ड्रागन बोट रेसमा डुंगाको अगाडि बसेर एक जनाले ड्रम बजाउँछन्। ड्रमको तालमा डुंगामा बस्ने खेलाडीहरूले प्याडलमार्फत् पानी पछाडि पठाउँछन्। यस्तै, डुंगाको पछाडि बस्ने अर्को एक जना व्यक्तिले डुंगाको दिशा निर्धारण गर्छन्।
‘अगाडि बस्नेले बजाउने ड्रमको तालसँगसँगै प्याडल चलाउनुपर्ने रैछ,’ शिलाले सेतोपाटीलाई भनिन्, ‘पछाडि बसेर डुंगाको दिशा सोझ्याउने व्यक्तिले थोरै बाङ्गो बनाइदियो भने पनि धेरै फरक पर्दोरहेछ।’
चीनको सांस्कृतिक परम्पराका रूपमा यस खेल खेलिँदै आएको चिनियाँ खेलाडी जेङ्केजीले बताए।
उनका अनुसार चीनका तालतलैया र खोलाहरूमा पनि यस्ता खेल खेलिन्छ। धेरै चिनियाँले यस खेलको मज्जा लिन्छन्।
नेपालमा पहिलो पटक ड्रागन बोट रेसमा भाग लिन पाएको भन्दै उनले खुसीयाली साटे।
‘नेपालमा आएर ड्रागन बोट रेसमा भाग लिन पाएँ, यो एकदम राम्रो ठाउँ रैछ,’ उनले सेतोपाटीलाई भने, ‘अर्को वर्ष त हामी जसरी पनि आउनुपर्छ।’
चीनले आफ्नो संस्कृति फैलाउँदा ड्रागन बोट रेस फेष्टिभललाई अघि सारेको छ।
नेपालमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिता चीन सरकारकै अगुवाइमा विश्वका ५० वटा देशमा सम्पन्न गरिसकेको नेपालका लागि चिनियाँ राजदूत छेन सङले बताए। यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुने उनले अपेक्षा राखेका छन्।
पोखरामा बसेर विगत १५ वर्षदेखि तरकारी खेती गरिरहेका चिनियाँ नागरिक स्याङ शाओ ख्वा पनि ड्रागन बोट रेसमा भाग लिन चाहन्थे।
नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भएकाले उनले चिनियाँ अधिकारी र नेपालीबीच अनुवाद गर्ने काम गर्नुपर्यो। फेष्टिभल सफल पार्न अरू नै काम गर्नुपरेकाले प्रतियोगितामा भाग लिन पाएनन्।
उनका अनुसार चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ। चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको उनले बताए।
यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिएको हुन्छ। चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने स्याङले बताए। डुंगाको आकार अनुसार मान्छे धेरै वा थोरै हुन सक्ने उनको भनाइ छ।
ड्रागन बोट फेष्टिभल गर्नुका पछाडि चिनियाँ नागरिकमा सकारात्मक शक्तिको विजयीको कामना रहने स्याङले बताए।
चीनमा पनि नेपालमा जस्तै मुख्य खाद्यवाली धान हो। यतिबेला चीनमा धान रोपाइँ सकियो। खेतीपातीका काम सकिएपछि नकारात्मक शक्ति नलागोस् भनेर यस चाड मनाउने गरेको उनले बताए।
‘ड्रागन बोट रेस खेलेपछि एकदम आनन्द हुन्छ,’ उनले सेतोपाटीलाई भने, ‘केही समस्या नहोस्, बिरामी नहोस् भनेर खेलिन्छ।’
चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो।
चीनको चु राज्यमा इसापूर्व २७८ देखि ३४० सम्म मन्त्री रहेका युआनको देशप्रेम र उनको अन्त्यको कथा यस चाडसँग जोडिन्छ।
