माउन्टेन बाइकर मंगलकृष्ण लामाको ग्रेट हिमालयन ट्रेल (जिएचटी) को १७ सय किलोमिटर यात्राका लागि स्कट बाइक नेपालले साइकल प्रायोजन गरेको छ। यही अप्रिल महिनाबाट सुरू हुने उक्त यात्राका लागि शनिबार लामालाई साइकल दिइएको हाे।
पुर्वको कञ्चन्जंगा आधार शिविरदेखि पश्चिमको हुम्ला हिल्सासम्म हुने यो यात्रा उनी एक्लैले गर्न लागेका हुन्। यो यात्रालाई उनले ७० दिनमा सक्ने लक्ष्य राखेका छन्। यो ट्रेलमा अहिलेसम्म मान्छेले हिँडेर र दौडिएर यात्रा गरेका छन्। साइकलमा यात्रा गर्नुलाई चुनैतिपूर्ण र कष्टकर मानिन्छ। त्यही भएकाले यो यात्रा गरे भने लामा विश्वको पहिलो व्यक्ति हुनेछन्।
जिएचटीको यात्रामार्फत उनले उक्त पर्यटकीय मार्गको प्रचार गर्नुसँगै कोभिड-१९, जलवायु परिवर्तन र ग्लोबल वार्मिङबारे जनचेतना पनि फैलाउने योजना राखेका छन्।
लामाले माउन्टेन बाइकरको रूपमा यात्रा गर्नुअगाडि उनी साइकल पसलमा मेकानिकको रुपमा काम गर्थे। बिस्तारै त्यही पसलको साइकल त्यहाँका मालिकले थाहा नपाउने गरी चलाउँदै उनी यो पेशामा लागेका हुन्। त्यसक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने मौका पाए। जसमध्ये दशवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँन सफल भइसकेका छन्।
सानैदेखि फरक शैलीको काम गर्ने चाहना राख्ने लामाले त्यहीक्रममा ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न लागेका हुन्।