केही दिन यता हेलिकोप्टरले बढी भाडा लिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि वायुसेवा सञ्चालक संघ (आयोन)nले स्पष्टिकरण दिएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमिणको उद्दारका लागि सामान्यभन्दा बढी शुल्क लाग्ने दावी गर्दै भाडा बढी नभएको दावी गरेको हो ।
संघले कोभिड उद्दार उडान गर्दा प्रति उडानमा १ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च आउने बताएको हो ।
‘कोभिड उद्दार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल एवम् स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा सम्पूर्ण उडानमा खटिने पाइलटलगायतका कर्मचारीका लागि पीपीई सेट, प्यारामेडिकल टोली, सेमि भेन्लिटर मसिन, थप बीमा, प्रत्येक उडान पश्चता हेलिकोप्टरको सेनिटाइजेसन, किटाणुशोधनलगायतका अन्य सामग्री समेत प्रयोग हुने साथै मेडिकल टोलीको प्रयोग गर्नैपर्ने हुँदा खर्च बढी लाग्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
वायुसेवाहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियन्त्रण एवम् निगरानी र यस संघको समेत निगरानीमा रही उडान गरिरहेको र चर्को मूल्य लिएको भनि अर्नगल प्रचार गरेको समाचारको पछाडि नलाग्ने एवम् बिरामीका आफन्तहरुले बिचौलियालाई सम्पर्क नगरी सम्बन्धित उद्दार उडान कम्पनीमा सम्पर्क राख्न समेत अनुरोध संघको छ ।
कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नं
- १. अल्टिच्युड एयर प्रालि (९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००)
- २. हेली एभरेष्ट प्रालि (९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)
- ३. कैलाश हेलिकोप्टर प्रालि (९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१)
- ४. मनाङ एयर प्रालि (९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६)
- ५. श्री एयरलाइन्स प्रालि (९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)
- ६. सिम्रिक एयर प्रालि (९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०)
गुनासो तथा अन्य जानकारीका लागि (सम्पर्क व्यक्ति) सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ।
यसैबीच आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ।
यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ।
क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ। निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ।
सम्पर्क व्यक्ति : ज्ञानेन्द्र भुल, उपप्रबन्धक, उडान अनुमति शाख सम्पर्क नं : ९८५११३५०९१।