नेपाल वायु सेवा निगमले काठमाडौं–रूकुम–नेपालगञ्ज उडानबारे स्पष्टीकरण दिएको छ।
त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।
बुधबार विज्ञप्ति जारी गर्दै निगमले स्पष्टीकरण दिएको हो।
'आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५ः१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकूलताका कारण काठमाडौं–रूकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो। अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो। त्यसपछि विमान चालक/परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो' विज्ञप्ति जारी गर्दै निगमले भनेको छ, 'तर उडान रद्द भएर घर फर्किएका यात्रुलगायत सबै जना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भएको थियो। काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो।’
बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरू भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने भन्दै रूकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको निगमले जनाएको छ।
हवाइ उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको छ। त्यसैले त्यस दिन रूकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगमले बताएको हो।
निगमले भनेको छ, 'रूकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्याएर रूकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रूकुम पुर्याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो।'
यो पनि:
रूकुम उडेको जहाजका पाइलटले यात्रुलाई ‘ड्युटी सकियो’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि…