ग्लोबल नेपाली
नेपालको रेस्टुरेन्ट व्यवसायमा जापानी परिकार भित्र्याउने मध्येका एक हुन् अर्घाखाँचीका अर्जुन अधिकारी। उनले नेपालमा होक्काइदो बिजनेस ग्रुप (एचएनबिजी) मार्फत जापानी परिकार पाइने सातवटा रेस्टुरेन्ट चलाएका छन्।
जापानमा पनि उनका रेस्टुरेन्ट १० वटा छन्।
उनले सन् २००५ देखि जापानी, नेपाली र इन्डियन खाना पाइने रेस्टुरेन्टहरू चलाएका हुन्।
उनका बुबा सरकारी जागिरे थिए। आमा खेतीपातीसँगै किराना पसल चलाउँथिन्। परिवारको आर्थिक अवस्था राम्रै थियो। तीन जना छोराछोरी ठूलो अभाव अनुभव नगरी हुर्के।
अर्जुनले गाउँकै स्कुलबाट दस कक्षासम्मको पढाइ पूरा गरे। थप पढाइका लागि आमाबुबाले पोखरा पठाए। उनी जानुभन्दा अघिदेखि नै उनका दाजु पोखरामा थिए। दाजु होटलमा काम गर्थे। दाजुकै सहयोगमा अर्जुनले एउटा ट्राभल एजेन्सीमा काम पाए।
बिहान कलेज जानु र दिउँसो काममा जानु उनको दिनचर्याको मुख्य अंग भयो। उनी पारिश्रमिक नपाउने गरी काममा लागेका थिए। खासमा दाजुले उनलाई काम सिक्न पठाएका थिए। यसरी अर्जुनले करिब दुई महिना काम गरे। त्यति नै बेला दाजुले पोखरामा एउटा होटल किने। अर्जुन त्यही होटलमा काम गर्न थाले।
'दाजुले व्यवस्थापनको जिम्मा दिनुभएको थियो। भान्सामा आवश्यक सामान आए, नआएको, ग्राहक गएपछि कोठा सफा भए, नभएको र यस्तै अरू काम हेर्नुपर्थ्यो,' उनले त्यो समय स्मरण गरे।
बिस्तारै पोखरामा होटलको संख्या बढ्दै गयो, ग्राहकको संख्या कम हुन थाल्यो। यसपछि अर्जुन होटलको मार्केटिङका लागि काठमाडौं आए। लाजिम्पाटमा एउटा कोठा लिएर बसे। काठमाडौं बस्ने भएपछि पढाइ पनि स्थानान्तरण गरे।
अर्जुन आफ्नो होटलको ब्रोसर बोकेर काठमाडौंका विभिन्न होटल र ट्राभल एजेन्सीहरूमा पुग्थे। पोखरा पुग्ने पर्यटक आफ्नो होटलमा पठाइदिन आग्रह गर्थे।
'यो मार्केटिङले राम्रो काम गर्यो। कमिसनका आधारमा काठमाडौंका केही होटल र ट्राभल एजेन्सीले ग्राहक पठाइदिन थाले,' उनले भने, 'पोखरामा रहेको होटलको व्यापार निकै राम्रो भयो।'
कामको सिलसिलामा काठमाडौंमा एक जना जापानी नागरिकसँग चिनजान भयो, मित्रता बढ्दै गयो। उनकै संगतले अर्जुन पनि जापानी भाषामा फाटफुट बोल्न सक्ने भए। ती जापानीले अर्जुनलाई घुम्न जापान लैजाने भइन्।
गाउँबाट आएर काठमाडौंमा संघर्ष गर्दै रहेका अर्जुनलाई जापान जाने कुराले उत्साहित तुल्यायो। परिवारका सदस्यहरू पनि खुसी भए। त्यो समय नेपालीहरू जापान जाने क्रम निकै पातलो थियो। अन्ततः उनी सन् २००१ मा भिजिट भिसामा जापान पुगे।
'हवाईजहाजको टिकट किन्ने पैसा दाजुले व्यवस्था गरिदिनुभयो। त्यति बेला जाने मात्र एकोहोरो टिकटका लागि ६४ हजार रूपैयाँ तिर्नुपरेको थियो,' उनले भने।
खान, बस्न समस्या भएन। तिनै जापानीको घरमा बसे। दुई-चार दिन यत्तिकै बितिगयो तर विदेशीका घरमा पाहुना भइरहन उकुसमुकुस भयो।
अर्जुन कामको खोजीमा लागे। काम पाउन वर्किङ (कामदार) भिसा वा विद्यार्थी भिसा हुनुपर्थ्यो, भिजिट भिसा हुनेले काम गर्न नपाउने।
