नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रूपैयाँका दरले मूल्यवृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रूपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ९९ रूपैयाँ कायम भएको छ। यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर ६ रूपैयाँ ५६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ३९२ रूपैयाँ ८२ पैसा घाटा रहेको जनाएको छ। अर्धमासिक रुपमा करिब एक अर्ब ३२ करोड रूपैयाँ घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ।
मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३५ रूपैयाँ ९३ पैसा र डिजेल प्रति लिटर ४२ रूपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।
निगमले यसअघि यही फागुन ४ गते पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो। इण्डियन आयल कर्पोरेशनले सोमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ। मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ । रासस