अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदैँ यस आर्थिक वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याइने बताएका छन्।
अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाई आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्याइने बताए।
आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पुर्याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तिव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए।
त्यस्तै बजार अनुगमन, परिक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्यून बिजीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने उनले बताए। उनले भने – ‘देशमा उत्पादनमुलक कार्य गर्नका लागि उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरु गर्नका लागि छुटहरु दिने। बजार अनुगमन, परिक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने। भुक्तानी प्रणालीमा सरल बनाउने। न्यून बिजीकरणका समस्या छन् त्यसलाई समाधान गर्ने। भन्सारमा थप प्रविधिहरु ल्याएर अझ पारदर्शी बनाउने, लगायत मार्फत हामीले ७ प्रतिशत आर्थिक वृद्धि गर्न सक्छौँ भन्ने हाम्रो विश्वास छ।’
उनले गरिबी अन्त्य गर्नका लागि ठोस योजना ल्याउन लागिएको पनि बताए। व्यापार घाटा चुलिँदै गएको बताउँदै उनले आयात प्रतिस्थापन गर्ने कुरालाई गुणात्मक बनाउनुपर्ने बताए। कृषि बाली बीमालाई ८० प्रतिशत पुर्याउनुका साथै २०० मेगावाट भन्दा माथिका जलविद्युत आयोजनामा लगानी भित्राउनका लागि आवश्यक प्रविधि भित्राउन १५ वर्षसम्म कर छुट दिने व्यवस्था गरिएको उनले बताए।
उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्यययन गरिराखिएको उनले बताए। अर्थमन्त्री शर्माले बर्हिगमित लडाकुहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम रहेको पनि उल्लेख गरे।