नेपाल रेमिटर्स संघको २० औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको अवसरमा नेपालको रेमिट्यान्स क्षेत्रको विकास र औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अग्रणी व्यक्तित्व नवराज घिमिरेलाई सम्मान गरिएको छ।
सन् १९९६ सम्म रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा घिमिरेले ती कारोबारलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न अग्रसर भूमिका निर्वाह गरेका थिए।
घिमिरेले आफ्नै कम्पनी अन्नपूर्ण ट्राभलमार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा सुरू गरेका थिए। यसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी र विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन महत्वपूर्ण योगदान पुर्यायो। यही संस्था पछि रूपान्तरण भई एटिटी रेमिट प्रालिको रूपमा विकसित भएको हो।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल रेमिटर्स संघका अध्यक्ष रितेश मित्तलले करिब तीन दशकअघि औपचारिक रेमिट्यान्स व्यवसायको जग बसाल्दै मार्गदर्शन गरेको नवराज घिमिरेको दूरदर्शी सोच, साहसी नेतृत्व र निरन्तर समर्पणकै कारण आज नेपाली रेमिट्यान्स उद्योग संस्थागत रूपमा विकसित भई मुलुकको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रका रूपमा स्थापित भएको उल्लेख गरे।
नेपाल रेमिटर्स संघले घिमिरेको दूरदृष्टि, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित र व्यवस्थित बनाउने आधार तयार गरेको जनाउँदै उहाँको योगदानले वित्तीय समावेशीकरण र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारेको छ।