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो भयो। स्वइच्छाले काम गर्ने 'स्वयंसेवक' कम्पनीबाट 'कल्चर स्टडी भिसा' पाउने हुने कुरा थाहा पाए। त्यसै अनुसार भिसा परिवर्तन गरेर एउटा कम्पनीमा काम थाले।
'मैले तीन महिनाको कल्चर स्टडी भिसा पाएँ। स्वयंसेवकका रूपमा सीप सिक्न पाउने भएँ,' उनले भने, कम्पनी ग्यारेन्टी बस्यो तर तलब थिएन।'
उनले मन लगाएर काम गरे। कपडा धुने, गाई दुहुने र बंगुरलाई खाना खुवाउने काम गरे। जापानी भाषामा फरर्र दोहोरो कुरा गर्न सक्ने भए। उनको श्रम र शालीनता देखेर होला, जापानीहरूले उनलाई प्रेम गरे। स्वयंसेवक भनिए पनि पैसा दिए।
घुम्न आएको मान्छे, अलिअलि कमाइ हुन थालेपछि उनलाई पैसामा रस बस्दै गयो। उनले फेरि थप तीन महिनाका लागि उही प्रकृतिको भिसा पाए। उनले एउटा होटलमा काम थाले। भाँडा धुने र ग्राहकलाई कोठासम्म पुर्याउने काम थियो। उनले होटलमा सबै जापानीहरूको मन जिते।
'म होटलमा १६–१७ घण्टा काम गर्थेँ। जापानी कामदारहरू बिदामा बस्थे, मैले कहिल्यै बिदा लिइनँ,' उनले भने।
कम्पनीको सहयोगमा उनले फेरि थप नौ महिनाका लागि उही प्रकृतिको भिसा पाए। त्यतिन्जेलमा ६ महिना बतेको थियो। भिसा थपिएपछि १० दिनको बिदा लिएर नेपाल आए। उनी एक्लै आएनन्, पाँच जना जापानीलाई पनि साथमा ल्याए। उनीहरू नेपाल घुम्न आएका थिए। उनी आफैले पशुपति क्षेत्र, पोखरा, लुम्बिनी र अन्य केही ठाउँ घुमाए।
उनले जम्मा एक वर्ष होटलमा काम गरे। भिसाको म्याद सकिने दिन नजिकिँदै थियो। उनी जापानमै बस्ने विचारमा थिए। यस निम्ति व्यवसायको योजना बनाए। त्यसैअनुसार एउटा कम्पनी दर्ता गराए। आफ्नो कम्पनी भएपछि 'बिजनेस भिसा' पाइन्थ्यो।
उनले बिजनेस भिसा पाउन आवेदन गरे। आवेदन स्वीकृत भयो। कानुनी अल्झन सकियो।
अर्जुन जापानी पर्यटकहरूको समूह लिएर वर्षको चार पटकसम्म आउन थाले। सबै खर्च उनीहरूले नै बेहोर्थे। घुमाइदिए बापत राम्रो पैसा दिन्थे। उनका साथमा पैसा जम्मा हुँदै गयो। सन् २००५ मा उनले एउटा फड्को मारे। आफू बसेको होक्काइदो प्रदेशमा 'बिस्तारै बिस्तारै' नाम राखेर एउटा रेस्टुरेन्ट खोले। कुल लगानी ३७ लाख रूपैयाँ भयो।
स्वयंसेवक कामदार भएर एउटा होटलमा प्रवेश गरेका अर्जुन करिब पाँच वर्षमा आफ्नै रेस्टुरेन्टको मालिक भए।
उनको रेस्टुरेन्टमा नेपाली र इन्डियन परिकार पाक्थ्यो। एक जना नेपाली सेफ राखेका थिए। धेरै तलब दिएर कामदार राख्ने अवस्था थिएन। आफै खट्थे। चार जना जापानीलाई 'पार्ट टाइम' काममा राखेका थिए।
रेस्टुरेन्ट सुरू गरेपछि अर्जुन नेपाल आउने क्रम पातलियो। उतै व्यस्त भए।
उनका अनुसार जापानमा व्यवसाय सुरू गर्न निकै सजिलो छ। बैंकले सजिलै ऋण दिन्छ, लगानीको समस्या हुँदैन। रेस्टुरेन्ट चलाउन भने चर्को प्रतिस्पर्धा गर्नुपर्छ।
'प्रायःजसो जापानीहरू घरमा खाना खाँदैनन्। बाहिरै खाने भएकाले होटल धेरै छन्, प्रतिस्पर्धा पनि धेरै हुन्छ,' अर्जुनले भने।