देशमा चुलिँदो भ्रष्टाचार र आन्तरिक कलहले गहिरो चिन्तामा डुबेका युआनका आदेश तथा चेतावनीहरूले काम गर्न छाडेका थिए। उनको बेवास्ता चुलिँदो थियो। त्यसपछि युआनले देशप्रेम र शोकका कविताहरू रचना गर्न थाले।
जब उनले देशमा बढ्दो भ्रष्टाचार र कलह नियन्त्रणमा आउने आशा त्यागे, उनले पनि मिलुओ नदीमा डुबेर आत्महत्या गरे। मिलुओ नदी अहिले चीनको हुनान प्रान्तमा पर्छ।
युआनका प्रशंसक भने उनको मृत्युपश्चात स्तब्ध भए। स्थानीय नागरिकहरू उनको शव खोज्न डुंगा चढेर मिलुओ नदीमा हेलिए।
युआनका शरीर कुनै पनि जनावरले निल्न नपाओस्, दुष्ट आत्माहरूबाट जोगाउने भन्दै मानिसहरू ड्रम बजाउँदै नदीमा डुंगा सयर गरिरहे। युआनको शव खोजिरहे।
दुष्ट आत्म डराओस् भनेर ड्रमको आवाज सँगसँगै डुंगामा बस्नेहरूले प्याडलमार्फत् पानी छकिए। बाँसको पातमा चामल बेरेर नदीमा फालिए। जसलाई चिनियाँहरू ‘जोन्जी’ भन्छन्। उक्त घटनापछि चिनियाँ नगरिकले ड्रागन बोट फेष्टिभल बर्सेनि मनाउँदै आएका छन्। त्यतिबेला नदीमा फालेको जोन्जी अहिले खानमा प्रयोग गर्छन्।
ड्रागन बोट फेष्टिभल सकिएपछि चिनियाँले खाने जोन्जी पनि अनौठो हुने शाङले बताए।
‘अनदीको चामल ७, ८ घण्टा पानीमा भिजाएर पकाइन्छ,’ उनले भने, ‘जसमा मासु, तरकारी, विभिन्न फल राखेर बाँसको पातमा बेरेर खाइन्छ।’
पछिल्लो समय जोन्जीसँगै चिनियाँ वाइन खाने संस्कृति पनि बढेको छ।
चीनका एक जना राजनीतिकर्मी एवं साहित्यकारको देहवसानपछि सुरू भएको यस पर्व मनाउन थालिएको २ हजार वर्ष पुग्दा धेरै देशमा फैलिएको शाङले बताए।
‘चीनमा त सबै ठाउँमा मनाउँछ, अहिले ५० वटा देशमा खेलिसक्यो,’ उनले भने, ‘अब नेपालमा पनि खेलियो, अब हरेक वर्ष हुन्छ।’
उक्त खाना अत्यन्त स्वादिलो र स्वास्थ्यवर्द्धक हुने शाङको अनुभव छ।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ।
चीनले २२ अर्ब ऋणमा बनाइदिएको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा चार्टर्ड फ्लाइट गरेर चीन सरकारले नै यस प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगिता सञ्चालन गर्न चीनले ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान गरिएको छ।
प्रतियोगितामा सहभागी चिनियाँ नागरिकलाई पोखरा ल्याउने, लैजाने, बस्ने खाने र प्रतियोगिताको पुरस्कारसमेत चीन सरकारले नै उपलब्ध गराएको छ।
प्रतियोगितामा पहिलो हुने समूहले ३० लाख पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।
नेपालमा पनि ड्रागन बोट फेष्टिभल भयो भन्ने खबर पाएपछि चिनियाँहरु खुसी हुने शाङको आशा छ।
‘अब चीनमा सबैले थाहा पाउँछन्, यस्तो राम्रो ठाउँमा ड्रागन बोट फेष्टिभल भयो भनेर,’ उनले भने, ‘३ वर्ष चीनबाट यहाँ घुम्न कोही पनि आएनन्, अब आउँछन्।’