सरकारलाई व्यवसायीको प्रश्न: व्यापारीलाई थुनेर व्यापार कसरी चल्छ?


उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत पारेका छन् । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरवारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

चेम्वर अध्यक्ष राजेश काजी श्रेष्ठको अगुवाईमा गएको प्रतिनिधिमण्डलले प्रमाणित नभइकनै उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे । उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को कसुर र सजाय सम्वन्धी व्यवस्थाको दफा ५१ सजाय १ को ‘ग’ मा दफा ५० को खण्ड च विपरित काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनको थियो।

भेटका क्रममा अध्यक्ष श्रेष्ठले व्यापार घाटा कम गर्न निर्यातलाई वढाउने वातावरण वनाउनुपर्नेमा जोड दिए। यसका लागि निर्यात योग्य वस्तुहरुको उत्पादन र प्रबद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो ।

मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाह अनुसार आफू अगाडि वढ्ने विश्वास दिलाएका थिए। करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको स्पष्ट पार्दै उनले व्यापार घाटा कम गर्न निर्यातलाई वढाउन आफूले कोसिस थालेको जानकारी दिए।

कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्वितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठलगायतका कार्यसमिति सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.