आयातको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चिति घटेर अर्थतन्त्रमा समस्या देखिएका बेला पछिल्लो महिनाको पर्यटक आगमन र रेमिटेन्स आम्दानीले राहतको सास फेर्ने ठाउँ दिएको छ।
कोरोना लकडाउनपछि पर्यटन क्षेत्र सबभन्दा बढी प्रभावित थियो। यो वर्ष मार्च महिनाको पर्यटक आगमन संख्याले भने आगामी दिनमा यो क्षेत्र पहिलेको लयमा फर्किने आश जगाएको छ। मार्चमा महामारीयताकै सबभन्दा धेरै, ४२ हजार पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।
उता फागुनको रेमिटेन्स आम्दानी पनि चालु वर्षकै सबभन्दा बढी, ९१ अर्ब रूपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ।
पर्यटन र रेमिटेन्समा देखिएको यो सुधारले अर्थतन्त्रलाई कति भर दिन्छ भन्ने अझै यकिन छैन। यो प्रारम्भिक आँकडा मात्र भएकाले वास्तविक प्रभाव हेर्न अझै केही महिना कुर्नुपर्ने हुन्छ।
पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो तीन महिनामा ७८ हजार ७४६ पर्यटक नेपाल आएका छन्। जबकि सन् २०२१ को पूरा वर्षमा एक लाख ५० हजार ९६२ पर्यटक आएका थिए। यो नेपालमा पर्यटन क्षेत्रको तथ्यांक राख्न थालेको ४४ वर्षयताकै सबभन्दा कम हो।
२०२२ को तीन महिनाको तथ्यांकले भने सुधारको संकेत गरिसकेको छ। जनवरीमा १९ हजार ७६६, फेब्रुअरीमा १६ हजार ९७५ र मार्चमा ४२ हजार ६ जना भित्रिएका छन्। यीमध्ये भारतबाट २४ हजार ९२७, अमेरिकाबाट ११ हजार ३४८, बेलायतबाट ८ हजार ७०, बंगलादेशबाट ४ हजार २७९, जर्मनीबाट २ हजार ८२४, फ्रान्सबाट २ हजार ४४० र चीनबाट ९५७ जना छन्।
पर्यटक आगमन पुरानै लयमा फर्किन भने अझै केही समय कुर्नु पर्ला। पुरानै लयमा फर्किनु भनेको २०१९ लाई छुनु हो। त्यो वर्ष अहिलेसम्मकै सबभन्दा धेरै, ११ लाख ९७ हजार १९१ पर्यटक आएका थिए।
यी पर्यटकले नेपाल बसाइ क्रममा खर्च गर्ने रकम हाम्रो विदेशी मुद्रा आम्दानीको एउटा स्रोत हो। यसले दबावमा परेको अर्थतन्त्रलाई थोरै भए पनि भरथेग गर्छ।
सबभन्दा पहिले सन् २०१९ को उत्कर्षमा हामीले पर्यटकबाट कति डलर कमायौं, हेरौं।
पर्यटन बोर्डका अनुसार २०१९ मा पर्यटकबाट ६६ करोड ७७ लाख डलर आम्दानी भएको थियो।
यो त्यो बेला औसतमा १२.७ दिन नेपाल बस्ने पर्यटकले दैनिक ४८ डलरका दरले खर्च गर्दा भएको कमाइ हो।
सन् २०२२ सम्म आइपुग्दा पर्यटकको औसत बसाइ र दैनिक खर्च बढिसकेको छ। अहिले पर्यटक नेपालमा औसत १५ दिन बस्ने र दैनिक ६४ डलर खर्च गर्ने बोर्डले जनाएको छ।
यसलाई आधार मानेर हेर्ने हो भने सन् २०२२ को पहिलो तीन महिनामा आएका पर्यटकबाट मात्र हामीले साढे ७ करोड डलरभन्दा बढी कमाइसकेका छौं। जबकि २०२१ भरिमै पर्यटन क्षेत्रको कमाइ साढे १४ करोड डलर मात्र थियो।
आगामी दिनमा यो कमाइ अझै बढ्नेछ। किनकी मार्च-अप्रिल-मे हाम्रो पर्यटकीय सिजन हो। हिमाल आरोहण गर्नेहरू आउने पनि यही बेला हो। यो सिजनको आधाउधि समय बाँकी नै भएको र कोरोना प्रभाव पनि कम भएकाले पर्यटक अझै बढ्ने देखिन्छ। त्यस्तै अर्को मुख्य पर्यटकीय सिजन सेप्टेम्बर-अक्टोबर-नोभेम्बर सिंगै बाँकी छ। यो बेला लामो पदयात्रा र घुम्नका लागि पर्यटक आउँछन्। महामारीले असर नपारे त्यो बेला पनि पर्यटक बढ्ने सम्भावना छ।
'अघिल्लो मार्चको तुलनामा यो मार्चमा पर्यटक आगमन ३३ प्रतिशत बढेको छ,' बोर्डका निर्देशक मणि लामिछानेले भने, 'महामारीअघि आएका पर्यटक संख्यासँग तुलना गर्दा भारतबाट ८२, अमेरिकाबाट ५२, बंगलादेशबाट ४ प्रतिशतले पर्यटकको संख्या पुनर्स्थापित भएको छ। चीनबाट भने घटेको छ।'
अब कुरा गरौं रेमिटेन्सको।
वैदेशिक रोजगारमा गएका नेपालीहरूबाट फागुन महिनामा ९१ अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ।
यसअघि माघको रेमिटेन्स ७१ अर्ब थियो। त्यसको तुलनामा फागुनको रेमिटेन्स प्रवाह २८ प्रतिशत बढेको छ। यो चालू आर्थिक वर्षकै सबभन्दा बढी हो।
