सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर अवतरण गर्न पूर्व स्वीकृत आवश्यक पर्ने भएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हेलिकप्टर अवतरणका लागि अग्रिम अनुमति लिनुपर्ने नियम बनाएको हो।
कार्यालयले हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गर्दै अवदेखि अनुमति लिएरमात्र उडान गर्नुपर्ने भनेको छ। यसअघि निषेधित क्षेत्रमा उडान गर्नका लागि मात्र अग्रिम अनुमति लिनुपर्ने व्यवस्था थियो।
अनुमति नलिई कसैले सो क्षेत्रमा अवतरण गरेमा वन्यजन्तु संरक्षण सम्बन्धि कानूनअनुसार कारबाही हुने कार्यालयले चेतावनी दिएको छ।
हेलिकप्टर कम्पनीहरुले अवदेखि सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति लिएर तीनवटा हेलिप्याडमा मात्र अवतरण गर्न पाउने छन्। लुक्ला तथा स्यांगबोचे र नाम्चेका हेलिप्याडमा मात्र अवतरण गर्न दिने निकुञ्जले जानकारी दिएको छ।
पुस २६ गते सिम्रिक एयरको हेलिकप्टर कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति तथा अनुमति विना छायांकन गरेको थियो।
भारतको जी न्यूजका सम्पादक सुधिर चौधरीको टोलीले उक्त क्षेत्रमा विना अनुमति छायांकन गरेको थियो।
सोलुखुम्बु जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हेलिकप्टर अवतरण गर्दा निकुञ्जको पूर्व स्वीकृति लिनुपर्ने निर्णय गरेको निकुञ्जले काटेको पत्रमा उल्लेख गरिएको छ।
उद्धार तथा आपतकालिन सामाग्री ढुवानीको हकमा भने अनुमति नलिइ पनि उडान गर्नसक्ने छन्।