अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) को अध्यक्षमा कैलाश विजयानन्द चयन भएका छन्।
काठमाडौंमा आयोजित एमच्याम नेपालको चौथो वार्षिक साधारण सभाले विजयानन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
उनी ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख कार्यकारी अधिकृत हुन्।
लिपफ्रग टेक्नोलोजीले नेपालसहित भारत, बेलायत, स्वीट्जरल्याण्ड, क्यानडा र अमेरिकामा विगत करिब दुई दशकदेखि सेवा दिइरहेको छ। प्रोग्रमरका रूपमा करिअर सुरूआत गरेका विजयानन्दले पोर्टसमाउथ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिग्री हासिल गरेका छन्।
कार्यसमितिको बोर्ड सदस्यहरूमा फोर्ड कम्पनीका आकाश गोल्छा, जुनो कम्पनीका मनिष थापा, मोघा इनर्जीका समराथ मोघा, बोटलर्स नेपालका स्नेह राजभण्डारी, पठाओ नेपालकी सुरक्षा हमाल, डियर होल्डका सचिन करनजीत चयन भएका छन्।
साथै एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, सेमन्त दाहाल र निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ पनि बोर्ड सदस्यमा चयन भएका छन्।
राजदूत थम्पसनले व्यापार, लगानी तथा पारदर्शी र पूर्वानुमानयोग्य व्यावसायिक वातावरणको प्रवर्द्धनमा अमेरिकी दूतावास नेपाल र एमच्याम नेपालबीचको सुदृढ साझेदारीलाई विशेष रूपमा उल्लेख गरे।
उनले एमसिसी नेपाल कम्प्याक्टले अमेरिकी तथा नेपाली कम्पनीका लागि सृजना गर्ने रूपान्तरणकारी अवसरबारे प्रकाश पार्दै, नेपाली बजारमा अमेरिकी कम्पनीहरूको निरन्तर प्रवेश भइरहेको तथ्यबारे चर्चा गरे।