उनले रेस्टुरेन्ट त खोले तर अपेक्षाअनुसार आम्दानी भएन, बरू घाटा भयो। उनको रेस्टुरेन्ट ग्रामीण क्षेत्रमा थियो, ग्राहक थोरै भए। उनले हिम्मत हारेनन्, घाटा–नाफाकै खेलमा करिब तीन वर्ष बित्यो। त्यसपछि भने रेस्टुरेन्टले गति लियो।
उनले अर्को ठाउँमा पनि रेस्टुरेस्ट खोले। यो क्रम बढ्दै गयो। करिब दस वर्षमा, सन् २०१५ सम्ममा, रेस्टुरेन्टको संख्या १७ पुग्यो। सबैतिर गरेर ८० जना कामदार थिए। त्यसपछि प्रत्येक रेस्टुरेन्टको आम्दानी र खर्च हिसाब गर्दै उपयुक्त नदेखिएका जति बन्द गर्न सुरू गरे।
सन् २०१६ भरिमा रेस्टुरेन्टको संख्या १० भयो। कामदार पनि घटाए।
यसरी हाल नेपाल र जापानमा गरी उनले १७ वटा रेस्टुरेन्ट चलाइरहेका छन्।
जापानमा व्यावसायिक सफलता हासिल गर्दै अघि बढेपछि अर्जुनले आफ्नो मातृभूमि नेपालमा पनि व्यवसाय गर्ने विचार गरे। त्यसै अनुसार आफ्नो प्रत्यक्ष सहभागिता नहुने गरी साझेदारीमा लगानी गरे तर सफलता हासिल भएन।
'साझेदारीमा ट्राभल एजेन्सी, टुरिस्ट बस, ट्याक्सी गरेर १२–१३ वटा व्यवसायमा लगानी गरेँ, तर सबैमा घाटा भयो। कम्पनी बन्द गर्न अहिले पनि पैसा तिरिरहेको छु,' उनले भने।
साझेदारीको व्यवसाय सफल नहुनुमा उनले कसैलाई दोष दिएका छैनन्।
'आफ्नो प्रत्यक्ष सहभागिताबिना लगानी गर्न नहुने रहेछ। असफलताबाट यही पाठ सिकेँ,' उनले भने।
फेरि उनी आफ्नो व्यावसायिक योजनाका साथ सन् २०१७ मा नेपाल आए तर सोचेजस्तो सहज भएन। करिब तीन महिना बसेर फर्के। कस्मेटिक (सौन्दर्य प्रसाधन) सामान बेच्छु भनेर अध्ययन गरे। तर कर धेरै, बजार थोरै भएकाले आँट आएन। त्यत्तिकै फर्के।
खाना अत्यावश्यक वस्तु भएकाले बरू रेस्टुरेन्ट नै चलाउन सकिन्छ भन्ने लाग्यो। त्यसैअनुसार नेपालमा रहेका केही साथीलाई आफ्नो कुरा भने। उनको कुरामा दुई जना साथीले सहमति जनाए। एक जना लगानीमा साझेदारी गर्ने भए, अर्का एक जना जापानी परिकार पकाउने भए। अर्जुन उत्साहित भए।
सन् २०१८ मा उनले नेपालमा होक्काइदो बिजनेस ग्रुप (एचएनबिजी) नामको कम्पनी दर्ता गराए। सोही कम्पनीमार्फत सन् २०१९ मा अर्जुन र उनका एक जना साथी मिलेर पार्क भिलेजभित्र साढे दुई करोड रूपैयाँ लगानीमा 'होक्काइदो रामेन हाउस' खोले।
एचएनबिजीमा हाल आठ जनाको लगानी छ। काठमाडौं ६ वटा र भैरहवामा एउटा गरी रेस्टुरेन्ट पनि सात वटा छन्। कुल लगानी १८ करोड रूपैयाँभन्दा बढी पुगिसकेको छ। जिन्दगीको ऊर्जाशील समय जापानको होक्काइदोमा बितेको हुनाले त्यही नामले नेपालमा कम्पनी र रेस्टुरेन्ट खोलेको उनको भनाइ छ।
कतिपय व्यक्ति उनलाई किन विदेशी परिकार प्रवर्द्धन गरिरहेका छौ भनेर पनि सोध्छन्।
उनको जबाफ हुन्छ, 'महत्त्व विदेशी वा स्वदेशी परिकारको होइन; महत्त्व इमानदारीपूर्वक व्यवसाय गर्नु, विदेशी परिकार चिनाउनु र स्वस्थकर खाना खुवाउनुमा छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com