धनगढीमा सुरु भयो विकास गोष्ठी


सात नम्बर प्रदेशको आर्थिक तथा सामाजिक विकास व्यवस्थापनको मार्ग चित्र बनाउने उद्देश्यसहित कैलालीको धनगढीमा कार्यशाला गोष्ठि सुरु भएको छ। नेपाल व्यवस्थापन संघको अयोजनामा संचालन भएको उक्त गोष्ठी भोलीसम्म चल्ने छ।

गोष्ठीको उद्घाटन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको सम्भाव्यताका आधारमा प्राप्त अवसरहरुको उपयोग गर्दै कृषि, जलश्रोत, उर्जा, पर्यटन र रणनीतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाएर सम्बृद्धि हासिल गर्नुपर्ने बताए।

ब्याप्त मानवीय एवम् आर्थिक पछौैटेपनको दुश्चक्रमा फसेका नागरिकको जीवनस्तर उठाउन समष्टीगत समाजिक, आर्थिक विकास र सम्बृद्धिका लागि सबै राजनीतिक दल, सरकारी, गैर सरकारी निजीक्षेत्र र नागरिक समाजको संस्थागत गर्न उनले आग्रह गरे।

माओवादी नेता तथा पूर्वमन्त्री  लेखराज भट्टले विकासका बाधक तत्वहरुको पहिचानका साथै विकास कार्य संचालन गरी दल गत भावना भन्दा माथि उठी यस क्षेत्रको विकासका लागी एकजुट हुनु पर्नेमा जोड दिए।

नेपाल व्यवस्थापन संघका राष्ट्रिय सभापती इ. शुसील भट्टले गोष्ठी प्रदेश नं ७ को बिकासको लागी पहिलो खुड्कीला भएको र आगामी दिनमा प्रदेश र स्थानीय तहका निर्वाचित संस्थाहरुको योजना तर्जुमा, संचालन र व्यवस्थापनमा सहजीकरण गर्न व्यवस्थापन संघ नेपालले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यशालामा सुदुरपश्चिममै रहेका  र सुदुरपश्चिमबाट गएर विभिन्न क्षेत्रमा रहेका विज्ञ, जानकारहरू सहभागी रहेका छन्।

कार्यशाला नेपाल व्यवस्थापन संघको सुदूरपश्चिम च्याप्टर, सुदुर पश्चिम सरोकार मञ्च र सुदुरपश्चिम विकास आयोगको संयुक्त आयोजनमा हुँदैछ । यसका साझेदारहरूमा उर्जा मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–७ छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.