'यो वर्षको सुरूदेखि नै रेमिटेन्स आम्दानी ७० देखि ८० अर्बको बीचमा रहँदै आएको थियो। फागुन महिनामा ९१ अर्ब भित्रिनु सकारात्मक संकेत हो,' राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले भने, 'यसले हाम्रो वैदेशिक मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्नेछ। अर्थतन्त्रको स्थिति धेरैले चिन्ता गरेजस्तो संकटपूर्ण छैन भन्ने देखाउँछ।'
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्ष साउनमा करिब ७६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अघिल्लो आर्थिक वर्षको अन्तिम महिना (असार) को तुलनामा १८ प्रतिशत कम हो।
त्यसलगत्तै भदौमा रेमिटेन्स आय ८० अर्ब र असोजमा अलिकति बढेर ८४ अर्ब पुग्यो। असोजपछि भने अहिलेसम्म ८० अर्ब नाघ्न सकेको थिएन। राष्ट्र बैंकका अनुसार कात्तिकदेखि माघसम्म ७० देखि ८० अर्बको बीचमा तलमाथि भइरहेको थियो।
कात्तिकमा ७३ अर्ब भित्रिएकोमा मंसिरमा अलिकति बढेर ७६ अर्ब पुग्यो। त्यसपछि पुसमा फेरि अलिकति बढेर ७९ अर्ब पुग्यो। माघमा भने ह्वात्तै घटेर जम्मा ७१ अर्ब भित्रिएको थियो। यो चालू वर्षकै सबभन्दा कम हो।
पछिल्ला महिना रेमिटेन्समा आएको गिरावटको शृंखला वैदेशिक रोजगारमा जानेहरूले लिने श्रम स्वीकृतिको तथ्यांकमा पनि देखिन्छ।
आर्थिक वर्षका सुरू महिनामा नयाँ श्रम स्वीकृति लिने वा पुरानो स्वीकृति नवीकरण गर्नेहरूको संख्या घटेको थियो। केही महिनायता भने श्रम स्वीकृति र नवीकरण दुवै संख्या बढेको देखिन्छ।
साउनमा जम्मा १३ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए भने पुनः स्वीकृति लिनेको संख्या ११ हजार ६ सय २८ थियो। माघसम्म आइपुग्दा यसमा ठूलो सुधार भएको छ। माघमा २ लाखभन्दा बढीले श्रम स्वीकृति लिए भने डेढ लाखभन्दा बढीले पुनः स्वीकृति लिए। फागुनमा अझै बढेको छ।
औद्योगिकीकरणको गति सुस्त रहेको र निर्यातयोग्य वस्तुहरू खासै धेरै नभएको नेपालका लागि विदेशी मुद्रा आर्जनको एउटा मुख्य स्रोत रेमिटेन्स हो।
विगतमा रेमिटेन्स आम्दानी नियमित बढ्ने गरेको थियो। यसले गाउँगाउँमा पैसा प्रवाह बढेर प्रतिव्यक्ति आय र समग्र अर्थतन्त्रलाई ठूलो मद्दत पुगेको थियो। पछिल्लो समय देशभरिका सानाठूला बस्ती जसरी सहरीकरणतर्फ उन्मुख छन्, त्यसमा रेमिटेन्सको ठूलो हात छ। मोबाइल, टेलिभिजन, फ्रिज, वासिङ मेसिन लगायत घरायसी उपकरणदेखि सेवा क्षेत्रको बढ्दो उपभोगमा रेमिटेन्सको कमाइ उपभोग हुने गरेको छ।
अहिले हाम्रो विदेशी मुद्रा सञ्चिति साढे छ महिनाको आयात धान्न सकिने अवस्थामा झरेको छ। निर्यातको तुलनामा आयातमा भइरहेको उच्च वृद्धिले भुक्तानी सन्तुलन घाटामा छ। चालू वर्षको सातौं महिना माघमा ११ खर्ब ४७ अर्ब रूपैयाँ बराबरका सामान आयात भएका थिए भने निर्यात जम्मा १ खर्ब ३१ अर्ब थियो।
यसबीच रेमिटेन्स वृद्धिदर कम हुनु र आयात उच्च हुनुले अर्थतन्त्रमा समस्या देखिन थालेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकले समाधानका उपायबारे लगातार छलफल गरिरहेका छन्।
राष्ट्र बैंकले मंगलबार विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारीहरूलाई डाकेर सवारी साधन, सुनचाँदी लगायत विलासिता वस्तुमा आयात नियन्त्रण गर्नेबारे छलफल गरेको थियो। राष्ट्र बैंकले सुन, चाँदी, गाडी, गाडीका पाटपूर्जा लगायत धेरै रकम खर्च हुने र विलासिताका सामानको आयात नियन्त्रण गर्न बैंकहरूलाई मौखिक निर्देशन दिएको छ। यो अवस्थामा अनावश्यक वस्तुहरूको आयात नरोक्ने हो भने अत्यावश्यक उपभोग्य वस्तुसहित औद्योगिक कच्चापदार्थ ल्याउनसमेत गाह्रो पर्ने भएकाले अल्पकालीन नियन्त्रण उपाय अपनाइएको हो।
यसबीच पर्यटक आगमन र रेमिटेन्स आम्दानीमा पनि सुधार आउनुलाई अर्थतन्त्रको अप्ठ्यारो कम हुँदै जाने संकेतका रूपमा बुझ्न सकिन्छ।