नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक कतारले जेलमा रहेका १४ जना नेपालीहरुलाई आममाफी दिएको छ।
यस वर्षको रमदान पर्वको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा जेल सजाए भोगिरहेका १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीलाई मध्येनजर गरी नेपाली कैदी बन्दीहरुलाई रिहाइका लागि राजदूतावासले कतार सरकार समक्ष पटक– पटक अनुरोध गरेपछि कतार सरकारले आममाफी दिएको दूतावासको भनाई छ।
आममाफी पाएका नेपालीहरुलाई स्वदेश फिर्ती सहज बनाउँन कतार सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासले जनाएको छ।