ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरू ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ।
समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा उक्त संरचना हस्तान्तरण गरेको हो।
महानगरको वडा नं.१, २, १० वडाको बागमती किरानाको २.८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ।
संरचना हस्तान्तरणसम्बन्धी समझदारी पत्रमा नगरप्रमुखको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको बागमती करिडोरमा संरचना निर्माण गरेकोमा समितिलाई धन्यवाद दिए।
उनले भने, 'यो अब हाम्रो बेबी भयो, यसको टेक केयर हामी गर्छौ, संरक्षण गर्छौ।'
उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरको वडा नं. १, २ , १० को बागमती किनारामा संरचना निर्माण गरेकोमा धन्यवाद दिइन्।
हरियाली ललितपुर महानगरको पहिचान भएको बताउँदै उनले भनिन्, 'त्यहाँ रहेका केही संरचना अलि भद्दा जस्तो देखिन्छ, तिनको व्यवस्थापन गर्नुपर्छ।'
एडिबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती संरचना निर्माण गरेको हो।
एडिबीका राष्ट्रिय निर्देशक आरनउल्ड काच्वाइसले संरचना हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। संरचना निर्माणका लागि बसेको पहिलाे बैठक स्मरण गर्दै उनले भने, 'यो परियोजना सम्पन्न भइरहँदाको कुरा सम्झिराखेको छु।'
वातावरण र हरियालीलाई प्राथमिकता दिने नगरप्रमुखसँग सहकार्य गर्न पाएकोमा हर्षित भएको उनले बताए।
ललितपुर महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले समितिले बागमती किनारमा निर्माण गरेको हरियाली पार्क लगायतका नदी वरपरका सम्पदाहरूको व्यवस्थापन, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी अब महानगरले गर्ने बताए।
कार्यक्रममा आयोजना निर्देशक रविन्द्र बोहोरा, आयोजना उपनिर्देशक विदुर झा उपस्थित थिए।