विश्वमा बाल श्रमिकको संख्या १६ करोड पुगेको छ। पछिल्ला ४ वर्षमा विश्वभरी बाल श्रमिकको संख्या ८४ लाखले बृद्धि भई कुल १६ करोड पुगेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र युनिसेफको पछिल्लो प्रतिवेदनले जनाएको छ।
कोभिड–१९ महामारीका कारण सन् २०२२ को अन्त्यसम्म थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्या ९ करोड ४० लाखले कमी आएकोमा सो संख्या पुनः बढ्ने खतरा छ।
हाल विश्वभर रहेका बाल श्रमिकहरु मध्ये ५ देखि ११ वर्ष बीचको उमेर समुहका बाल श्रमिकको संख्या ५० प्रतिशत बढी रहेको प्रतिवेदनमा भनिएको छ।
नेपालमा बालश्रम उन्मुलनतर्फ रहेको प्रगतिमा समेत कोभिडको असर पर्ने अनुमान गरिएको छ।
आइएलओ तथा केन्द्रीय तथ्यांक विभागको संयुक्त अध्ययन नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको देखाएको थियो।
सन् २००८ मा १६ लाख रहेको बाल श्रमिकको संख्या सन् २०१८ मा ११ लाखमा झरेको उल्लेख गरिएको थियो।