राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’को सेवा अवरूद्ध भएको छ। प्राविधिक समस्याका कारण सेवा अवरूद्ध भएको कम्पनीले बताएको छ।
‘ट्याक्सी चालक र हाम्रो राइडरबीच भएको झगडाले सेवा बन्द भएको होइन,’ कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनिन्, ‘प्राविधिक समस्याले भएको हो। प्राविधिकले बनाउँदै छन्।’
उनकाअनुसार पठाओको एपमा समस्या आएकाले सेवा अवरूद्ध भएको हो।
सोमबार ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका थिए।
आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेका हुन्।
सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन्।
‘बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भने, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन। हामीले पनि सोसल मिडियामामार्फत् थाहा पाएका हौं।’
यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिइन्।