गोंगबु बानियाँटारस्थित काठमाडौं युरो आइबी वर्ल्ड स्कुलले जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ।
विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मान स्वरूप यस्तो घोषणा गरिएको हो।
‘शिक्षा नै सशक्तिकरणको माध्यम हो। लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने।
विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।